नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता
राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस
श्री एयरलाइन्सद्वारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट
काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ । छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गरेका थिए । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो । निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ । रासस
‘रेष्टुराँ एण्ड बार एशोसिएशन’द्वारा मिनीसडक महोत्सव असोज १० मा हुने
पोखरा । विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताएका छन् । महोत्सवको मुख्य आकर्षणअन्तर्गत सडकमै विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय र धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकूद तथा पर्यटकीय आकर्षण वृतचित्रको प्रदर्शनी, लाइभ व्याण्ड, पञ्चेबाजाका साथै गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ । पर्यटन प्रबर्धनमा सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको माध्यमबाट नेपालमा रहेको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरमा अभिवृद्धि गर्ने प्रचुर सम्भावना रहेकोले सो अवसरलाई सदुपयोग गरिने बताइएको छ । रासस