नाट्टाको अध्यक्षमा अच्युत गुरागाई निर्वाचित, कसको मत कति ?

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा)को अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाटाको नेतृत्वको लागि शुक्रबार भएको मतदानबाट गुरागाई अध्यक्षमा निर्वाचित भएका हुन् । आफ्ना प्रतिस्पर्धी भीम प्रसाद पन्त र निहीका शाहलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् । यस्तै नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधिर कुमार उपाध्याय पाैडेल, सचिवमा जिस्वाँ तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमार मणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरि कुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा र भरत जंग पाण्डे निर्वाचित भएका छन् । निर्वाचनमा कुल ४ सय ५ मत खसेका थिए निर्वाचित अध्यक्ष गुरागाईले विकासन्यूजसँग कुरा गर्दैै निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभइ पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने टिमले जित हासिल गरेको बताए । उनले अाफूले चुनावमा गरेका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताए । निर्वाचित पदाधिकारी तथा सदस्यहरू फरक समूहबाट निर्वाचित भए पनि उनीहरू व्यवसायिक रूपमा अाफ्ना जिक्रीहरू भएको उनले बताए ।

के हो यती ? किन प्रयोग भयो नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारमा ?

भ्रमण वर्षमा प्रयोग गरिएको यती काठमाडौं । नेपाल भ्रमण २०२० को सचिवालयले भ्रमण वर्षको प्रचार प्रसारमा यती अर्थात हिम मानवको प्रयोग गरेको छ । भ्रमण वर्ष २०२० मा १ सय ८ यतीहरु प्रयोग गर्ने लक्ष्यका साथ सचिवालयले विभिन्न ठाउँमा यती राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने उद्देश्यले विभिन्न कालाकारले कलाकृतिमा यतीको अस्तित्व प्रस्तुत गरेका हुन् । भ्रमण वर्षमा यतीको प्रयोगसँगै यसको प्रयोग किन गरियो भनेर धेरैको चासोको विषय बनेको छ । सबैको चासोको विषय बन्नुको मू्ख्य कारण हो नेपाल भ्रमण वर्ष । पर्यटन प्रवद्र्धन र भ्रमण वर्षको प्रचार प्रसारका लागि सचिवालयले यतीको प्रयोग गरेको बताएको छ । आखिर यती मात्रै भ्रमण वर्षको प्रचारका लागि किन राखियो ? यसको सान्दर्भिकता के हो ? र यतीको प्रचार पछाडिका मूल्य मान्यता के हुन् भन्ने लगायतका अनुत्तरित प्रश्नहरु आमनागरिकमा व्याप्त छन् । भ्रमण वर्षको उद्घाटन कार्यक्रममै सचिवालयले यतीको पयोग गरेको थियो । अहिले १ सय ६ कलाकारले यतीलाई नै मूख्य विषय बनाएर काम गरिरहेका छन् । २२ वटा यती तयार भइसकेको सचिवालयले जनाएको छ । कलाकारले निःशुल्करुपमा यतीको आकृति तयार पारेर भ्रमण वर्ष २०२० लाई सहयोग गरेको सचिवालयले जनाएको छ । नेपाल भ्रमण वर्षको सचिवालयअन्तर्गत गठित यती आर्ट कमिटीले यतीको मूर्ति बनाउने जिम्मा पाएको छ । झण्डै सात फूट अग्ला दर्जनौं मस्कट कलाकारले बनाइरहेका छन् । यती बनाउनका लागि सचिवालयले आर्ट कमिटी पनि गठन गरेको छ । यती आर्ट कमिटीका संयोजक प्रेमप्रभात गुरुङले यतीको घर नेपालका हिमालय हुन् भनेर संसारभरि चिनाउने उद्देश्य राखेर मूर्ति बनाइएको बताए । यतीको सांकेतिक तस्विर यतीलार्ई डरलाग्दो जीवको रुपमा प्रस्तुत गर्नुभन्दा पनि कलात्मक रुपमा नेपालको मौलिकता झल्किने गरी यती प्रस्तुत गरिएको उनको भनाइ छ । यतीको मस्कट बनाइसकेपछि पर्यटक आवतजावत गर्ने स्थानहरुमा राखिने भनिएको छ । हाल तयार भइसकेका मूर्ति ठमेलस्थित दलाई ल आर्ट बुटिक, सुन्धारस्थित सिभिल मल, लैनचौरस्थित केशर महल परिसरमा राखिएका छन् । चित्रकारहरुले पृष्ठभूमिमै हिमाल र यतीकोे सम्बन्धलाई खोतल्ने प्रयास गरेका छन् । पर्यटनविद् निक्की श्रेष्ठले नेपालका हिमाल र यतीको प्रचारका लागि पनि यती प्रयोग