अधिकांश तारे होटललाई ग्रीन कार्ड, बस्न सुरक्षीत
काठमाडौँ, ४ जेठ । विनाशकारी भूकम्प र पराकम्पन गइरहँदा पनि राजधानीका अधिकांश तारे होटलको संरचनामा कुनै असर पुगेको छैन । भवन संहिताको पालना गरी निश्चित मापदण्ड अपनाई बनाइएका तारे तथा विदेशी पर्यटकस्तरीय होटल भूकम्प र त्यसको पराकम्पनबाट सुरक्षित छन् । गत वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको भूकम्पपछि होटल तथा रेस्टुराँमा भएको क्षति र बस्न योग्य भए÷नभएबारे प्राविधिक परीक्षण गर्न गठित विज्ञ टोलीले तारे तथा पर्यटकीय होटल सुरक्षित रहेको प्रारम्भिक निष्कर्ष दिएको छ । विकासन्युज/काठमाडौं। पर्यटन विभाग र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा गठित प्राविधिक टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीले करिब ९० प्रतिशत तारे होटल सुरक्षित रहेको बताउनुभयो । प्राविधिक टोलीले काठमाडौँका तारेसहितका १४ वटा होटलका २२ वटा भवनको परीक्षण गरेको थियो । यसमध्ये हायात रिजेन्सी, सोल्टी, ¥याडिसन, अन्नपूर्ण, एभरेष्ट, मल्ल र साङ्ग्रिला होटलमा हरियो स्टिकर (बस्न मिल्ने) टाँसिएको छ । सोल्टी होटलको भवनसम्म पुग्ने बाटोका पर्खाल मर्मत गर्नुपर्ने र क्यासिनो भवनमा सामान्य क्षति भएको टोलीले जनाएको छ । यस्तै हायात रिजेन्सीको क्यासिनो भवनलाई सामान्य मर्मत गर्नुपर्ने भएकाले पहेँलो स्टिकर (कम खतरा) टाँसिएको छ । होटल अन्नपूर्णको क्यासिनो भवनलाई रातो स्टिकर (खतरा) टाँसिएको छ । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसका पाँच भवनमध्ये हेरिटेज ब्लक प्रयोग नगर्न भनिएको छ । ताहचलको ग्रान्ड होटल र सँगैको प्लाटिनम होटल सुरक्षित छन् । लाजिम्पाटको बजेट होटलमा भने पूर्ण रूपमा क्षति भएको छ । प्राविधिक टोलीका संयोजक अधिकारीले पूर्ण क्षति भएकालाई कुनै स्टिकर नटासिँने र रातो स्टिकर पनि मर्मत गर्न सकिने र गर्न नसकिने दुवै हुने उल्लेख गरे । एयरपोर्ट होटलका दोस्रो र तेस्रो तलाका पर्खालहरू चर्केकाले पहेँलो स्टिकर टाँसिएको छ । प्राविधिक परीक्षणमा सबैभन्दा सुरक्षित ठमेलको होटल मनाङ रहेको पाइएको र त्यहाँ पनि हरियो स्टिकर टासिएको संयोजक अधिकारीले बताए । पर्यटन विभागको होटल शाखाको विवरणअनुसार नेपालमा १० वटा पाँचतारे, दुई वटा चारतारे, ३१ वटा तीनतारे, ४८ वटा दुईतारे, ३५ वटा एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल रहेका छन् । पर्यटक सामान्य यही वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा शक्तिशाली पराकम्पनपछि नेपालको पर्यटन क्षेत्रमा विभिन्न असर पुगेको छ । यहाँका पर्यटकीय पुरातात्विक सांस्कृतिक संरचना तथा विश्वलाई चिनाउने प्रख्यात पर्वतारोहण, पदयात्रालगायतका क्षेत्रमा असर परेको छ । यद्यपि भूकम्पपछि पर्यटन क्षेत्रबारे विभिन्न अड्कलबाजी र टीकाटिप्पणी भइरहँदा पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने नेपालका होटलहरूमा खासै असर