आन्तरिक वायुसेवा अन्तर्राष्ट्रिय उडानमा, श्री र सिम्रिकको तयारी तीब्र
काठमाडौं २०, भदौ । नेपालका आन्तरिक उडानका वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडानमार्फत हवाई पहुँच विस्तार गर्न थालेका छन् । आन्तरिक उडनमा नियमित सेवा प्रदान गर्दै आएको वायुसेवा कम्पनी बुद्ध एयरले २०६६ असोजबाट सुरु गरेको अन्तर्राष्ट्रिय उडान नियमित नभएपनि चार्टर भएपनि हालसम्म जारी छ । हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरले दशक अघिदेखि अन्तर्राष्ट्रिय उडानको अनुमति लिएर अफ्रिकी राष्ट्रसम्म पुगेर सेवा दिइरहेको छ । यो वाहेक थप सेवा र सुविधा दिने तयारीमा दुबै वायुसेवा लागेको छन् । आन्तरिक वायुसेवाले आफ्नो अन्तर्राष्ट्रिय पहुँच बढाउने बलियो आधार अन्तर्राष्ट्रिय नै हुने ठहर गर्दै एक पनि अर्को वायुसेवाको दायरा फराकिलो बनाउन पनि थालेका छन् । पहिले आन्तरिक बजारमा टिक्ने र अन्तर्राष्ट्रियमा जाने सोच बनाएर हवाई उडानमा प्रवेश गरेका वायुसेवाले अन्तर्राष्ट्रिसम्मको पहुँच बढाउन थालेको हुन । श्री एयरले प्रकिया अगाडि बढायो नेपालकै ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले फिक्स विंग्स जहाज संचालन गर्ने घोषणा र अन्तर्राष्ट्रिय पहुँच विस्तारको घोषणा एकैपटक गर्ने भएको छ । यो वायुसेवाले १० वटा जहाज ल्याएर आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । यो वायुसेवा कम्पनीले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गर्न अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । श्रीले वायुसेवा संचालन अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिएको श्री एयरका कर्पोरेट निर्देशक अनिल मानन्धरले बताए । हाल हेलिकोप्टर व्यवसायमा पकड जमाएको श्रीले मन्त्रालयबाट एक साताभित्रमा नै अनुमति पाउने र जहाज संचालको योजना सार्वजनिक गर्ने जानकारी दिएको छ । श्रीले डेढ दशकभन्दा बढी अवधि हेलिकोप्टर सेवा सञ्चालनबाट बटुलेको अनुभवपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडानको जहाज संचालन गर्न लागेको हो । पर्यटन मन्त्रालयले पनि श्रीलाई लाइसेन्स दिने विषयमा प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार फाइल उठाएर निर्णयको लागि पर्यटन मन्त्री जीवनबहादुर समक्ष पुगेको बताएको छ । मन्त्रीले आवश्यक अध्ययन गरेर निर्णय दिने पनि मन्त्रालयको भनाइ छ । पर्यटन मन्त्री स्तरिय निर्णयले नै कुनै पनि वायुसेवाले अनुमति पाउने प्रावधान छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार श्रीले बढाएको प्रक्रिया अनुसार जहाज उडान अनुमति दिन कुनै समस्या छैन । जहाज ल्याउछु र उडान गर्छु भन्ने कम्पनीलाई प्रोत्साहन दिनुपर्ने पनि उनको बुझाई छ । यो वायुसेवाले आन्तरिक उडानका लागि ५० सिटसम्मका जहाज सञ्चालन गरिने गर्ने र अन्तर्राष्ट्रिमा भने एक सयदेखि १ सय १० सिट क्षमताका जहाजबाट सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । श्रीले आन्तरिक उडानका लागि क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरमा निर्मित ५० सिट क्षमतायुक्त ‘सिआरजे–२००’ सिरिजका तीनथान जहाज पहिलो चरणमा ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष