हिमालय एअरलाइन्सले साउन ६ गतेदेखि ढाका उडान सुरु गर्दै

काठमाडौँ । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ ढाका/ काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०-२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०-२०० को तीनवटा जहाज रहेको छ । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बङ्गलादेश जाने दुवै प्रकृतिका यात्रुहका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बङ्गलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । एअरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई÷आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स, कति पर्यटक नेपाल भित्रिए ?

सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो । आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ । बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन् । सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो । निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ । उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ । निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमले हाल दुई वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । निगमको एक मात्र बोइङ ७५७ बिक्रीका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ । यस्तै सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार १३२ पर्यटक नेपाल आएका थिए । सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६३३ र एक लाख चार हजार ६६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र संयुक्त अधिराज्य बेलायत पाँचौँ स्थानमा रहेका छन् । सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए । अमेरिका तेस्रो र श्रीलङ्का चौथो, बेलायत पाँचौ स्थानमा रहेको थियो । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो । यो सङ्ख्यामध्ये पुरुष छ लाख २४ हजार ९२८ र महिला पाँच लाख ४८ हजार १४४ रहेका थिए । अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो । पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो । नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए । सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए । रासस

कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा, कूल बजेट करिब साढे दुई अर्ब 

सुर्खेत । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र सङ्घीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रर्वद्धनात्मक क्रियाकलापमा जोड दिएको छ । मन्त्री नन्दसिंह बुढाले आर्थिक वर्ष २०७६/७७ मा महत्वपूर्ण ३८ गन्तव्यमात्र पूर्वाधार विकासमा बजेट विनियोजन गरेको जानकारी दिएका छन् । “प्रदेश पर्यटन बोर्डको गठनपश्चात् नयाँ पर्यटकीय गन्तव्यको गुरुयोजना बनाएर बजेट परिचालन गर्नेछौँ”, मन्त्री बुढाले भने, “सीमित बजेटका कारण सबै गन्तव्य क्षेत्रमा बजेट विनियोजन गर्न सकिएन, आगामी वर्षहरुमा क्रमशः बजेट विनियोजन गरिनेछ ।” मन्त्रालयले चालू आर्थिक वर्षमा सञ्चालन गरेको हुम्ला, मुुगु र डोल्पाका ज्येष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई हवाई टिकटमा सहुलियत अनुदान दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ भने आव २०७६/७७ मा मन्त्रालयको कूल बजेट रु दुई अर्ब ४५ करोड छ लाख ७८ हजार रहेको छ । रासस