स्वास्थ्य सावधानी अपनाएर पर्यटक बस सञ्चालन गर्ने तयारी

काठमाडाैं । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए । झण्डै छ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो । “पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौँ”, उनले भने । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताए । हाल काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताए । “मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटक क्षेत्रको बसका लागि सरकारले छुट्टै बसपार्क निर्माण गर्नुपर्छ, जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटक बसपार्कमा गएर बस चढेर गन्तव्यस्थलसम्म पुग्न सक्छन्”, उनी भन्छन् । केही दिनपहिला नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । मन्त्री भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए । रासस

असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्न पाइने

काठमाडौं । सरकारले असोज १ गतेदेखि होटल रेष्टुराँ सञ्चालन गर्ने गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेदेखि होटल रेष्टुराँ खोल्ने निर्णय गरेको बताए । यसका लागि स्वास्थ्य सम्बन्धि आवश्यक मापदण्डहरु पूरा गरेर मात्रै सञ्चालन गर्न पाइने बताइएको छ ।

पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल

काठमाडाैं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घ संस्था एवं अग्रजपर्यटन व्यवसायी समेतलाई सल्लाहकारको रुपमा समेटीबोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ । महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायिलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए । उहाँनका अनुसार पर्यटन पुनःरुत्थानका लागि बोर्डले केही अगुवा पर्यटकीय संस्थाको प्रतिनिधित्व रहने गरी अहिलेसम्म गरिआएको कामलाई जिम्मेवारी दायित्व बोध हुने गरी बृहत् कार्यदल बनाइएको हो । बोर्डले तीन महिना अघि कार्यदल बनाएको थियो । सीमित सङ्ख्याको प्रतिनिधित्व रहेको कार्यदललाई व्यापक बनाई आगामी दिनमा पर्यटन क्षेत्रले गर्नुपर्ने कामको अन्तिम निष्कर्ष निकाल्ने गरी कार्यदलले काम गर्ने कार्यकारी प्रमुख डा रेग्मीले बताए । कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनि अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी आफ्ना सुझाव दिनेछ । सोअनुसार सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पु¥याउने जनाइएको छ । उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निरास हुँदै गएका व्यवसायी तथा मजदूरलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने मार्ग पहिल्याउन सहयोग गर्नेछ । यस कार्यका निम्ति सम्पूर्ण पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालालाई सक्रिय भई सहयोग गर्नसमेत बोर्डले हार्दिक अपिल गरेको छ । देशको विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत एवं रोजगारी सिर्जना तथा सिङ्गो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारको रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो शिकार बन्न पुगेको बोर्डले उल्लेख गरेको छ । रासस