अनुमति मागिसकेको छ । ती जहाजबाट काठमाडौंलाई आधार बनाएर भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीका लागि नियमित उडान गर्ने योजना अगाडि सारेको छ । अन्तर्रा्ष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा निर्मित १ सय १० सिट क्षमतायुक्त तीनथान जहाज पहिलो चरणमा ल्याइने मानन्धरले जानकारी दिए। उड्डयन प्राधिकरणको नियम अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न न्यूनतम दुईदुई थान जहाज चाहिन्छ । श्री ले पनि सोही नियम अनुसार दुइटै सेवाका लागि तीनतीन थान जहाज ल्याउन लागिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि भने भारतीय सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदराबाद र वनारस उडान गर्ने योजना रहेको पनि श्रीले जानकारी दिएको छ । पहिलो चरणको अन्तर्राष्ट्रिय उडानको सफलतापश्चात एयरवसको एक सय ५० सिट क्षमता सरहको जहाज ल्याएर युएई साउदी अरब, थाइल्याण्ड मलेसियालगायत गन्तव्यमा उडान गर्ने श्री एयरले जानकारी दिएको छ । कार्गोमार्फत अन्तर्राष्ट्रिय उडानको तयारीमा सिम्रिक गुण एयरलाइन्स खरिद गरेर सिम्रिक एयरलाइन्स भएको चार वर्षमा नै सिम्रिकले अन्तर्राष्ट्रिय उडानको घोषणा गरेको छ । गुणका दुई र अग्नि एयरका दुई जहाज किनेर चार वटा संचालन गरिरहेको यो वायुसेवाले अमेरिकी वायुसेवासँग सहकार्य गरेर अन्तराष्ट्रिय उडान गर्ने सम्झौता गरिसकेको छ । संयुक्त राज्य अमेरिकाको वायुसेवा कम्पनी सफायर ग्लोवल एयरवेजसँगको सहकार्यमा सिम्रिकले अन्तराष्ट्रिय उडान गर्ने गरी आन्तरिक तयारी गरिरहेको बताएको छ । सम्झौतामा सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र सफायर ग्लोवल एयरवेजका अध्यक्ष क्याप्टेन राहुल एस पुरानिकले हस्ताक्षर गरिसकेको नेपालमा नै आन्तरिक तयारीको काम नसकिएको सिम्रिकले जानकारी दिएको छ । सिम्रिक इन्टरनेसनल कार्गो एयरलाइन्स र सफायर ग्लोवल एयरवेजको संयुक्त लगानीमा नेपालबाट यो वायुसेवा संचालन हुने उल्लेख छ । सिम्रिकले नेपालमा यात्रु उडान नभएर कार्गो उडान मात्रै गर्ने गरी सफायरसँग सम्झौता गरेको हो । करीब १६ अर्ब रुपैयाँको लगानीमा ७० प्रतिशत सफायरको र ३० प्रतिशत सिम्रिकको शेयर हुने गरी सम्झौता गरेको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको भनाइ छ । यतिले हिमालय चलायो आन्तरिक उडानको वायुसेवा कम्पनी यति एयरले तिब्वत एयरलाइन्सँगको सहकार्यमा हिमालय एयरलाइन्स संचालन गरेको छ । २०६४ माघ ६ गतेबाट एयर अरेवियासँगको सहकार्यमा आन्तरिक वायुसेवा कम्पनी यति एयरले अन्तर्राष्ट्रिय उडानको फ्लाई यति संचालन गरेको थियो । आन्तरिक व्यवस्थापन मिलाउन नसकेका कारण यो वायुसेवा ६ महिना पछि संचालन गर्न सकेन । यो वायुसेवाले गत फागन अन्तिम साता नेपलामा जहाज भित्र्याएको भएपनि नियमति उडान भने गते जेठ १९ गतेबाट सुरु गरेको हो । यतिले फ्लाइ यतिलाई नै नयाँ रणनीतिक साझेदार खोजेर पुनः हिमालय एयरलाइन्ससँगको नाममा उडान संचालन गरेको हो । हिमालयले हाल एउटा जहाजमार्फत काठमाडौं कतार नियमित उडान गरिसकेको छ । यो वायुसेवामा यति एयरकै लगानी प्रमुख रहेको छ । अन्तर्राष्ट्रिय पहुँच बढाउने