अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस
लोप हुन थालेका कला र संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन (होमस्टे)
काठमाडौं । बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन (होमस्टे)ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याएका छन् । घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो । विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पर्यटकीय जिल्ला लमजुङमा आधुनिक समयको विकास क्रमसँगै २०५७ सालबाट पर्यटकीय गाउँ घलेगाउँबाट होमस्टे पर्यटनको शुरुआत भई जिल्लाको काउलेपानी, राइनासकोट, सिउरुङ, ढगैँ, नरुवल पाखाथोक, खासुर, भुस्मे, ताघ्रिङ, तुर्लुङकोट, भुजुङलगायत एक दर्जनभन्दा बढी स्थानमा होमस्टेहरु सञ्चालन भएका छन् । विशेषगरी गुरुङ, नेवार, मगर, तामाङ, भुजेल साथै दलित समुदायले समेत होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा पर्यटकहरुको सङ्ख्यामा दिनहुँ वृद्वि हुँदै गर्दा उनीहरुलाई आफ्नो संस्कार, संस्कृति देखाउने गरेको र यसले संस्कार संस्कृतिलगायत गुरुङ समुदायको मौलिक परम्परागतको संरक्षण गरेको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रेमबहादुर घलेले बताए । “होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई गरिने स्वागतका लागि बाटोमा लाइन लागेर गुरुङ संस्कृतिअनुसार सेतो टीका, फूलगुच्छा, गिलासमा लोकल रक्सी राखी पाहुनालाई गाउँलेले नै तीन पटक खुवाइदिएर स्वागत तथा सम्मान गर्छौँ”, उनले भने । बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे सञ्चालक देवबहादुर घले भन्छन्, “बाउबाजेको पालोपछि होमस्टे सञ्चालन हुनु अघिसम्म चासो दिन छोडिसकेको जस्तै भएको थियो । हाम्रो गुरुङ संस्कृति लोप हुँदै गएको अवस्थामा होमस्टेले संरक्षण गरेको छ ।” काउलेपानी होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई मनोरञ्जन दिनका लागि तथा गुरुङ संस्कृति चिनाउन तथा संरक्षण गर्न लोपोन्मुख घाँटु नाच, कौरा नाच, झ्याउरे नाच देखाउने गरेको उनको भनाइ छ । यस नाच देखेर आन्तरिक तथा बाह्य पर्यटकहरु पनि रमाउँछन्, गुरुङ संस्कृतिको पनि भावी पुस्तासम्म जोगाइराख्न होमस्टेबाट मद्दत पुगेको काउलेपानीका गुरुङ होमस्टे सञ्चालकहरु बताउँछन् । काउलेपानीमा नेवार समुदायले पनि होमस्टे सञ्चालनमा ल्याएका छन् । काउलेपानी आइपुगेका पर्यटकलाई नेवारको चलनअनुसार स्वागत गर्ने गर्दछन् । काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छन्, “नेवार समुदायका होमस्टेमा परेका पर्यटकलाई परम्परागत नेवारी खाजाका परिकारहरु बनाएर पर्यटकहरुलाई दिने गर्छौं ।” उनका अनुसार अधिकांश पर्यटकले नेवारी परिकारहरु रुचाउँछन् । सो होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकारहरु सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरालगायतका परम्परागत खाजाहरु बनाएर खुवाउने गर्दछन् । यसले आम्दानीका साथै नेवारी परम्परागत परिकारहरुको संरक्षण गर्न पनि सहयोग पुगेको छ । पर्यटकलाई नेवारको परम्परागत संस्कृति लोपोन्मुख लाखे नाच, गाई जात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायतका संस्कृतिका नाचहरु देखाउने गर्नाले नेवार समुदायको लोप हुँदै गएको संस्कृति नयाँ पुस्ताका लागि पनि बचाइराख्न होमस्टेले ठूलो भूमिका खेल्ने गरेको होमस्टे सञ्चालक श्रेष्ठले बताएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ होमस्टेका सञ्चालक गौरी गुरुङले भने, “हाम्रो संस्कृतिबारे आन्तरिक तथा बाह्य पर्यटकले अरूलाई पनि प्रचार गर्छन् जसले गर्दा हाम्रो संस्कृति जोगाइराख्नका लागि होमस्टेले टेवा पुर्याएको महसुस गरेका