गरिएको बताइन् । भ्रमण वर्ष सचिवालयले यतीलाई मसक्टको रुपमा प्रयोग गरिएको उनको भनाइ छ । ‘हामीसँग धेरै हिमाल छन्, ती हिमालसँग पर्यटकलाई परिचित गराउन यतीको प्रयोग गरिएको हो,’ उनले भनिन् । नाम्चेको माथिल्लो भागका हिमालमा यतीको टाउको छ भन्ने विश्वास छ, त्यसलाई प्रचार गरौं भन्ने आफूहरुको मानसिकता भएको उनको भनाइ छ । यतीको मूर्ति बनाउनाले स्थानीय कलाकारहरुलाई पनि प्रोत्साहन हुने उनले बताइन् । यसले पनि अन्तर्राष्ट्रियस्तरमा नेपाली कलाकारको कलाको पनि प्रचार हुने श्रेष्ठको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० को प्चार प्रसारमा किवदन्तीमा आधारित हिममानव यतीलाई प्रतिकका रुपमा प्रयोग गरिएको छ । के हो यती ? यती एउटा ढेडु प्रजातिको जनावर हो । जुन नेपाल र तिब्बतको हिमाली क्षेत्रमा पाइने विश्वास गरिन्छ । यती र मेह–तेह नाम स्थानीय बासिन्दाले प्रयोग गर्ने नाम हो । र, यी नाम इतिहास तथा किम्बदन्तिमा समेटिएका छन् । किम्बदन्तिको रुपमा रहेको यो जीवको हालसम्म कुनै प्रामाणिक अस्तित्व भने भेटिएको छैन । पश्चिमी देशहरुमा यतीको कथा १९औं शताब्दीतिरबाट शुरु भएको थियो । यती अर्थात हिममानवको बारेमा त्यति धेरै खोजतलास देँखिदैन । तर, यसको खुट्टाको छाप र कपालको बारेमा भने केही आलेख प्रकाशित छन् । योे प्राणीको आजसम्म कुनै पनि चित्र खिचिएको छैन । अर्थात कसैले पनि यो जीव भेटेका छैनन् । यो औसत व्यक्तिको उचाईभन्दा अग्लो हुन्छ भनेर वर्णन गरिएको छ । के छ किम्बदन्ति ? यती सम्बन्धि कुनै अनुसन्धानात्मक कार्यपत्रहरु खासै भेटिँदैनन् । तर, हिमालमा घुम्न जाने केही पर्यटकहरुले भने पहिले यतीका खुट्टाको छाप भेटिएको दावी गरेका छन् । नौ महिना अगाडि नेपालको मकालु हिमालको आधार क्षेत्रमा रहस्यमय हिममानव यतीको पाइला (फुटस्टेप) भेटिएको भारतीय सेनाको एक टोलीले दाबी गरेको छ । भारतीय सेनाका अनुसार तस्वीरहरु अप्रिल ९ मा खिचिएको हो । यतीको पद चिह्नको लम्बाई २.६ फिटको रहेको उसले जनाएको थियो । धेरैले यती देखेको दावी गर्दै आएपनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतीलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ । सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतीकोे भुत्लाको नमुना संकलन गरिएको दावी गरिएको थियो । वैज्ञानिकहरुले भने यतीको ठोस अनुसन्धान गरेका छैनन् । यतीको सांकेतिक तस्विर अन्तर्राष्ट्रिय सञ्चार माध्यमा ‘द सन’का अनुसार यती पदचिह्नको चित्र पहिलो पटक देखा पर्यो । उसका अनुसार सन् १९५१ मा बेलायती पर्वतारोही एरिक शिम्प्टनले ठूलो पदचिह्न पनि प्राप्त गरे, जुन उनले आफ्नो क्यामेरामा खिचेको उल्लेख गरिएको छ । त्यसयता पनि यो हिमालयन पौराणिक प्राणी बारे छलफल चल्दै आएको छ । यती हिम नदीहरुमा स्थानीय समुदायले पूजा गर्ने आदिम जीव हो भन्ने विश्वास गरिन्छ । बाँदर जस्तो देखिने यो प्राणी प्राणी एक ठूलो ढुङ्गाको हतियारको साथ हिँड्ने र सिठ्ठी जस्तो आवाज निकाल्ने केही आखेखहरुमा उल्लेख गरिएको छ । तिब्बतमा यसलाई माइचे भनिन्छ । जसको अर्थ मान्छे जस्तो भालु हो । तिब्बतीहरुले यसलाई ‘डिजु–तेह’ नामले चिन्छन् । जसको अर्थ हिमाली भालु हो । अन्य नामहरुमा मिगन (जंगली मानिसहरुका लागि तिब्बती), बुन मिन्ची (वनमान्छे) आदि हुन् । वैज्ञानिकहरुले हिउँ मानवहरुलाई धुव्रीय र खैरो भालुको उपनामले पनि वर्णन गरेका छन् । यसको बारेमा सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयमा एक अध्ययन गरिएको थियो ।

सौराहा आउँदै गरेको पर्यटक बस दुर्घटना हुँदा ३३ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ जना चिनियाँसहित ३२ जना र घरमा रहेका एकजना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको जनाइएको छ ।