तयारीमा बुद्ध एयर विसं २०६६ देखि नै अन्तर्राष्टिय उडानको अनुमति लिएर नेपालसँग सीमानासँग जोगिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको बुद्धले पनि जहाजको संख्यासँगै उडान पहुँच बढाउने तयारी थालेको छ । यो वायुसेवाले हाल भारतको वनारसमा चार्टर उडान गरिरहेको भएपनि जहाज थप गरेर नियमतिमा जाने योजना बनाएको बताएको छ । यो वायुसेवाले अन्तर्राष्ट्रिय उडान गन्तव्य पनि बताउने योजना अगाडि सारेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । भुटानको नियमित उडान बन्द गरेर भारतको लखनउ उडान गरिरहेको बुद्ध एयरले थप दुईवटा एटीआर ७२ जहाज थप गरेर सीमा क्षेत्रका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न चाहेको उल्लेख छ । यो वायुसेवाले मन्त्रालयमा दुई वटा जहाज थपको अनुमति मागेको छ । जहाज विस्तारसँगै उडान पहुँच बढाउँदै सौर्य एयर आन्तरिक उडानमा पछिचल्लो सयम थपिएको वायुसेवा कम्पनी सौर्य एयरले पनि जहाज विस्तारसँगै उडान क्षमता बढाउने भएको छ । यो वायुसेवासँग आन्तरिक उडानको एउट मात्रै जहाज छ । आगामी सेप्टेम्बर भित्र एउटा र त्यसको ६ महिनामा अर्को जहाज थप गरेर उडान पहुँच बढाउने सौर्य एयरका प्रवन्ध निर्देशक गोपाल भट्टराईले बताए । दुई वर्ष देखि ५० सिट क्षमताका जहाज संचालन गरिरहको यो वायुसेवाले आन्तरिक व्यवस्थाप नमिलेका कारण जहाज नै बेच्च चाहेको थियो । नयाँ रणनीतिक साझेदार भित्र्याएर यो वायुसेवाले जहाज विस्तारको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । यो वायुसेवाका जहाज ५६ सीट क्षमताको भएको र बुद्ध एयरसँग भएको ७३ सीट क्षमताको एटीआर भन्दा पनि तीब्र गतिमा उड्ने जहाज हो । सौर्यले पनि जहाज थप गर्ने अन्तर्राष्ट्रिय उडानसम्मको योजना बनाइरहेको जानकारी दिएको छ ।
फोहोरको शुल्क विदेशिबाटै लिनपर्ने, व्यवस्थापन सरकारबाटै हुनुपर्ने
काठमाडौं २०, भदौ । नेपालमा आएका विदेशी नागरिक पदयाता तथा पर्वताराहेणमा जाँदा हुने फोहोरको व्यवस्थापनका लागि शुल्क लिनुपर्ने प्रस्ताव पर्यटन व्यवसायीको छ । फोहोर र धरौटीसम्बन्धी नीतिगत व्यवस्थाले पर्यटकलाई झण्झट भइरहेकको भन्दै व्यवसायीले पर्यटकबाट थप रकम फिर्ता नहुने गरी लिएर सफाईको व्यवस्था सरकारले नै गर्नुपर्ने माग गरेका छन् । टेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को टोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई भेटेरै यस्तो माग गरिएको जानकारी दिएको छ । हाल विदेशी पर्यटकले पर्यटन मन्त्रालयमा गार्वेश शुल्क डिपोजिट गरेर पर्वतारोहणमा जानुपर्छ । तोकिएको फोहोर फिर्ता ल्याएर मात्रै यस्तो शुल्क फिर्ता पाउने प्रावधान रहेको छ । टानले सगरमाथाका लागि फोहोर व्यवस्थापन शुल्कवापत प्रतिपर्यटक १ सय डलर, ८ हजार मिटरभन्दा माथिका हिमालका लागि ७५ डलर प्रतिपर्यटक, ६ हजार ५ सय मिटरभन्दा माथि ८ हजार मिटरभन्दा कम उचाईका हिमालका लागि ५० डलर कायम गर्नुपर्ने टानको सुझाव दिएको छ । यो रकम फिर्ता नहुने गरी लिने र व्यवस्थापनको काम भने सरकारले नै गर्नुपर्ने माग व्यवसायीको छ । व्यवसायीले परमिट शुल्क, फोहोर व्यवस्थापन, टिम्स कार्ड वितरणमा समस्या रहेको सम्बन्धमा मन्त्री शाहीको ध्यानाकर्षण