नपरेको व्यवसायीहरू बताउँछन् । तर अधिकांश तारे होटलमा भने पर्यटकको आवागमन प्रायः शून्य भएकाले व्यवसायमा समस्या आएको बताएका छन् । ¥याडिसन होटलका बजार व्यवस्थापन शाखाका अनुसार बुकिङहरू धैरै रद्द गरिएको र पर्यटक प्रायः शुन्य अवस्थामा रहेका छन् । अहिलेको मौसममा भारत र चीनबाट बढी पर्यटक आउनुपर्ने हो तर भूकम्पको त्रासले पर्यटक ह्वात्तै घटेको छ । ६० देखि ७० प्रतिशत बुकिङ रद्द भएको शाखाले जनाएको छ । होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक साहले भूकम्पपछि अधिकांश तारे तथा पर्यटकस्तरीय होटलहरू सुरक्षित रहेको बताए । “ठूला होटल सुरक्षित छन् खाली पनि छैनन् राहत र उद्धारमा काम गर्न आएका, गैरसरकारी संस्थाका, कूटनीतिक क्षेत्रका व्यक्ति तथा विदेशी सञ्चारकर्मीले गर्दा तारे होटलहरू भरिभराउ नै छन्”, उनले भने । अहिले प्राकृतिक विपत्तिको चुनौतीको सामना गर्दै विदेशी पर्यटकलाई नेपालमा आउने वातावरण सिर्जना गर्न सबै सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ । महासचिव शाहले सामान्यतः अहिले पर्यटक आउने मौसम नभएको र दसैँतिर बढी पर्यटक आउने मौसम भएकाले अबको तीन चार महिनामा सबैखाले तयारी गर्न जरुरी भएको उल्लेख गरे । हानका अनुसार देशभर साना ठूला गरी चार हजारभन्दा बढी होटल रहेका छन्, यीमध्ये ठूला होटलमात्र हजारको हाराहारीमा छन् । ती होटलमा पर्यटकस्तरीय करिब २५ हजार बेड क्षमता रहेका छन् । विनाशकारी भूकम्पले खासगरी पर्वतारोहण, पदयात्रा, दृश्यावलोकन तथा काठमाडौँ उपत्यकाभित्रका पुरातात्विक एवम् सांस्कृतिक सम्पदा क्षेत्रमा ठूलो क्षति पुगेकाले ती क्षेत्रमा पर्यटन पूर्वाधार मर्मत सुधार तथा नवनिर्माणका काम अघि बढाउन लागिएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भूकम्पपछि क्षतिग्रस्त बनेका संरचनाको पुनःनिर्माण तथा पर्यटकीय क्षेत्रहरूको मर्मत र सुधार गरी पर्यटनलाई सामान्य अवस्थामा लैजान विभिन्न कार्ययोजना अघि बढाइएको जानकारी दिए । रासस
पाँच तारे होटलको रुम ४० डलरमा बेच्ने ?-प्रबेश अर्याल
होटल संघमा आवद्ध होटलहरुले मात्रै नै बार्षिक ११ लाख जति पर्यटकलाई सेवा दिन सक्छन् । सन् २०१४ मा सात लाख ८५ हजार पर्यटक आए । होटल क्षमताको ६० प्रतिशत मात्रै पर्यटक नेपाल आईरहेका छन् ।सन् २०१८ सम्ममा स्टार होटलहरुमा २२ सय स्टार रुमहरु थपिँदैछन् । त्यतिबेला पनि पर्यटकको आवागमन यहि अनुपातमा रहने हो भने एक सय डलरमा बेचिएका रुमहरुको मूल्य त्यतिबेला ४० मा झार्नु पर्ने परिस्थिति बन्छ । त्यो बेला नेपालको पर्यटन क्षेत्र धारासायी नै हुन्छ । प्रबेश अर्याल[divider] होटल संघ नेपालको ५० बर्षे इतिहासमा १२ वटा च्याप्टर छन् । यी च्याप्टरहरुमा करिव ११ सय होटल सय जति छन् । फाईभस्टरदेखि ननस्टार सम्मा गरि यी होटलहरुमा झण्डै १३ हजार रुमहरु रहेका छन् । यसमा १७ हजारको हाराहारीमा बेड संख्या रहेको छ । अहिलेको पूर्वाधारका आधारमा बार्षिक नेपालमा झण्डै १३ लाख पर्यटकलाई सेवा प्रदान गर्न सकिन्छ । होटल संघमा आवद्ध होटलहरुले मात्रै नै बार्षिक ११ लाख जति पर्यटकलाई सेवा दिन सक्छन् । तर नेपालमा पर्यटकहरुको आगमन बढिरेहको अवस्था भने छैन् । सन् २०१३ मा सात लाख ९५ हजार पर्यटक नेपाल आएको देखिन्छ । २०१४ मा सात लाख ८५ हजार पर्यटक आए । प्रष्ट छ कि नेपाल आउने पर्यटकहरुको सख्या बढिरहेको छैन । १३ लाख पर्यटकलाई सेवा दिन क्षमता छ तर जम्माजम्मी आठ लाख पर्यटक मात्रै आईरहेका छन् । अर्थात क्षमताको ६० प्रतिशत जति मात्रै पर्यटक नेपाल आईरहेका छन् । केही हिस्सा भने आन्तरिक पर्यटकले ओगटेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ । यसले होटलहरुलाई केही मात्रामा काम उपलब्ध गराएको छ । अफ सिजनमा पनि आन्तरिक पर्यटकहरुका कारण होटलहरुमा भिड देख्न थालिन्छ । नेपालको होटल क्षेत्रमा करिब तीन खर्बको लगानी रहेको छ । पर्यटन क्षेत्रले कुल गार्हस्थ उत्पादनमा पाँच प्रतिशतको हाराहारीमा योगदान पु¥याएको छ । यसका बहुआयामिक पक्षहरुको गहन अध्ययन गर्ने हो भने नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १७÷१८ प्रतिशत पुग्छ । नेपाली अर्थतन्त्रको भविष्य पर्यटन क्षेत्रमै जोडिएको छ । त्यसका लागि पूर्वाधारको विकास, विदेशी लगानी आकर्षित गर्नुपर्छ । छुट र अनुदान दिनुपर्छ । ऐन कानुनलाई सुधार्नु पर्छ । त्यसका साथै नेपालको पर्यटन क्षेत्रको गतिलो मार्केटिङमा अत्यावश्यक देखिन्छ । सन् २०१८ सम्ममा स्टार होटलहरुमा २२ सय स्टार रुमहरु थपिँदैछन् । अहिलेकै अवस्थामा पनि स्टार रुमहरु १५ सय वटा छन् । अब २०१८ मा २२ सय रुम थपिन्छन् । त्यतिबेला पनि पर्यटकको आवागमन यहि अनुपातमा रहने हो भने नेपालको पर्यटन क्षेत्र धारासायी नै हुन्छ । प्रतिस्प्रर्धाकै कारण आज एक सय डलरमा बेचिएका रुमहरुको मूल्य त्यतिबेला ४० मा झार्नु पर्ने परिस्थिति बन्छ । अहिले राजधानीमा एउटा फाईभ स्टार रुमको निर्माण लागत जमिनसहित करिव २ करोड २५ लाख रुपैयाँ छ । यति लगानी गरेर पनि पर्यटक आईदिएनन् भने लगानी कर्ताको हालत कस्तो होला ? कल्पनासम्म गर्न सकिन्न । एउटा स्टार होटलले सेवा प्रारम्भ गरेको १० बर्षसम्म त लगानी उठाउनै लाग्छ । त्यसमा पनि पर्यटकको आगमन संख्या अपेक्षा गरेर अनुसारको हुनु पर्छ नत्र त लगानी उठाउनकै लागि पनि १५÷२० बर्ष कुर्नैपर्छ । पछिल्लो समय ठूला ठूला अन्तराष्ट्रिय लगानी भित्रिरहेको छ । उनीहरुले अनुसन्धान बिनै नेपालमा लगानी गरेको पक्कै पनि होईन । शेष घलेको शेराटन होटल आउँदैछ । राजनीतिक वातावरण, बजारको अवस्थालाई हेरेर मात्रै नेपालमा लगानी गरेका हुन् । नयाँ मेगा प्रोजेक्ट नेपालमा आएका नयाँ र ठूला प्रोजेक्टहरु भनेको छायाँ सेन्टरमा अलफ्ट होटल आएको छ । शेष घलेको शेराटन होटल, दुगड समूहले बिराटनगरमा नयाँ होटल खोल्दैछन् । सांग्रीलाले पनि मनिग्राममा नयाँ होटल खोल्दैछन । भारतको लिला प्यालेसले पनि समिट होटलसँग मिलेर कान्तिपथमा होटल खोल्दैछ । पुरानो