साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिन्छ- मन्त्री भट्टराई

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७७ को अवसरमा सोमाबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिने बताएका हुन् । साहित्य र कलाको माध्यमबाट देशमा जातिय सद्भाव, धार्मिक सहिष्णुता र भौगोलिक एकता कायम राख्न सकिने उनको भनाई छ । मान्छेमा हुने आलोचनात्मक चेतलाई सम्मान गर्नपर्ने तर त्यस्ता आलोचनात्मक चेत सिर्जनात्मक, समृद्धि र राष्ट्रिय एकताको लागि हुनुपर्ने पनि उनले बताए । यस्ता विषयहरुलाई साहित्यको विधामार्फत ल्याएर समाजलाई अगाडि बढाउन सकिने मन्त्री भट्टराईले बताए । प्राज्ञिक कविहरुले समाजका अग्रगामी विषयहरुलाई कलमको माध्यमबाट उजागर गर्न अझबढी भूमिका खेल्नुपर्ने पनि मन्त्री भट्टराईले बताए । प्राज्ञिक व्यक्तिहरुले नै समाजलाई सही मार्गदर्शन दिन सक्ने भएकाले देशको एकता झल्काउने विषयमा कलम चलाउन सुझाव समेत दिए ।

नेपालीको रोजाईमा पर्यो माउन्टेन फ्लाईट, मौसमले साथ नदिँदा विमान कम्पनीलाई तनाव

काठमाडाैं । विगतका वर्षहरुमा विदेशी पर्यटकहरुले धानेको नेपाली पर्यटन बजार अब नेपालीहरुकै बिच चहलपहल तथा प्रतिष्पर्धा बढेको छ । कोरोना भाइरसको कारण ग्राउण्डेड अवस्थामा रहेका हवाइजहाजहरु अहिले माउन्टेन फ्लाइटका लागि उड्न थालेका छन् । अघिल्ला वर्षहरुमा माउन्टेन फ्लाइट अर्थात पर्वतीय उडानमा विदेशीहरु मात्रै जाने गर्दथे । कोरोना भाइरसकै कारण अहिले विदेशी पर्यटकहरु नेपाल आउन छोडेपछि हवाई सेवा कम्पनीहरुले आकर्षक प्याकेज ल्याएर नेपालीहरुलाई नै माउन्ेटन फ्लाइटमा घुमाइरहेका छन् । आन्तरिक वायुसेवा कम्पनीले साढे आठ महीनापछि पर्वतीय उडान सुरु गरेका हुन् । लामो समयसम्म ग्राउण्डेड अवस्थामा रहेका हवाइजहाजहरुलाई चलायमान अर्थात आन्तरिक पर्यटनलाई मध्येनजर गर्दै हवाई सेवा कम्पनीहरुले माउन्टेन फ्लाइटका प्याकेजहरु ल्याउन थालेका हुन् । आन्तरिक वायुसेवा कम्पनी बुद्ध एअरले १३ मंसिरदेखि नै माउन्टेन फ्लाइट सुरु गरिसकेको छ । यस्तै यती एअरलाइन्सले मंसिर २० गतेदेखि उडान सुरु गरेको छ । अघिल्ला वर्षहरुमा विदेशी पर्यटकको रोजाइमा पर्ने विदेशी पर्यटकले मात्रै चलेको माउन्टेन फ्लाइट अहिले नेपालीहरुको रोजाइमा नै पर्ने गरेको छ । अहिले विमान कम्पनीहरुले हरेक शनिबार माउन्टेन फ्लाइटका लागि उडान भर्ने गरेका छन् । यति र बुद्धले मात्र अहिले स्वदेशी पर्यटकलाई घुमाइरहेका छन् । स्वदेशी पर्यटकहरुको रोजाइमा माउन्ेटन फ्लाईट पार्नको लागि कम्पनीहरुले आकर्षक प्याकेज पनि ल्याएका छन् । बुद्ध एअरले शनिबारबाट प्रति टिकट ८ हजार ९ सयको प्याकेज ल्याएको छ । जसमा एक जनाले सित्तैमा जान पाउनेछन् । बुद्ध