गराएका छन् । त्यसबाहेक हिमाल आरोहणलाई सुरक्षित र भरपर्दो बनाउन उमेरको हद कायम गर्नुपर्ने, प्रतिवन्धित क्षेत्रसम्बन्धी व्यवस्था, बीना गाइड तथा भरिया यात्रा गर्ने प्रवृत्ति रहेको व्यवसायीहरुको भनाई छ । पर्यटनसग सम्बन्धित कामहरु एकद्धार प्रणालीबाट सम्पन्न गरी सहज बनाउनु पर्ने व्यवसायीले बताएका छन् । आरोहणमा उमेर हद १६ वर्षभन्दा माथि ७५ वर्षसम्म कायम गर्नु पर्ने तर्क व्यवसायीको छ । यसबाट आरोहणमा हुने अस्वस्थ प्रतिस्पर्धा कम हुने टानले उल्लेख गरेको छ । व्यवसायीको माग सम्बोधन गर्दै मन्त्री शाहीले समस्या रुपमा रहेका धेरै मुद्दाहरु क्रमशः समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । सबै समस्या आफ्नै कार्यकालमा पुरा हुन नसकेपनि व्यवसायको व्यवाहिरक प्रस्तावलाई अगाडि बढाउने प्रयास भइरहने बताएको जानकारी टानल दिएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटन आगमन बढ्न थाल्यो
लमजुङ, १८ भदौ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । पदयात्राका लागि सिजन सुरु भएपछि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेको हो । ट्राभल एजेन्सी एसोसिएसन नेपाल ९टान० को बेसीसहरस्थित पर्यटक जाँच चौकीका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको सङ्ख्या दैनिक ४० जना भन्दा बढी रहेका छन् । यो पदमार्गमा मुख्य सिजनमा भने दैनिक दुई सयको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष अफसिजनमा पनि उल्लेख्य पर्यटक आएको टानले जनाएको छ । पदयात्राका लागि सिजन नभए पनि यो बर्ष मे महिनादेखि अगष्ट महिनासम्म मात्रै दुई हजार २३१ जना पर्यटक आएका थिए । गतवर्ष सोही अवधिमा ४५७ जना पर्यटक मात्र पदयात्राको लागि आएका थिए । अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म पदयात्राका लागि उपयुक्त सिजनको रुपमा लिने गरिन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको टिम्स बेसीसहरका कर्मचारी नन्दराज भट्टले बताए । गतवर्ष भूकम्प र अघोषित नाकाबन्दीका कारण पर्यटक घटेको भन्दै उन्ले यो वर्ष पर्यटक बढ्ने अपेक्षा गरे । अन्नपुर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स र अष्ट्रेलिया, बेलायत, अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । विदेशी पर्यटक जत्तिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साही भएका छन् । दीर्घकालीन पर्यटन विकासका लागि आन्तरिक पर्यटकलाई पर्वद्धन गर्नुपर्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउाछन् । “विदेशी एकपटक गएर आउन पनिसक्छ नआउन पनिसक्छ, तर नेपाली पर्यटक फेरि पनि आउछ” गुरुङले भन्े “आन्तरिक पर्यटकलाई हामीले प्राथमिकता दिने गरेका छौँ, आन्तरिक पर्यटकलाई वास्ता नगरेसम्म नेपालको पर्यटन विकास असम्भव छ” । पछिल्लो समय विभिन्न क्लब तथा सङ्घ संस्थामा आवद्ध भएकाहरु समेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् । लमजुङ सदरमुकाम बेसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । लमजुङको सदरमुकाम वेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । यसअघि अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको थियो । रासस