सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल निर्वाणामा १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरीका महाप्रबन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पर्यटन बोर्डका सीईओ रेग्मीले गरे पदबहाली

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा‍‍ धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो । सीईओको कार्यकाल चार वर्ष हुनेछ । जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

हिमालय एयरलाइन्सले राेक्याे चीनकाे उडान

काठमाडौं ।  हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान स्थगन गरेको छ। चीनको वुहान सहरबाट फैलिएको कोरना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यका उडान तत्कालका लागि स्थगन गरेको बताएकाे हाे । हिमालयले चीनका ३ सहरका उडान यसअघि नै उडान स्थगन गरिसकेको छ भने राजधानी बेइजिङको उडान ६ फेब्रुवरीदेखि स्थगन हुने छ।  एयरलाइन्सले अर्को सूचना प्रकाशित नभएसम्मका लागि भन्दै उडान स्थगन गरेको जानकारी दिएको छ। चीनमा कोरना भाइरस फैलिएपछि विभिन्न देशका एयरलाइन्सहरुले उडान स्थगन गरिरहेका छन्। चीन सरकारले पनि समूहमा विदेश जान आफ्ना नागरिकलाई रोक लगाएको छ।