मौलाकाली केबलकार पुनः सञ्चालनमा, छिट्टै सर्वसाधारणका लागि खुला गरिने

काठमाडौं । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेसन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने र केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ । गैँडाकोट-१ मा रहेको ऐतिहासिक धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो । ‘आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेसनमा क्षति पुगेको थियो । क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो,’ प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मत सम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए । केबलकारको आन्तरिक परीक्षण पश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ । ‘मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ । अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ,’ स्टेसन म्यानेजर पौडेलले भने ।  मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए । मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए । उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ ।  ‘केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरू उल्लेख्य रुपमा देखिनुहुन्थ्यो । केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृत रुपमा भक्तजनको उपस्थिति देखिएन,’ उनले भने ।  अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए । पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए । ‘हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिर मुनी बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ,’ उनले भने ।  समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट ५ किलोमिटर पश्चिम उत्तरमा पर्छ । 

सिटी होटलको प्रतिसेयर नेटवर्थ ८४.९३ रुपैयाँ पुग्यो

काठमाडौं । सिटी होटलको प्रतिसेयर नेटवर्थमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिसेयर नेटवर्थ ४.१० रुपैयाँले बढेको हो । सिटी होटल नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक हो । अघिल्लो त्रैमास अर्थात् आव २०८१/८२ को अन्तिम त्रैमासमा प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मा नेटवर्थ वृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको हो । सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गरेसँगै प्रतिसेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद सेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ । कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ । पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न ब्यांक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा वृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी सेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा क्लबहरुसँग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ । कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ । कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।

सोलुमा जहाज टिकटको संकट : सर्वसाधारणले पावरबिना टिकट पाउन मुस्किल

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशीका उजिर कार्कीलाई शनिबार अचानक काठमाडौं जानुपर्ने बाध्यता आयो । अत्यावश्यक काम परेपछि उनले फाप्लुस्थित नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर टिकट मागे, तर जवाफ फेरि–फेरि एउटै रह्योस् 'टिकट छैन ।' यही अनुभवले कार्की मात्र होइन, समग्र तल्लो सोलुखुम्बुका सर्वसाधारणको विमान सेवासँगको वर्तमान अवस्था स्पष्ट गरेको छ । अन्ततः कार्की सडकमार्ग रोज्न बाध्य भए । स्थानीय सल्लेरीका रश्विन मगरले भने, 'यो व्यक्तिगत समस्या मात्र होइन, सोलुखुम्बुमा विमान सेवा कति अव्यवस्थित, पहुँचवाला व्यक्तिको नियन्त्रणमा र सर्वसाधारणविरोधी बनेको छ भन्ने यथार्थ हो ।' हाल फाप्लु–काठमाडौं उडान हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) मात्रै संचालनमा छन् । निजी क्षेत्रका कम्पनीहरूले व्यस्तता र अनुकुलता नदेखाइ उडान तालिका हटाउँदा स्थानीयहरू नेपाल एयरलाइन्समै निर्भर हुन बाध्य छन् । तर सामान्य नागरिकले टिकट माग्दा 'छैन' भन्ने जवाफ पाउँछन्, जबकि उच्च पदस्थ वा पहुँचवाला व्यक्तिले तुरुन्तै टिकट पाउँछन् । सोलुकै सन्देश राईले भने, 'काठमाडौंबाट सोलु आउँदा सहज छ, तर सोलुबाट काठमाडौं जानु भनेको फलामको चिउरा चपाएसरह हो । विदेशी पर्यटकलाई प्राथमिकता दिने कारणले सामान्य यात्रुलाई सिट दिन समस्या हुन्छ ।' नेपाल एयरलाइन्स फाप्लुका स्टेशन इन्चार्ज तेन्जी शेर्पाले भने, 'विदेशी पर्यटकलाई प्राथमिकता दिनुपर्छ ।' स्थानीयहरूले भने विमान टिकट पाउन 'पावर' वा पहुँचवाला आफन्तको सहायताको आवश्यकता पर्नुलाई गम्भीर समस्या मान्छन् । यसबारे गुनासो काठमाडौंको ट्राभल्स एजेन्सीमा समेत आइरहेको छ । सोलुखुम्बु पर्यटनको आधार र सगरमाथाको प्रवेशद्वार भएकाले यहाँ हवाई टिकट जस्तो आधारभूत सेवा प्राप्त गर्न पावर आवश्यक पर्नु प्रशासनिक कमजोरी मात्र नभई सरकारले सम्बोधन गर्नुपर्ने नागरिक समस्या भएको स्थानीयहरूले जोड दिएका छन् ।