फ्रेन्च राजदूतावासमा अजय सुमार्गीको होटल खुल्ने चर्चा पनि सुरु भएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना छ भन्ने निष्कर्ष नै हो । कसैले पनि कमाईको सुनिश्चितता नपाउँदासम्म यत्ति धेरै पैसा खन्याउने हिम्मत गर्दैनन् । टेक्नोफ्रेन्डली पर्यटन प्रवद्र्धन नेपालले पनि आफूलाई टेक्नोलोजी मैत्री बनाउन सकिरहेको छैन । आज नेपालमा बसेर अन्टार्टिकामा के गर्ने भन्ने योजना बनाउने अवश्था आईसकेको छ । हाम्रा अधिकांश विदेशी पर्यटकहरुले अनलाईन बुकिङ गर्छन् । तर पनि नेपाली पर्यटन गन्तब्यहरुको इ–ब्राडिङ गर्न सकिएको छैन् । पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड लथालिङग छ । उसको सेवा सुबिधा चुस्त दुरुस्त छैन् । वेभसाईट पनि अपडेट भएको देखिन्न । हाम्रा मन्त्रालयका वेभसाईटहरुको अवस्था पनि त्यस्तै छ । होटल एसोसियन अफ नेपाल (हान)को वेभसाईट पनि निरन्तर अपडेट गर्न सकिएको छैन । यसको अर्थ हामीले आईटीबेस बिजनेश प्रोमोशन गर्न सकिएको छैन् । हाम्रो राष्ट्रिय ध्वजा वाहक बिमानको अवश्था त्यस्तै लथालिङग छ । पूर्वाधार विकासको खाँचो पर्यटकलाई अन्तराष्ट्रिय विमानस्थलको अवस्थाले दिक्क बनाउँछ । राजधानीका प्रदुषण, लोडसेडिङ लगायतका अभावले थप संकट पु¥याउँछ । खानेपानीको चरम अभाव छ । मेलम्ची अझै आईसकेको छैन । सगरमाथामा चीनले बाटो पु¥याउन लागि सक्यो तर हाम्रो तर्फबाट त्यहाँ पुग्न एक हप्ता लाग्छ । नियती र नियमको धर्म संकट नेपाल बायुसेवा निगमले बल्लबल्ल चीनबाट जहाज ल्याएको छ तर त्यसको चरम बिरोध भैरहेको छ । राजधानीमा सडक विस्तार भयो । त्यहाँ नियम कानुनले छेकेन् न त नियतीले नै छेक्यो । नियती ठिक भयो भने नियमले छेक्दैन् । नेपालमा काम गर्नेहरुको अभाव छ । नियत नै बेठिक भएका मान्छेहरु धेरै छन् । उनीहरु नियमलाई देखाएर काम गर्दैनन् । तर नियम बदल्ने कुरा त सामान्य कुरा हो । गोरा मात्रै पर्यटक होईनन् गोरो छाला भएका युरोपियन अमेरिकनहरुलाई मात्रै पर्यटक सोच्ने प्रवृत्ति छ । यिनीहरु केहि खर्चिला पक्कै पनि हुन्छन् तर अब गोरो छाला भएकाहरु मात्रै पर्यटक रहेनन् । हाम्रा लागि चीन र भारत नै ठूलो बजार हो । भारतले सरकारी कर्मचारीलाई भ्रमण अनिवार्य गरेको छ । त्यो गन्तब्यका रुपमा नेपाललाई पनि राखेको छ । ६७ लाख सरकारी कर्मचारी भएको भारतबाट पाँच प्रतिशत मात्रै पर्यटक आए भने पनि हाम्रा लागि ठुलो उपलब्धि हुन्छ । त्यस्तो पछिल्लो समय चिनियाँ मानिसहरु पनि विदेश घुम्न जाने प्रचलन बढेको छ । हामीले हामीले त्यसलाई पनि क्यास गर्न सक्नु पर्छ । पर्यटकको संख्या बढ्ने वित्तिकै लगानी आफैं आउँछ । भारत र चिन लक्षित प्रोमोशनका अभियान चलाउनु पर्ने देखिन्छ । हवाई सेवालाई पनि बढावा दिन सक्नु पर्छ । आन्तरिक पर्यटनको प्रवद्र्धन आवश्यक केहि समय पहिलेसम्म अफ सिजनमा पर्यटकिय क्षेत्रका होटलहरु सुनसान हुन्थे तर अहिले त्यहाँ अफ सिजनमा पनि आन्तरिक पर्यटकहरुको आगमन बढिरहेको छ । जनताको