छौँ ।” विस्तारै रोधी बस्ने परम्परागत संस्कृतिलाई जोगाउन धौधौ भइरहेको थियो, होमस्टे शुरु भएसँगै अधिकांश पर्यटकको पनि आगमन भइरहेकाले पर्यटकहरुसँग रोधी बस्ने गरेका छन् । गुरुङ संस्कृतिको संरक्षण गर्न होमस्टेले ठूलो भूमिका खेलेको सिउरुङ गाउँका होमस्टे सञ्चालक उमरबहादुर गुरुङले बताए । त्यस्तै, बेँसीशहर नगरपालिका–२ स्थित नरुवाल पाखाथोकमा मगरगाउँ होमस्टेले समेत मगरको कला, संस्कार संस्कृतिको संरक्षणमा टेवा पुगेको मगरगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर मगरले बताउँछन् । उनका अनुसार पर्यटकका लागि मगरहरुको कौरा नाच, चुट्का नाच, झाम्रे (झ्याउरे) नाचलगायत विभिन्न नृत्य देखाउने गरिन्छ । मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा सञ्चालित तामाङ होमस्टेमा आफ्नो जातीय वंशभूषा, संस्कृति र नाच देखाउनाले तामाङ संस्कृतिको समेत संरक्षण भएको तामाङ होमस्टेका सञ्चालक होमराज तामाङले बताएका छन् । रासस
‘पर्यटन क्षेत्रको वजेट घटेको होईन, स्थानीय निकायमा गएको हो’
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको पर्यटन क्षेत्रको विकासमा सामुहिक प्रयास आवश्यक रहेको वताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को छैठौं अधिवेशन कार्यक्रममा बोल्दै सरकार, व्यवसायी र स्थानीय जनसमुदायको संयुक्त प्रयासले पर्यटनको विकास सम्भव हुने उनले वताए । “कहिलेकाँही व्यवसायी र स्थानिय समुदायको विचमा कसले अधिकार वढि पाउने भन्नेमा द्वन्द्व हुने गरेको छ”–मन्त्री बस्नेतले भने–“सरकार सवैलाई समन्वय गरेर अगाडी बढ्छ ।” मन्त्री बस्नेतले पर्यटन क्षेत्रको वजेट घटेको नभई कतिपय कार्यक्रमहरु प्रदेश र स्थानिय निकायमा गएका कारण त्यस्तो देखिएको वताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेकै अवस्थामा २० लाख पर्यटक नेपाल भित्र्याउन सम्भव नरहेको वताए । अहिलेकै तयारीले २० लाख पर्यटक रेल र पानीजहाज जस्तै हो,त्यसैले सरकारले अझै पनि सहि योजना र तयारी अगाडी ल्याउनु पर्ने वताए । त्यस्तै नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले नेपालमा सही कुरा भन्दा नकारात्मक कुराहरुको वढि प्रचार हुने गरेको वताए । बैद्यले नेपाल भ्रमण वर्षको तयारीका लागी आँफुहरुले काम गरिरहेको वताए । भर्खरै मात्र वजेट निकासा भएको कारण काम गर्न समस्या भएको उनले वताए । नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कठिन परिस्थितिमा पनि आँफुहरुले नेपाल पर्यटन वर्ष सफल पारेको वताए । पर्यटन विभागका महानिर्देशक ढुन्डुराज मिमिरेले पर्यटन क्षेत्रको नितिगत स्धारमा आँफुले काम गरिरहेको वताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले नेपाल भ्रमण वषले नेपाल पर्यटन वोर्डलाई नचिनेको वताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया,टानका अध्यक्ष नवराज दाहाल,भिटोभ नेपालका पूर्व अध्यक्ष कमल सापकोटा लगायतले पर्यटन मैत्री वातावरण निर्माणमा सरकार र नीजि क्षेत्र सम्पूर्ण मिलेर अगाडी बढ्न्पर्ने वताए । त्यस्तै नाटोजका अध्यक्ष शिव अधिकारीले राष्ट्रिय पर्यटन पत्रकार संघले पर्यटन क्षेत्रका विभिन्न समसामयिक विषयवस्तुहरुमा बहस र छलफल चलाउँदै आएको वताए । नेपाल भ्रमण वर्ष सफल पार्न देशभर पर्यटनमैत्री वातावरण निर्माण गर्नुपर्ने उनले वताए । कार्यक्रममा लाईफटाईम अचिभमेण्ट अवार्डवाट ठमेल पर्यटन विकास परिषदकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङलाई प्रदान गरियो । त्यस्तै पर्यटन व्यवसायी तथा समाजसेवीहरु जगतबहादुर गुरुङ, रामकुमार अधिकारी,रामकृष्ण तिमिल्सिना, मिङमा शेर्पा, माधवप्रकाश सुवेदी र शन्तलाल तामाङलाई टुरिजम अवार्ड प्रदान गरियो ।