‘दुई शहरको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक’
काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा कामपाका प्रमुख शाक्यले काठमाडाँैंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताएका हुन् । सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र सङ्घीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए । सङ्घीय व्यवस्थालाई दिगो बनाउन सङ्घीयताको मर्मअनुसारका सङ्घीय कानून निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, “विविध पहिचानसहितका शहरका समानता खोजौँ । अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ । यसले नागरिकमा विश्वास जाग्छ ।” तहगत प्रणालीमा प्रदेश र सङ्घ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामापाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।
सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्छ- पर्यटनमन्त्री भट्टराई
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उहाँले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए । मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युँतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताए । उहाँले भन्नुभयो, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।” नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटक आउन थालेको उनको भनाइ थियो । तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, “पर्यटकीय गन्तव्य, होटललगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो । सो अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोरोना सङ्क्रमणका कारण श्रमबजार तहसनहस भएको बताए । उनले भने, “विदेशमा गएकाले पनि रोजगारी गुमाएर फर्कनुपर्ने अवस्था आएको छ ।” श्रम बजारमा भएको समस्या अन्त्य गर्नका लागि नेपालमा नै सम्भावनाको खोजी गर्नु आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो । विदेशबाट रोजगार गुमाएर फर्किएकालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले कार्यक्रम ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए । संस्कृतिलाई माटोसँग जोडेर पर्यटनको विकास गर्नसके स्वदेशमा नै रोजगारी सिर्जना हुने उनले बताए । रोजगारीको खोजीमा विदेशिएका युवाले नेपालमा नै पसिना बगाउनसके विदेश पलायन हुनबाट बचाउन सकिने उल्लेख गर्दै उनले भने, “वार्षिक ६०० भन्दा बढी नेपालीको शव नेपाल आउने अवस्थाको अन्त्य गर्न स्वदेशमा नै रोजगारी सिर्जना गर्नु आवश्यक छ ।” कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले बोलेका थिए । हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले रु २५ करोडको लगानीमा सौराहामा बुटिक रिसोर्ट निर्माण गर्न शुरु गरिएको जानकारी दिए । उनी गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधि हुन् । चौँतीस कोठामा ६५ श्ययाको सो रिसोर्ट सन् २०२२ देखि सञ्चालनमा आउनेछ । बाह« कट्ठा १० धुर क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो । /
पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट: एउटा टिकट किन्दा अर्को टिकट निःशुल्क
काठमाडाैं । बन्दाबन्दीको आठ महिनापछि शुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र ‘अफर’सहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरुपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ । बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान शुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनःपर्वतीय उडान शुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ । यती एयरलाइन्सले पनि हिजोदेखि नै शुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ । यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्वतीय उडानमा विशेष अफर बनाएको छ । यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताए । ‘गाउँदै नेपाली गाथा हेराैँ आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले आगामी मङ्सिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यतीले पर्वतीय उडानका लागि रु आठ हजार ९९९ भाडा निर्धारण गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट शुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशङ्करलगायत अन्य हिमशृङ्खलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् । बुद्ध एयरले पनि पर्वतीय उडानका लागि आठ हजार ९०० भाडा तोकेको छ । यसमा झ्यालसहितसँगैको अर्को सिट (झ्यालबिना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउण्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो । सगरमाथासहितका अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । वायुसेवा सञ्चालक सङ्घ नेपालका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।