उपत्यका वरिपरि ५ लाख पर्यटक अट्ने पूर्वाधार बन्ने, महामारीको समयमा भर्चुअल टुर

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अटने गरी पर्यटन पूर्वाधार पदमार्ग,साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् । उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली,हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह समेत गरे । मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल,टेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामाग्री तयार गर्न निर्देशन दिएका हुन् । मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकिय क्षेत्रका बृत्त चित्र लगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले कोभिडका कारण पर्यटन ब्यवसायी,पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए । उनले विभिन्न देशका रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसग नेटवर्क विस्तार गर्न समेत आग्रह गरे । कोभिड १९ ले सवै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे । मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा,खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरे । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले आर्थिक बर्ष २०७६/७७ को प्रगति र ७७/७८ का कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौता हुने

काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । बैठकले भदौ १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन वायुृसेवा संचालकहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ । त्यस्तै, नेपालीहरु स्वदेश फिर्तीलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन । समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल एसोसिएसन लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ । यस्तै, बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।

विनोद चौधरीलाई कोरोना लागेपछि भिभान्ता होटलमा त्रास, कर्मचारीको काेराेना परीक्षणमा लापरवाही

काठमाडौं । गएको शुक्रबार उद्योगी विनोद चौधरीले आफू कोरोना संक्रमित भएको भन्दै ट्वीट गरे । चौधरी आफ्नो ट्विटरमा लेख्छन् , ‘प्रिय साथीभाई तथा शुभचिन्तकहरु, आज बिहान मेरो कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको छ । भगवानकाे कृपाले मलाई अहिलेसम्म कुनै पनि प्रकारको लक्षण देखिएको छैन । यद्यपी म डाक्टरको सल्लाह अनुसार आईसोलेसनमा बसेको छु । मसँग सम्पर्कमा आउनुहुने सबैजना आवश्यक सुरक्षा विधि अपनाउनु होला ।’ दिउँसोको १२ बजेर ५७ मिनेटमा गरिएको उनको ट्वीट धेरै सञ्चार माध्यमका समाचार बन्यो । सामाजिक सञ्जालमा पनि खुब चर्चा भयो । तर चौधरीले यसो भन्दै गर्दा झम्सिखेलस्थित भिभान्ता होटलमा ठूलो त्रास फैलियो । किनभने चौधरी आफै पनि होटलका संचालक रहेका कारण उनी होटलमा बारम्बार आईरहने गरेको होटलका कर्मचारीहरुले बताए । म्यानेजरको पिसिआर, सामान्य कर्मचारीको आरडिटी चौधरीमा संक्रमण पुष्टि भईसकेपछि होटलले आफ्ना कर्मचारीहरुको पनि परीक्षण गराउने निधो गर्यो । तर होटलले सबै कर्मचारीहरुको पिसिआर परीक्षण गराउनु पर्नेमा एन्टिबडिमा आधारित आरडिटी परीक्षण गराएर घर पठाइदिएको छ । होटलमा खटेका करिब ३५ जना कर्मचारीहरु मध्ये विभिन्न डिपार्टमेन्टका म्यानेजरहरुको पिसिआर र बाँकी सबैको आरडिटी परीक्षण गराइदिएको होटलका एक कर्मचारीले बताए । म्यानेजरहरुको सानेपास्थित स्टार अस्पतालमा पिसिआर परीक्षण गरिएको र अन्य कर्मचारीको पुल्चोकस्थित निदान अस्पतालमा आरडिटी परीक्षण गरिएको स्रोतले बतायो । सरकारले केही महिना अघि मात्र आरडिटी परीक्षणको नतिजा विश्वासिलो नभएको भन्दै एन्टिबडिमा आधारित आरडिटी परीक्षणलाई बन्द गराइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहप्रवक्ताको डा समिरकुमार अधिकारीले एन्टिबडिमा आधारित आरडिटी परीक्षण अब अनुसन्धानको लागि बाहेको कोरोना पुष्टि गराउनको लागि प्रयोग नहुने बताए । उनको अनुसार सरकारले एन्टिजेन्टमा आधारित आरडिटी परीक्षणलाई मात्र परीक्षण गर्न पाउने गाईडलाइन्समा राखेको छ । उनी भन्छन, ‘यदि कसैले पनि एन्टिबडि आरडिटी गराइरहेको पाईएमा नियम अनुसार कारवाही हुनेछ ।’ हाल सरकारले आवश्यक बाहेक सबै सेवाहरु बन्द गर्नु भनिरहेको अवस्थामा होटलले आफ्नो सेवा भने कहिले पनि बन्द नगरेको सोही कर्मचारीले बताए । उनको अनुसार निशेधाज्ञको समयमा पनि धेरै मानिसहरु होटलमा आउने गरेका छन् ।