एयरका अनुसार जोडी वा परिवारका लागि यो प्याकेज आकर्षक हुनेछ । यस्तै यती एअरलाइन्सले पनि ८ हजार ९ सय ९८ मा एउटा टिकट किन्न सक्ने पयाकेज ल्याएको छ । यसमा पनि एक टिकल लिँदा अर्को एक जनाले सित्तैमा जान पाइनेछ । यात्रुहरुले विमानको झ्याल भएको सिटको टिकट किन्दा अर्को टिकट भने सँगैको झ्याल नभएको सिटको पाइने बताइएको छ । बुद्ध एअरका वरिष्ठ बजार निर्देशक रूपेश जोशीले नेपाली पर्यटकहरुका लागि यो आकर्षक प्याकेज भएको बताए । उनका अनुसार विदेशी पर्यटकहरुले माउन्टेन फ्लाइट गर्दा प्रति टिकेट १५५ डलर इन्धन र यात्रु सेवा शुल्क बाहेक तिर्नु पर्थ्यो । ‘पर्यटन गतिविधि बढाउन अगाडिदेखि नै योजना बनाइरहेका थियौं, माउन्टेन फ्लाइट नेपाली पर्यटकको रोजाइमा परेको छ, अहिले देशका विभिन्न हिमालहरु यात्रुले अवलोकन गर्न पाउने छन्,’ उनले भने । जोशीका अनुसार अब हरेक शनिबार एउटा उडान गर्दै जाने र विस्तारै नेपालीलाई आकर्षित गर्ने योजना अनुसार पर्वतीय उडान सुरु भएको हो। कुन कुन हिमाल अवलोकन गर्न पाइन्छ ? अहिले बुद्ध एयर र यति एयरले मात्रै माउन्टेन फ्लाइट गरिरहेका छन् । यी दुई हवाई सेवा कम्पनीहरुले गौरीशंकर, मेलुम्चे, चोयु, नुप्त्से, अमादब्लम, सगरमाथा र कञ्चनजंघासँगै अन्य धेरै हिमश्रृंखलाहरूसँग घुमाउने गरेका छन् । यात्रुहरुले अन्य धेरै हिमालहरुको पनि दृश्यावलोकन गर्न पाउँछन् । आन्तरिक वायुसेवाको पर्यटकीय सिजनमा सबैभन्दा बढी आम्दानी हुने र बिहान १०/११ बजेसम्म व्यस्त हुने उडान नै माउन्टेन फ्लाइट हो । माउन्टेन फ्लाइट सबै वायुसेवाको बिहानै हुने र सबै विदेशी यात्रु मात्रै हुने गरेका थिए। निजी क्षेत्रका वायुसेवा सबैजसोले बिहानको समय माउन्टेन फ्लाइटलाई नै प्राथमिकता दिएर उडान गर्दै आएका छन् । यस्तो उडान हरेक दिन बुद्ध एअरले २० वटा, यती एअरले १५ वटा, श्री एअरले १५ वटा, सिम्रिक एअरले ५ वटासम्म गर्दै आएका थिए। पर्यटक आगमन ठप्प हुँदा यो वर्ष भने माउन्टेन फ्लाइटको सिजन भए पनि उडान भने ठप्प रहेको जोशी बताउँछन् । उनका अनुसार बुद्धले हालसम्म ५ वटा उडान गरिसकेको छ । जसमा ३ सय ५० जना यात्रुले हिमालको अवलोकन गरिसकेका छन् । गत शनिबारका ४ वटा जहाज भने मौसमको कारण रद्द भएका थिए भने अब आउने शनिबारका लागि ३ वटा जहाज तयारी अवस्थामा रहेको जोशीले बताए । माउन्टेन फ्लाइटका लागि जानेहरुको भिड भएपनि मौसमले साथ नदिदा विमान कम्पनीहरुलाई समस्या नै हुने गरेको छ । ‘सयौं आन्तरिक पर्यटकहरुले टिक लिएका हुन्छन्, ४५ जहाज तयारी अवस्थामा हुन्छन् तर मौसमको खरावी कारण त्यतिैक रद्द गर्नु पर्ने अवस्था आउँछ, मौसमले साथ दिए त रामै हुन्छ,’ जोशीले भने ।

सडकमा जोर विजोर, एयरपोर्टमा कन्तबिजोक (तस्बिरसहित)

