चैत पहिलो साताबाट प्याराग्लाइडिङको परीक्षण उडान, सूर्यविनायकलाई पर्यटकीय गन्तव्य बनाइने
भक्तपुर । सूर्यविनायक नगरपालिकाको पर्यटकीय क्षेत्र रानीकोटबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएसँगै अब भक्तपुरमा व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान हुने भएको छ । आगामी चैत पहिलो साताबाट आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी प्याराग्लाइडिङको उडान भर्ने गरी पर्यटन मन्त्रालयसँग स्वीकृति लिई उडान भर्ने तयारी गरेको गुण्डु इन्टरनेसनल प्याराग्लाइडिङका अध्यक्ष निर्भयबाबु प्रसाईंले जानकारी दिए । सूर्यविनायकलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा प्याराग्लाइडिङको उडान सञ्चालन हुने भएको हो । अध्यक्ष प्रसाईले भने, “भक्तपुरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यका साथ प्याराग्लाइडिङ शुरु गर्न सांसद बस्नेतले हामीलाई आग्रह गरे, उनले रानीकोटबाट उडाएर गुण्डुमा अवतरण गर्ने गरी प्याराग्लाइडिङको उडान भर्न सक्ने सुझाव दिएपछि हामीले लगानी ग¥यौँ, कानूनी प्रक्रिया पूरा गरेर चैत पहिलो सातासम्म प्याराग्लाइडिङको उडान शुरु गर्नेछौँ ।” प्याराग्लाइडिङ सञ्चालनका लागि करीब रु तीन करोडको लगानी रहेको बताउँदै उनले गत शनिबार रानीकोटबाट परीक्षणका रुपमा आठ प्याराग्लाइडिङको उडान सफलतापूर्वक गुण्डुमा अवतरण गरिएकाले अब चैतदेखि नै उडान शुरु गर्ने गरी तयारी गरेको उनको भनाइ छ । सूर्यविनायक–८ को पर्यटकीयस्थल रानीकोटबाट उडाएर वडा नं ७ गुण्डु वडाकार्यालय नजिकै अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । यसका लागि गुण्डुमा १५ रोपनी जग्गा भाडामा लिएको प्रसाईंले बताए । “सात प्याराग्लाइडिङबाट दैनिक ४० उडान भर्ने गरी तयारी गरिएको छ”, उनले भन्नुभयो । उनले भने, “रानीकोटबाट उडेको प्याराग्लाइडिङ गुण्डुमा अवतरण गराउनेछौँ, आकाशमा ३० देखि ५० मिनेटसम्म उड्ने गरी व्यवस्थापन गरेका छौँ, यसको माग बढेमा थप गर्दै लैजाने छौँ ।” प्याराग्लाइडिङबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य, काँठक्षेत्रका मनोरम दृश्य, हिमालका दृश्यावलोकन गर्न सकिन्छ भने पाइलटबाबा आश्रम, डोलेश्वर, अनन्तलिङ्गेश्वर मन्दिर, निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय चिडियाखानालगायतलाई नजिकबाट नियाल्न सकिन्छ । प्याराग्लाइडिङको सफल उडानसँगै घोडा दौड, साइकलिङमार्फत पर्यटकलाई आकर्षित पार्ने विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालनमा ल्याउने तयारी छ । सांसद बस्नेतले भक्तपुरमा पर्यटनको विकास गर्न र सरकारले ल्याएको पर्यटन वर्ष २०२० सफल पार्न प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन आफूले पहल गरेको बताए । उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा प्रशस्त पर्यटकीय आकर्षणका गन्तव्य रहेकाले ती क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन प्याराग्लाइडिङले महत्वपूर्ण सहयोग पुर्याउने बतात । “रानीकोट र अनन्तलिङ्गेश्वर मन्दिरको डाँडामा भ्यूटावर बन्दैछ, यहाँ घरबासदेखि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने गरी अवधारणा र योजना अगाडि बढाएका छौँ, सूर्यविनायकलाई पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनाउँदैछौँ ।” सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरक्षेत्रलाई पूर्वाधार विकास र पर्यटन विकासको वर्षको रुपमा अगाडि बढाइएको बताए । उनले नागरिकको आर्थिक अवस्था उकास्ने गरी पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले काम थालेको बताए । रासस
भोजपुर टेम्केडाँडाको ‘महभीर झर्ना’आकर्षणको केन्द्र बन्दै
