तराईको लुक्ला भनेर चिनिने भरतपुर विमानस्थल विस्तार गर्ने तयारी

चितवन । भरतपुर विमानस्थल विस्तार गर्ने प्रक्रिया शुरु भएको छ । तराईको लुक्ला भनेर चिनिने जोखिमपूर्ण मानिएको यस विमानस्थलको विस्तारका लागि सरोकार पक्ष सक्रिय रुपमा लागि परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, भरतपुर महानगरपालिकासँगै चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सबैको ध्यान विमानस्थल विस्तारमा केन्द्रित भएको छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ । भरतपुर विमानस्थल प्रमुख पवनकुमार गौतमका अनुसार हाल धावनमार्ग एक हजार दुई सय मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग भएको छ । जसका कारण जहाजले सहज उडान र अवतरण गर्न कठिन भएको छ, भने जहाजभरी यात्रु बोक्न सकेका छैनन् । यसले पाटपूर्जामा समेत असर पारेको छ । विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको उनले बताए । गौतमका अनुसार मन्त्री अधिकारीसहित स्थानीय तहका प्रमुख विमानस्थल विस्तारका लागि सकारात्मक भएर लागि परेका छन् । दुई साताअघि यहाँ आएनु भएका मन्त्री अधिकारी चढेकै जहाज सहज अवतरण हुन कठिन भएको थियो । त्यसपछि मन्त्री अधिकारीले तत्कालै महानगर प्रमुख र स्थानीय सुरक्षा निकायका प्रमुखसँग छलफल गरी यसको विस्तार प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिनुभएको गौतमले बताए । गौतमको नेतृत्वमा समिति गठन गरी जहाज अवतरण र उडानमा समस्या परेका संरचना अध्ययनका लागि काम गर्न निर्देशन दिइएको छ । समितिले छिट्टै काम सम्पन्न गरी तत्कालको समस्या हल गर्ने गौतमले बताए । केही घरका छतमा रहेको ट्रस्ट हटाएर विद्युतीय तार भूमिगत गर्न सकेमा हालको समस्या समाधान हुने उनले बताए । दीर्घकालीन विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी गरिएको छ । सो ठाउँ विस्तार गर्दा ८ सय देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपालिकाको बैठकले विमानस्थल विस्तारका लागि पहल गर्ने निर्णय गरेको बताए । भरतपुरबाट करीब १५० किलोमिटरको दुरीमा चारै तर्फ अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भरतपुरको विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउने पहल शुरु भएको दाहालले बताए । नजिकै रहेको सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि विभागीयमन्त्री समेत लागिरहनु भएकाले यो विमानस्थललाई चाँडै विस्तार गर्न सकिने प्रमुख दाहालले बताए । जिल्लामा क्रिकेट रङ्गशाला, सिटी हलजस्ता ठूला पूर्वाधार बन्ने तयारीमा रहेको र पर्यटकीय केन्द्र भएकाले ७२ सिट क्षमता भएको जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्ने दाहालको भनाइ छ । उनका अनुसार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड समेत विमानस्थल विस्तार गर्न लागि परेका छन् । प्रचण्डको निर्वाचन क्षेत्र र गृहजिल्ला चितवन नै भएकाले यस विमानस्थललाई विस्तार र सुरक्षित गर्नुपर्नेमा उनको पनि जोड छ । नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोख्रेलको नेतृत्वमा आएको एक टोलीले विमानस्थलको अध्ययन गरी फर्किएको छ । पोख्रेलका अनुसार अहिले विमानस्थल जोखिमपूर्ण ढङ्गले सञ्चालनमा आएको छ । विस्तार गर्न नसकिए बन्द गर्नुपर्ने अवस्था रहेकाले सरोकारवाला सबैको ध्यान विमानस्थलतर्फ केन्द्रीत भएको बताउँदै उनले यसलाई स्तरीय विमानस्थल बनाउन सकिन्छ भने । प्राधिकरणले देशका अन्य विमानस्थलको स्तरोन्नती गरिरहेको भन्दै उहाँले विस्तार गर्ने ठाउँ पाएमा रात्रिकालीन उडान भर्नसक्ने गरी स्तरीय विमानस्थल बनाउन सकिने बताए । उच्च पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकास र समृद्धिका लागि पनि ठूला जहाज अवतरण गर्नसक्ने गरी विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए । विस्तार गर्ने ठाउँ उपलब्ध भएमा गुरुयोजना निर्माण गरी प्राधिकरणले काम गर्ने पनि उनले बताए । विसं २०१५ मा निर्माण थालेर तत्कालीन हवाई विभागले विसं २०१८ मङ्सिर १२ गतेबाट भरतपुर विमानस्थल सञ्चालनमा ल्याएको थियो । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका समयमा निकै चाप बेहोरेको यस विमानस्थलबाट हाल नौवटा उडान काठमाडौँ र एउटा उडान पोखरा गरिँदै आएको छ । विमानस्थलले दैनिक ७५० देखि आठ सय जनालाई सेवा दिँदै आएको छ ।

