५ हेलिकप्टर मार्फत मनास्लु क्षेत्रबाट अलपत्र ११० पर्यटकको उद्धार
काठमाडौं । गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । उक्त क्षेत्रबाट आइतबार ११० पर्यटकको उद्धार गरिएको छ । घाइते, बिरामी तथा खराब मौसमका कारण गन्तव्यतर्फ जान नसकेका पर्यटकको उद्धार गरिएको हो । ‘मौसम खुल्नासाथ उद्धार कार्य सुरु गरेका थियौँ । ५ हेलिकप्टर मार्फत पर्यटकको उद्धार गरियो । जसमध्ये ८५ प्रतिशत विदेशी पर्यटक थिए,’ निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भने । मौसम सफा भएसँगै केही पर्यटक लार्केपास गरी मनाङ झरेका छन् । केही भने आरु घाटतर्फ फर्कँदै गरेका सहायक प्रजीअ बरालले जानकारी दिए । एक/दुई दिनभित्रमा उद्धार कार्य सम्पन्न हुने उनको भनाइ छ । आइतबार मौसम खुलेपछि गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, होटल व्यवसायी उपसमिति, स्थानीय युवा मिलेर बाटो खोल्ने काम गरिरहेका चुमनुब्री गाउँपालिका-१ साम्दोका पर्यटन व्यवसायी निमा दोर्जे लामाले बताए । उनीहरू गत मङ्गलबारदेखि परेको हिमपातले ढाकिएका र पहिरोले पुरिएका बाटो सफा गर्न गएका उनले जानकारी दिए । ‘आइतबार कतिपय पैदलमार्फत आरु घाटतर्फ झरे । बिरामी, अशक्तलाई हेलिकोप्टरबाट उद्धार गरियो । ३८० जना भने साम्दोबाट लार्केपास गर्न धर्मशालातर्फ गएका छन् । उनीहरू लार्केपास गरेर मनाङ झर्छन्,’ पर्यटन व्यवसायी लामाले भने । साम्दोमा पर्यटक आउने क्रम नरोकिएको उनको भनाइ छ । यो याममा (भदौ १६ देखि कात्तिक १५ सम्ममा) ६ हजार ४१४ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । हाल उक्त क्षेत्रमा सयौं पर्यटक रहेका छन् । तातोपानीबाट ३५ पर्यटकको उद्धार गोरखाको तातोपानी क्षेत्रमा अलपत्र परेका ३५ स्वदेशी तथा विदेशी पर्यटकको उद्धार गरिएको छ । धार्चे गाउँपालिका-३ तातोपानीबाट नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले २० विदेशी र १५ नेपाली पर्यटकको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनीहरू सामा गाउँबाट माछी खोलातर्फ आउने क्रममा पहिरोका कारण तातोपानीमा अलपत्र परेका हुन् । पर्यटक अलपत्र परेको जानकारी प्राप्त हुना साथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस आरु घाटबाट खटिएको टोलीले उनीहरूको उद्धार गरी माछी खोलातर्फ पठाइएको थियो । उद्धार गरिएका पर्यटकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
साढे ९ लाख विदेशीले गरे नेपाल भ्रमण, अक्टोबरमा मात्रै १ लाख २८ हजार पर्यटक भित्रिए
काठमाडौं । यस वर्षको अक्टोबर महिनामा १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व ३ हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका छन् । अक्टोबरमा भारतबाट १७ हजार, २९८ पर्यटक नेपाल आएका थिए । यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल भ्रमणमा आएका थिए । यसैगरी, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !
म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताए । यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् । त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण –६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । 'पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ', उनले भने, 'पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।' यसैबिच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो । ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताइन् । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । रासस