काठमाडौं । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिको जनाएको छ । गाउँपालिकाले यसको विकास गरेर आयआर्जनको स्रोत सङ्कलन गर्ने लक्ष्यका साथ यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि पर्यटकलाई पुग्न निकै सहज भएसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर भीरमौरीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् । यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीयको भनाइ छ । स्थानीय शिव राईले भने “यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो, तर गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।” स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले करीब रु ६ लाख बजेट विनियोजन गरेर सो क्षेत्रमा पुग्नका लागि पदमार्ग निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । गाउँपालिका अध्यक्ष धु्रवराज राईका अुसार गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि चिया नास्तालगायत कुरा खानाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँने जानकारी दिए । रासस
बेलायतकी महारानी एलिजाबेथ आउँदा तामझाम भएको मेघौली विमानस्थल गौचरन बन्ने खतरा
भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न सकेन । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । त्यसपछि मेघौली विमानस्थलमा नियमित उडान छैन । विमानस्थल यतिबेला गौचरनमा परिणत हुने खतरा बढ्दै गएको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । भरतपुर महानगरपालिका–२७ का वडाध्यक्ष गोविन्द तामाङले टाइगरटप्स होटल बन्द भएपछि विमानस्थल अस्तव्यस्त बनेको बताए । “विमानस्थल नियमिति सञ्चालनका लागि विभिन्न निकायमा पहल भइरहेको छ”, तामाङले भने, “होटल व्यवसायी र वायुसेवाबीच तालमेल नमिलेका कारण पनि विमानस्थल सञ्चालन हुनसकेको छैन ।” उनले भरतपुर विमानस्थल साँघुरो भइरहँदा त्यसको विकल्पमा मेघौली विमानस्थल भएको बताए । राजनीतिक दलको चुनावी नारादेखि चितवनको पर्यटन प्रवद्र्धनका योजनामा जिल्लाको निकै पुरानो मेघौली विमानस्थल छुटेको हुँदैन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही क्षेत्रबाट चुनाव लडेपछि सो विमानस्थल नियमित हुने आशा स्थानीयवासीको थियो । “विमानस्थल नियमित हुने छाँट छैन”, स्थानीयवासी दीपक थापामगरले भने, “कमिसनको खेलका कारण विमानस्थल सञ्चालन हुनसकेको छैन ।” नेपाल एयरलाइन्सले यहाँबाट उडान भर्दा भरतपुर विमानस्थलभन्दा सस्तो भाडा छ, तर पनि नियमित नभएको उनले गुनासो गरे । “कुनै बेला मेघौली एयरपोर्टमा १० वटासम्म जहाज उड्ने उत्रने गर्दथे । सबै जहाजमा टाइगरटप्स जङ्गल लजमा आउने खास गरेर विदेशी पाहुना नै हुने गर्दथे”, विगतको अनुभव सुनाउँदै थापामगरले भने । उनले चितवनको दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको मेघौलीलाई नेपाल सरकारबाटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नराखिनु विडम्बना भएको बताए । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमीनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । काठमाडौँबाट उडेको लगभग आधा घण्टामा विमान मेघौली पुग्छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार दैनिक एउटा विमान मेघौली विमानस्थलबाट सञ्चालन हुनसक्ने अवस्था रहे पनि विविध कारणले नियमिति सञ्चालन सम्भव नभएको बताए । “कहिलेकाहीँ ‘गु्रप चार्टर’ हुने बेला भरतपुरबाट नै कर्मचारी गएर उडान भर्ने गरेका छन्”, उनले भने, “गत वर्ष यही समयमा नियमित उडान गर्ने भनेको विमानस्थलले यात्रु कम भएपछि बन्द गरेको हो ।” विमानस्थलमा होटल टाइगरटप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्तीपोलो खेलसमेत हुने गरेको थियो । अहिले मेघौलीमा हात्तीपोलो खेल पनि बन्द भएको छ । मेघौलीदेखि जगतपुरसम्मको क्षेत्रमा राम्रा र ठूला ५० बढी पर्यटकीय होटल छन् । “यो क्षेत्रमा विदेशी पर्यटक लगातार आइरहेका छन्”, पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भने, “हप्ताको तीन दिनमात्र सञ्चालन गरेका कारण नेपाल एयरलायन्सको विमान पनि नियमित हुन सकेन ।” उनले सधैँ चर्चा भए पनि मेघौली विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि ठोस योजना बन्न नसकेको बताए । पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि मेघौली विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको मेघौलीका पर्यटन व्यवसायी दिलीप पाण्डेको गुनासो छ । विमानस्थल नियमित भए चितवन आउने आधा पर्यटक मेघौली आउने उनले बताए । नेपाल आउने विदेशी पर्यटकको २० प्रतिशत मात्र चितवन आउने गरेका छन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ३३ प्रतिशत पर्यटक चितवन भित्र्याउने लक्ष्य राखिएको छ । रासस