खुला भयो होटल, छैनन् पाहुना
बर्दिया । पर्यटन क्षेत्र खुला गर्ने सरकारी निर्णयसँगै ठाकुरद्वारामा रहेका अधिकांश होटल सरसफाइ गरेर पर्यटकलाई सेवा दिन तयार देखिएका छन् । लामो समयदेखि बन्द रहेका यस क्षेत्रका होटलले व्यवसाय सञ्चालनका लागि सरसफाइ र मर्मत सम्भारको कामलाई तीव्रता दिएका छन् । बन्द रहेका होटलका ढोका खुलेसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ । बन्दाबन्दीका कारण घर गएका धेरै जसो होटलका कर्मचारी तथा मजदुर काममा फर्किइ सकेका छन् । दैनिक १०० देखि १५० जनासम्म आन्तरिक तथा बाह्य पर्यटक आउने ठाकुरद्वारा क्षेत्रका होटल कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका थिए । यहाँ रहेका अधिकांश होटल तथा रिसोर्टले सरसफाइ र मर्मत सम्भारको काम सकिसकेको गैँडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापाले जानकारी दिए । उनले भने, “ होटलको सरसफाइको काम सकियो, घर गएका होटल कर्मचारी तथा मजदुरलाई काममा बोलाइयो, तयारी सबै पूरा भयो, तर पाहुनाको पर्खाइमा छौँ ।” ठाकुरद्वारा क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालकको संस्था पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होटल सञ्चालनमा आएको जानकारी दिए । उनले भने, “होटल तथा रिसोर्ट चिटिक्क पारेका छौँ तर होटलमा बस्ने पाहुना छैनन् ।” पछिल्ला वर्षमा ठाकुरद्वारा क्षेत्रमा होटल तथा रिसोर्टमा लगानी गर्ने क्रम बढ्दो छ । यस क्षेत्रमा पर्यटक लक्षित २९ सुविधासम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । ती होटल तथा रिसोर्टमा साढे तीन अर्ब बढीको लगानी रहेको छ । रासस
आज विश्व पर्यटन दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडाैं । आज ‘४१ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाईदैछ । यस वर्ष ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गरेका छन् । सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए । कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताए । राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पष्ट पारे । मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालिन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाई छ । उनले अवको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।
दिवा तथा रात्रिकालीन पर्यटक बससेवा शुरु
काठमाडाैं । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो । यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै १२ करोडको लगानीमा शुरु भएको बससेवा असोज १ देखि नै शुरु भइसकेको छ । प्रालिका अध्यक्ष श्रीकान्त आचार्य मुख्यमुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागेको बताउँछन् । “कोभिड–१९ पछि पर्यटकीय बस पूर्णरूपमा सुरक्षित भएको महसुस गराएर बससेवा सञ्चालन गरेका छौँ”, उनी भन्छन् । आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइज गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाइएको अध्यक्ष आचार्य बताउँछन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । देशदर्शन बस सेवा प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा र काठमाडौँ–मुक्तिनाथ दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको प्रालिका सञ्चालक प्रह्लाद लोहनी बताउँछन् । उक्त बससेवा काठमाडौँको बौद्धबाट शुरु भएर अन्त्यमा सोह्रखुट्टे भएर छुट्नेछ । हाल काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका थिए । रासस