विमानस्थल विस्तारका लागि सेनालाई वैकल्पिक स्थानकाे तय

चितवन । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमिन रहेको दाहालले बताएका छन् । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ । सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक महत्वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडि सारिएको छ । ती जमिनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताएकी छिन् । योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ । प्रमुख दाहालले नेपाली सेनाले जुन जमिन उपयुक्त ठान्दछ सोही जमिन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिने बताइन् । केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीलाई डाकेर बैठक गरी निर्णय गर्न सहयोग पुर्याउने सहमति भएको थियो । हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमिन चर्चेका छन् । त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो । विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाई सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताएका छन् । मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरी देशका अन्य विमानस्थलसँग हवाई सम्बन्ध विकास गर्ने बताउँदै आएका छन् । हाल भरतपुरबाट काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । रासस

पर्यटन प्रबद्र्धनका लागि सातै प्रदेशमा बजेट विनियोजन, यसरी हुँदैछ भ्रमण वर्षको तयारी

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल पर्यटन बोर्डले एक अर्ब ६३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम गत आर्थिक वर्षको भन्दा न्यून देखिएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा बोर्डले एक अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बजेट बिनियोजन गरेकोमा यो आवमा १२ करोड रुपैयाँ कम विनियोजन गरेको हो । बोर्डले चालु आर्थिक वर्षमा नेपाल भ्रमण वर्षलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको बताउँदै बोर्डका निर्देशक आदित्य बरालले पर्यटन बजार प्रवद्र्धन तथा व्यवस्थापन, जनसम्पर्क तथा प्रचार प्रसार र अनुसन्धान तथा अनुगमन लगायत शिर्षकमा बजेट विनियोजन गरिएको उनले बताए । पर्यटन बोर्डले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाली मुलुक कम्बोडिया, म्यान्मार,थाइल्याण्ड,इण्डोनेसिया लगायतका गन्तब्यहरुमा बजारीकरण र प्रचार प्रसार गर्ने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । बोर्डले भ्रमण वर्षका लागि १० करोड रुपैयाँ छुट्याएको जनाएको छ । बरालका अनुसार पर्यटन बोर्डको सञ्चालक बोर्डबाट पर्यटकीय गन्तब्यको प्रचार तथा प्रसारका लागि गरिने विज्ञापनका लागि ७ करोड रुपैयाँ विनियोजन गरेको बताए । विज्ञापनका लाागि छुट्याइएको रकमले अन्तर्राष्ट्रिय रुपमा व्यापक प्रचार प्रसार गर्ने जनाइएको छ । विभिन्न शहरहरुमा चल्ने बसहरुमा नेपालको पोस्टर टाँसी पर्यटन प्रर्वद्धन गर्ने कार्यक्रमलाई समेत बजेटले निरन्तरता दिइएको छ । छिमेकी राष्ट्र भारत र चीनका सञ्चार माध्यममा विज्ञापन गरी नेपालका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिने पर्यटन बोर्डले जनाएको छ । ‘वल्र्ड ट्रेल नेटवर्क’ नेपालमा पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धन र प्रचार प्रसारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । बोर्डले सन् २०२० मा ‘वल्र्ड ट्रेल नेटवर्क’ र वल्र्ड इको टुरिजम कन्क्लेभ’ नेपालमा आयोजना हुने जनाइएको छ । त्यसका साथसाथै देशभरका धामी झाँक्रीलाई काठमाडौंमा बोलाएर मिथिला फेस्टिभल आयोजना गर्ने बजेटमा उल्लेख गरिएको छ । धामी झाँक्रीका नाच प्रर्दशनी गर्नुका साथै त्यससँग सम्बन्धित विभिन्न कलाहरुपनि देखाइने छ । भ्रमण वर्षको अवधिमा पर्यटनसँग सम्वन्धित कार्यक्रमहरु आयोजना गरिने छ । बोर्डले चालु आवको बजेट मार्फत तीन वटा पर्यटकीय गन्तव्य सम्भाव्यता अध्ययनको लागि पनि काम गर्ने जनाइएको छ । तीन वटा पर्यटकीय गन्तब्यहरुमा इलामको चिया बगान, चितवन राष्ट्रिय निकुञ्ज भित्र गरिने पर्यटकीय क्रियाकलाप र स्की खेलको पनि सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधारहरुको निर्माण गर्ने जनाइएको छ । चालु आवको बजेटले भैरहवा विमानस्थलको निर्माण चाँडै नै सम्पन्न गरेर बुद्ध धर्मावम्बीहरुलाई उक्त विमानस्थलबाट भित्र्याउने योजना बनाएको छ । विमानस्थललाई सन् २०२० को शुरुमै सञ्चालनमै ल्याउने सरकारको लक्ष्य रहेको छ । यो विमानस्थलले नेपाल भ्रमण वर्ष २०२० लाई महत्वपूर्ण सहयोग गर्ने विश्वास लिइएको छ । वल्र्ड टुरिजम डे, सगरमाथा डे र वल्र्ड जेरिटेज डे लाई विशेष महत्वका साथ आयोजना गर्ने गरिने जनाइएको छ । विभिन्न ठाउँमा मिनी मार्ट नेपाल पर्यटन बोर्डको चालु आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा उल्लेख भए अनुसार बोर्डले उपत्यका भन्दा बाहिरका मिनी मार्ट सञ्चालन गर्ने छ । बोर्डका निर्देशक बरालले उत्कृष्ट पर्यटकीय गन्तब्यहरुको पहिचान गरी विदेशी पर्यटन व्यवसायी तथा विज्ञ, अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरु बोलाएर मार्ट सञ्चालन गर्ने बताए । पोखरा एडभेन्चर टुरिजम मार्ट, पूर्वमा इष्ट ट्राभल मार्ट र पश्चिममा वेष्ट ट्राभल मार्ट सञ्चालन गर्ने बताइएको हो । यसले पनि नेपालको पर्यटन प्रर्वद्धन र प्रचार प्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । निर्देशक बरालले सातै प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि डेढ÷डेढ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सरकारसँगको साझेदारी र सहकार्यमा बजेट ल्याएको बताउँदै उनले पर्यटक भित्र्याउन र सरकारले छनोट गरेका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसारका लागि अभ्यास थालिएको बरालले बताए ।

जेष्ठ नागरिकलाई आजदेखि वायुसेवा निगमको हवाईजहाजमा ५० प्रतिशत छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले ७० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छ । उक्त छुट बुधबारदेखि नै लागू भएको वायुसेवा निगमले जनाएको हाे ।  निगमका सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट बुधबारदेखि नै लिन पाउने निर्णय गरिएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । त्यहीअनुसार नेपाल वायुसेवा निगमले उक्त निर्णय गरेको हो । यसैबीच निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।