काठमाडौं । नेपाल सरकारले सवारी साधनमा दोस्रो चरणको जोर बिजोर प्रणाली लागु गरेको करिब ५ महिना भइसकेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भनेर लागु गरिएको जोर बिजोर प्रणालीले कोरोना भाइरसको जोखिम न्युनिकरण गर्ने भन्दा पनि सर्वसाधारण नागरिकलाई झन बढी सास्ती दिएको प्रष्ट देखिन्छ । सडकमा गुडिरहेका छन् । सडकमा मानिसहरुको आवतजावत पहिलेको जस्तै सामान्य अवस्था नै छ । उल्येख्य रुपमा मानिसहरुको संख्या छ । मानिसहरुले दिनप्रतिदिन कोरोना भाइरस बिर्सिरहेका हुन् कि भन्ने भिडभाडहरुबाट प्रष्ट हुन्छ । सडकमा सवारी साधनहरुमा जोर विजोर तर भिडभाड अधिक हुनुले पनि सरकारले नागरिकलाई सास्ती दिनैकै लागि जोर बिजोर प्रणाली लागु गरेको होकि भन्ने बुझिन्छ । कोरोना भाइरसकै कारण लामो समयसम्म भएको लकडाउन र त्यसपछि विभिन्न समयमा भएको निषेधाज्ञाले आम सर्वसाधारण नागरिकलाई निकै सास्ती भएको थियो । लकडाउनको समयावधिमा हजारौं मानिस बेरोजगार बने । तर पछिल्लो समय सरकारले विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिएसँगै विस्तारै व्यापार व्यवसाय तथा कार्यालयहरु पहिलेकै लयमा फर्किन प्रयास गरिरहेका छन् । यही अवस्थामा पनि काम गरेर खाने वर्ग अर्थात सर्वसाधारणहरुका लागि सडकमा जोर बिजोर प्रणाली लागु गर्दा उनीहरुले सास्ती ब्यहोर्नु परेको छ । भिडभाड उल्लेख्य मात्रामा देखिनु तर अझै पनि जोर बिजोर लागु भइरहनुले सरकारको नीतिलाई लज्जित बनाउँछ । कोरोना भाइरसको जोखिम उत्तिकै छ । संक्रमणदरमा कमि आउन सकेको छैन । तर, सरकारले पीसीआर परीक्षणमा पनि भने सुस्तता देखाएको छ । सरकारले पीसीआर परीक्षणमा देखाएको सुस्ततासँगै कोरोना भाइरसको संक्रमणमा पनि सुस्तता आएको होकि भन्ने अनुमान गर्न सकिन्छ । यो अनुमान यर्थाथता नभएर देखावटी हो । किनकि परीक्षणमा सुस्तता भएसँगै कोरोनाका संक्रमितहरुमा कमि आउनु पनि स्वभाविक हो । सरकारले जोर बिजोर लागु गरेर जोर बिजोर नै खुलाउन भुलेको होकि भन्ने अनुमान पनि लगाउन सकिन्छ । सडकमा जोर बिजोर सबै गाडी गुडि नै रहेका देखिन्छन् । तर, सरकारले भने जोर बिजोर लागु गरेको भनिरहेको छ । यसले पनि सडकमा कोरोना भाइरसको संक्रमण अझै तीव्र रुपमा फैलिरहेकहो छ कि भन्ने पनि बुझ्न सकिन्छ । सडकमा मात्र होइन विमानस्थलहरुमा पनि त्यो भिड उत्तिकै छ । विमानस्थलबाट विभिन्न ठाउँमा जानेहरुको भिडले विमानस्थल भरिभराउ देखिन्छन् । तर, त्यो भिडमा न कुनै भौतिक दूरी कायम गरेको देखिन्छ नत कुनै स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेको । पछिल्लो समय सरकारले लामो दूरीका सवारी साधान, हवाई सेवा लगायतका व्यवसायहरु सञ्चालन गरे सँगै विभिन्न ठाउँहरुमा मानिसहरुको भिडभाड देखिने गरेको छ । त्या भिडभाडमा नत स्वयमं नागरिकहरुले स्वास्थ्य सुरक्षा पालना गरेका हुन्छन् नत सरकारी स्तरबाट स्वास्थ्य सुरक्षाका लागि भनेर कडाई गरेको हुन्छ । विमानस्थल सबैभन्दा बढी भिड हुने स्थलमा पर्छ । स्वदेशी नागरिकदेखि विदेशी नागरिकहरुको सगम स्थल विमानस्थलमा पनि कुनै स्वास्थ्य मापदण्ड पालना नगर्नु र सरकारी तवरबाटै हेलचक्र्याईँ हुनुले सरकारले प्रभावकारी रुपमा काम नगरेको प्रष्ट हुन्छ ।