६५९ जनाले गरे सगरमाथा आरोहण, भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीसहित ४४ वटा आरोहण दलका एक हजार २४ जनाले विभागबाट आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सगरमाथा आरोहण गर्न सफल भएको विभागले जनाएको छ । भारत र चीनपछि अमेरिकन आरोहीको सङ्ख्या बढी छ । अमेरिकाका ४२ जनाले सगरमाथा आरोहण गरेका छन् । संयुक्त अधिराज्य बेलायतका २९ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सगरमाथा आरोहण गर्नेमध्ये ६७ जना महिला आरोही छन् । जसमा सबैभन्दा बढी १८ जना चिनियाँ महिला आरोही छन् । नेपाली महिला आरोही ६ जनाले सगरमाथा चढेको विभागको तथ्याङ्क छ । नेपालसहित ४९ देशका आरोहीले सगरमाथा आरोहणमा गएका थिए । जसमध्ये छ मुलुक संयुक्त अरब इमिरेट, कोरिया, स्पेन, डोमिनिकन रिपब्लिक, इरान, पेरु र रिपब्लिक अफ बोत्स्वानाका आरोही सगरमाथा चढ्न असफल भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको पनि विभागले उल्लेख गरेको छ । रासस

पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटककाे सङ्ख्या बढ्याे

काठमाडौं । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल बाटिका रिसोर्ट, पोखराका सञ्चालक सन्तोष पोखरेलका अनुसार पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश नेपालको भैरहवा सुनौली नाका हुँदै आउने गरेका छन् । तालैतालको शहर पोखरा र यहाँ नजिकै रहेको हिमाल आदिको दृश्यावलोकन गर्दै पर्यटक रमाउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न जाने गरेको पोखरेलले जानकारी दिएका छन् । पोखरामा भारतीय पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डसहित यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गरेको प्रर्वद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताएका हुन् । “यस समयमा विशेषतः दक्षिण भारत, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरप्रदेश, विहार लगायतका स्थानबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भने, “भौगोलिक निकटता, धार्मिक एवं सांस्कृतिक स्थलको बाहुल्यता आदिका कारण पनि भारतीय पर्यटकका लागि नेपाल घुम्ने उपयुक्त स्थल हो ।” भारतीय पर्यटक पोखरामा रहेका धार्मिकस्थलको दर्शनका साथै यहाँबाट बाग्लुङ कालिका, गलेश्वर धाम हुँदै मुक्तिनाथसमेतको दर्शनका लागि पुग्ने गरेका छन् । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले पनि भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । पछिल्ला दिन भारतीय पर्यटकको आगमनले पोखराको होटेल व्यवसायमा पनि उत्साह थपेको होटेल एशोसिएन अफ नेपाल(हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । यतिखेर पोखरा आएका पर्यटकमध्ये अधिकांशले दुई रात पोखरामा बिताउने गरेको उनको भनाइ छ । अध्यक्ष तुलाचनका अनुसार पोखरामा मात्रै पर्यटक लक्षित होटेलमा रु दुई खर्बभन्दा बढी लगानी पुगिसकेको छ । पोखरामा भण्डै ७०० भन्दाबढी पर्यटक लक्षित होटेल रहेको उनले जानकारी दिएका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये कोही अत्यन्त सुविधा सम्पन्न त कोही मध्यमस्तरका होटेलमा बस्ने गरेको यहाँका व्यवसायीको अनुभव छ । केही दिनयता बढेको भारतीय पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको होटल रानीवन अर्किट, लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए । यस याममा खासै उल्लेख्य सङ्ख्यामा पर्यटक नआउने गरेको भए पनि केही दिनयता भारतीय पर्यटकको आगमनले व्यवसायमा उत्साह थपेको भुजेलले बताएका छन् । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुन नसकेको व्यवसायी बताउँछन् । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकामा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका छन् । रासस

जलबिरे झरनामा रक क्लाइम्बिङ, पर्यटकको आवागमन बढ्ने

चितवन । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । ग्रुपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताए । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताए । गुरुङले भने, “यहाँ रक क्लाइम्बिङ सञ्चालन गर्न सकिनेछ, हामीले गत शनिबार मात्र सफल परीक्षण गरेका छौँ, यहाँ सुरक्षाका लागि ‘सिब्राकेट’, ‘रक एङ्गल’ र ‘मङ्की लेडर’ प्रयोग गर्न सकिनेछ भने ढुङ्गा झर्ने समस्या रोक्न ‘रक नेट’को प्रयोग गर्न सकिनेछ ।” बालबालिकाको मनोरञ्जनका लागि छुट्टै क्यानोनिङको व्यवस्थासमेत गर्न सकिने बताइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जलबिरे झरनाको विकासका लागि जिल्ला विकास समिति हुँदादेखि नै विभिन्न काम हुँदै आएको र अहिले समन्वय समितिले प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि पहल गरिरहेको बताए । चट्टान आरोहण सञ्चालन गरेपछि पर्यटकको आवागमन बढ्नेछ । गर्मी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बढेको जलबिरे लामो झरनाका अध्यक्ष देवकुमार गुरुङले बताए । इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले एक वर्षदेखि घुमौँ इच्छाकामना अभियान सञ्चालन गरिरहेको छ । यस अवसरमा जलबिरे झरनामा चट्टान आरोहणको परीक्षण गरिएको हो । सो झरनामा पर्यटक आकर्षित गर्न के कस्ता सम्भावना छन् भनेर पत्ता लगाउन उक्त आरोहणको परीक्षण गरिएको इच्छाकामना घुमौँ अभियानका चित्रबहादुर गुरुङले बताए । गुरुङका अनुसार यसअघि झरनाको तल्लो भागमा मात्र क्यानोनिङ गरिँदै आएको थियो । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ । यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घण्टा हिँडेर वा सवारीसाधनबाटै पनि पुग्न सकिन्छ । रासस