खर्च गर्न सक्ने क्रयशक्ति पनि बढेको छ । नेपालीहरुमा घुम्ने संस्कृति पनि बढेको छ । यसले आन्तरिक पर्यटनको पनि बजार उल्लेख्य रहेको र त्यसको प्रवद्र्धन आवश्यक बनिसकेको देखाउँछ । सरकारी सहुलियत सरकारले दुर्गम पर्यटकिय क्षेत्रमा कर छुटको सुबिधा दिएको छ । तर त्यो मेगा प्रोजेक्टहरुका लागि मात्रै भयो । रारा तालमा होटल खोल्नेले छुट पाउने भनेको छ । तर के त्यसको नजिकै १० करोड वा ५० लाखकै लगानीमा होटल खोल्नेलाई सरकारले छुट दिनु पर्दैन ? खाली ठूला लगानीलाई मात्रै छुट दिएर पनि हुँदैन । साना लगानी कर्ता र प्रोजेक्टहरुले पनि छुट पाउनु पर्छ । सरकारले ठूला र साना लगानी कर्ताविच विभेद गर्नु हुँदैन् । अनि हाम्रा पर्यटन गन्तब्यहरुको मार्केटिङ तथा उत्कृष्ठ ब्राण्डिङ अत्यावश्यक देखिई सकिएको छ । (अर्याल होटल एसोसियन नेपाल(हान)का कार्यकारी निर्देशक हुन्)
सोल्टि होटेलको लागि सन् २०१४ सम्मानित बर्ष, एक राष्ट्रिय र चार अन्तराष्ट्रिय सम्मान
२५ पुस । नेपालको होटल व्यवसायको चम्किलो ताराको रुपमा स्थापित हुन सफल सोल्टि होटेललाई सन् २०१४ सम्मान प्राप्तिको बर्ष बनेको छ । यो एक बर्षको अवधिमा पाँच तारे यस होटेलले एक राष्ट्रिय र चार वटा अन्तराष्ट्रिय गरि पाँच सम्मान थापेको छ । आर्थिक बर्ष २०६९/७० मा होटल व्यवसाय क्षेत्रबाट सरकारलाई सबैभन्दा बढी कर तिर्ने होटलको रुपमा सोल्टिले सम्मान पाएको हो । होटेलले गत मंसिर १ तेस्रो राष्ट्रीय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागबाट सम्मान पाएको हो । होटेललाई अर्थमन्त्री डा. राम शरण महतले यस्तो सम्मान प्रदान गरेका हुन् । यो अवधिमा होटेलले ट्रिप एडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०१४, ट्रिप एडभाइजर सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड २०१४, सफारी इण्डिया साउथ एसिया ट्राभल अवार्डस् फर वेष्ट लग्जरी होटेल २०१४ र टुडेज ट्राभलर अवार्ड – वेष्ट इन्टरनेशनल विजनेश होटेल इन नेपाल २०१४ पाएको हो । होटलबाट दिइने सेवा तथा उत्पादनको यात्रुहरुबाट प्राप्त समिक्षाको आधारमा ट्रिप एडभाइजर ट्राभलर्स च्वाइस अवार्ड २०१४ प्रदान गरिएको हो । लोकप्रिय होटल बुकिङ वेभ पोर्टलमा आएका समिक्षाको आधारमा ट्रिप एडभाइजरले यस्तो सम्मान दिने गर्दछ । ट्रिप एडभाइजर सर्टिफिकेट अफ एक्सिलेन्स अवार्ड २०१४ पनि ट्रिप एडभाइजरले उसको साइटमा यात्रुहरुबाट गरिएको समिक्षाको आधारमा उत्कृष्ठ होटल व्यवसायीको रुपमा सोल्टिलाई सम्मान दिइएको हो । विश्वभरीका यात्रा सम्बन्धि लेखकहरुको संगठन पयासिफिक एरिया ट्राभल राइटरस् एशोशिएसनले होटेललाई उत्कृष्टको रुपमा सफारी इण्डिया साउथ एसिया ट्राभल अवार्डस् फर वेष्ट लग्जरी होटेल २०१४ बाट सम्मान गरेको हो । त्यस्तै, सोल्टि क्राउन प्लाजा भारतको टुडेज ट्राभलरबाट यात्रा तथा पर्यटन उद्योगमा क्षेत्रमा उत्कृष्ट हुने होटेलको रुपमा सोल्टि टुडेज ट्राभलर अवार्डबाट सम्मानित भएको हो ।