‘भ्यालेनटाइन डे’ मा चन्द्रागिरिमा विशेष कार्यक्रम, प्रत्येक जोडीले ४००० सम्मको प्याकेज पाउने

चन्द्रागिरि । चन्द्रागिरि हिल्सले प्रणय दिवस(भ्यालेनटाइन डे)को अवसरमा आगामी फागुन २ गते (१४ फेब्रुअरी) मनोरन्जनात्मक कार्यक्रम गर्ने भएको छन् । कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रतिजोडी ३,९९९ रुपैयाँ तथा प्रतिव्यक्ति २,४९९ रुपैयाँको प्याकेज पनि प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, विशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्ने छन् । आयोजकका अनुसार कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजेसम्म चन्द्रागिरिको टप स्टेशनमा अवस्थित बारमा संचालन हुने छ ।

अन्तर्राष्ट्रिय उडानमा अब ३ निजी कम्पनी, श्री एयरलाईन्सले ७४ सिट क्षमताको २ जहाज फागुनमा ल्याउने

काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ । २ वटा निजी जहाज कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेकोमा अब श्री एयरलाइन्स पनि थपिएको हो । हाल आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर स्वीकृती प्रदान गरको हो । एयरलाई फिक्स विङस् पंखा जडित जहाज मार्फत उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ । कम्पनीले अन्तिम स्वीकृतिका लागि नागरिक उड्ययन प्राधिकरणमा निवेदन दिएको छ । निवेदनमा क्यानले मागेको मापदण्ड पुरा गरेपछि एयरले अन्तिम स्वीकृति पाउने कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । यो प्रक्रियाको लागि करिब ३ महिना लाग्नेछ । मानन्धरका अनुसार क्यानको मापदण्ड पुरा गर्न सकिए ३ महिनाभित्र अनुमति प्राप्त हुनेछ । तर मन्त्रालयले अनुमति दिइसकेपछि क्यानमा धेरै समय नरोकिने सुचना अधिकारी त्रिलोचन पौडेलले बताए । ‘मन्त्रालयले स्वीकृति दिइसकेको छ हामीले अब मापदण्ड पुगे नपुगेको मात्र हेर्ने हो’ पौडेलले विकासन्युजसँग भने- ‘क्यानमा धेरै समय लाग्दैन ।’ मन्त्रालयले एयरलाई हवाई सम्झौता नभएको देशमा पनि जहाज चार्टर गर्न पाउने गरी स्वीकृति प्रदान गरको हो । यसबाट हवाई सम्झौता भएका मुलुकहरुसँग नियमित उडान गर्न पाउनेछ भने जुनसुकै देशमा जहाज चार्टर गर्न पाउनेछ । २० वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आइरहेको कम्पनीलाई चार्टर गर्ने गरी अन्तराष्ट्रिय इजाजत पाएको हो । अहिले बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । कम्पनीले अहिले २ वटा नयाँ जहाज थप्ने तयारी गरिहेको छ । जहाज फागुन महिनाको अन्त्यसम्म आइपुग्ने प्रबन्धक मानन्धरले जानकारी दिए । ७४ सिट क्षमताको २ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, फागुनमा जहाज आएपछि सोहि जहाजले अन्तर्राष्ट्रिय चार्टर गर्न पाउनेछ । विमान खरिदको काम अघि अन्तिम चरणमा पुगेको एयरलाइन्स प्रमुख सुधिर मित्तलले बताए । उनका अनुसार विमान खरिदको लागि कम्पनीले डेढ अर्ब रुपैंया भन्दा बढी खर्च गर्नेछ । ४ वटा जहाजले आन्तरिक उडान गरिरहेको एयरलाइन्सको २ वटा जहाज काठमाडौं आएपछि जहाज संख्या ६ पुग्नेछ । सुरुमा दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग गर्ने कम्पनीको तयारी रहेको छ भने वैकल्पिक रुपमा सोहि जहाजलाई अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्नेछ । हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ । कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ ।