कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष, नाफामुखी र प्रतिस्पर्धात्मक संस्थाका रूपमा रुपान्तरण गर्न ठोस प्रस्ताव पेश गरेको हो ।  समितिको प्रतिवेदनअनुसार निगमको पूँजीगत आवश्यकता तत्कालै पूरा गर्न सरकारका स्वामित्वमा रहेका आर्थिक सेवा प्रदायक संस्था वा कोषमार्फत लगानी गरिनुपर्ने बताइएको छ । निगमलाई कम्पनी ऐन, २०६३ अनुसार रुपान्तरण गरी स्वामित्व परिवर्तन गर्न, लगानी र सेयर अभिलेखिकृत गर्न र सार्वजनिक कम्पनीको रूपमा रूपान्तरण गर्न सिफारिस गरिएको छ । समितिले निगमलाई तीन वटा संस्थामा विभाजन गर्ने प्रस्ताव गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका लागि बनाउन सुझाइएको छ भने नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड ग्राउण्ड ह्याण्डलिङका लागि बनाउन प्रस्ताव गरिएको छ । त्यस्तै, नेपाल वायुसेवा निगम आन्तरिक सेवाका लागि बनाउन प्रश्ताव गरिएको छ । यीमध्ये नेपाल एयरलाइन्स कम्पनी लिमिटेड र नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडलाई पब्लिक लिमिटेड कम्पनी बनाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सिफारिस गरिएको छ । तेस्रो कम्पनी, आन्तरिक सेवा, भने राज्यको अप्रत्यक्ष नियन्त्रणमा राख्न भनिएको छ ।  पुनर्गठित बोर्डमा ‘कार्यकारी अध्यक्ष’ को व्यवस्था हटाई ‘बोर्ड अध्यक्ष’ मात्र राख्ने सिफारिस गरिएको छ भने  प्रमुख कार्यकारी अधिकारीहरूलाई खुला प्रतिस्पर्धाबाट छान्ने र समय सीमित प्रतिफलमुखी करार प्रणाली लागू गर्नुपर्ने उल्लेख छ ।  समितिले तीन कम्पनीको पूँजी निर्धारण गर्न सिफारिस समेत गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेडको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ भने जारी पूँजी ४० अर्ब, चुक्ता पूँजी ३४ अर्ब प्रश्ताव गरिएको छ ।  त्यस्तै, नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडको अधिकृत पूँजी २५ अर्ब,जारी पूँजी २० अर्ब, चुक्ता पूँजी १६ अर्ब प्रश्ताव गरिएको छ । नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) तर्फको  पूँजी ५ अर्ब गरिएको छ ।  कार्यदलले दिएको प्रतिवेदनमा भनिएको छ– ‘विभाजित भई दुई कम्पनी बने पश्चात बाँकी रहने नेपाल वायुसेवा निगमको हकमा सरकारले यसको मूलधनलाई हाल विद्यमान रु ३० करोडबाट बढाइ ५ अर्ब पुर्याउनु पर्नेछ र भागबण्डा भएपश्चात बच्ने र सरकारी स्वामित्वमा रहने निगमको पूँजी ऋनात्मक रहन नदिन हाल सरकारद्वारा निगममा ऋण लगानी भएको २ अर्ब ९० करोड बराबरको पूँजीलाई मूलधनमा समायोजन गनुपर्नेछ ।’ ऋणलाई लगानीमा रूपान्तरण समितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्रवाह भएका ऋणलाई पूँजीगत लगानीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ । यसरी रूपान्तरण गर्दा नेपाल एयरलाइन्स कम्पनी लिमिटेडमा ३४ अर्ब र उड्डयन सेवा कम्पनीमा रु १६ अर्ब गरी कुल ५० अर्बको इक्विटी लगानी हुने बताइएको छ । समितिको सुझावअनुसार नयाँ दुई कम्पनीले निरन्तर नाफा आर्जन गर्ने वित्तीय अवस्था कायम गरेपछि नेप्सेमा सूचीकृत हुने र त्यसपछि आईपीओ जारी गरी जनताका लागि लगानीको अवसर उपलब्ध गराउन सुझाव दिइएको छ । यसबाट नागरिक स्वामित्व र लगानी सहभागिता बढ्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीमा अनुभवी कार्यकारी नियुक्त गर्न र अन्तर्राष्ट्रिय व्यवस्थापन साझेदारीको सम्भावना अध्ययन गर्न सिफारिस गरिएको छ । ग्राउण्ड ह्याण्डलिङ्ग कम्पनीका कर्मचारीलाई पुनर्ताजगी तालिम दिई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष र प्रतिष्पर्धी सेवा प्रदायक बनाउन प्रस्ताव गरिएको छ ।  समितिले  निगमको संरचनागत रुपान्तरणका लागि आवश्यक भए विशेष ऐन ल्याउन सिफारिस गरेको छ भने आन्तरिक सेवाका लागि कम्तिमा चारवटा टिविनटर विमान र १८ सिटे विमान उपलब्ध गराउन सुझाव दिएको छ । समितिले दिएका सुझावहरुमा तराईका ट्रंक रुटका लागि ६४ सिटभन्दा माथिका टर्बो प्रोपेलर विमान प्रयोग गर्ने,  आन्तरिक सेवामा राज्यको संरक्षकत्व र नियन्त्रण यथावत राख्न भनिएको छ । यसरी नेपाल वायुसेवा निगमलाई तीन कम्पनीमा विभाजन गरी दक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक मोडेलमा रूपान्तरण गर्नसके, नेपालको हवाई उड्डयन क्षेत्र दीर्घकालीन रूपमा सबल र टिकाउ हुने विश्वास समितिले गरेको छ ।   

साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा, ३५० जनालाई रोजगारी दिने

काठमाडौं । साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो ।  होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिए । ‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षको यो होटल स्थापना भएको छ । होटलमा करिव ३५० करोड लगानी गरेका छौं । जसमा ग्लोबल आइएमइ बैंक लिमिटेड र होटल सफ्रोन सिकेको सयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्णक्षमतामा सञ्चालनमा आउँदा ३५० जना सम्मलाई रोजगारी दिनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै नदिने सक्ने अवस्था पनि रहन सक्छ, ’ सञ्चालक पौडेलले भने । अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेण्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ ।  होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।   

निर्धारित समय अगावै बन्यो विमानस्थलको टर्मिनल भवन, लागत २ अर्ब ७४ करोड रुपैयाँ

काठमाडौं । नेपालगन्जस्थित राँझा विमानस्थलको सुविधा युक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा २ महिना पहिले नै निर्माण सम्पन्न भएको छ । वि.सं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी ३ वर्षको समयावधि पाएकामा २ महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए । आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उनले बताए । आयोजना प्रमुख थापाले भने, ‘विज्ञले अनुगमन गरे पश्चात् पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँ बाट सेवा सुरु हुनेछ । नेपालगन्जमा निर्मित टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।’ उनका अनुसार, भ्याट बाहेक कूल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नव निर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित ३ तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम ३, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् । भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग-अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नव निर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ । नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर-७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।