नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो, वाइड बडी जहाजबाट उडान भर्ने

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाण-पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ-ओसाका उडानका लागि क्यानबाट शुक्रबार एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । निगमले करीब आठ महिनाअघि भिन्न मितिमा दुई वाइड बडी जहाज खरिद गरेको थियो । हाल पुरानै गन्तव्यमा उडान भर्दै आएका वाइड बडी जहाजबाट जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नयाँ गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेश नियामक निकायबाट पनि अनुमति लिनुपर्ने प्रावधानअनुरुप क्यानले निगमलाई एओसी दिएको हो । नेपालमा उडान अनुमति पाएपछि जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउने बाटो खुला भएको सहायक प्रवक्ता कोइरालाले उल्लेख गरे । ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ । निगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ । निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करीब एक महीना लाग्ने जनाएको छ । त्यस्तै, आगामी चैत १५ गतेसम्म चीनमा पनि उडान सञ्चालन गर्ने लक्ष्यसहित निगमले आवश्यक प्रक्रिया अघि बढाएको छ । जापान र चीनका दुबै गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेका छन् । निगमले अहिले विभिन्न आठ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा सिधा उडान गर्ने योजनाका साथ प्रक्रिया अघि बढाइएको छ । निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस

कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले सम्बोधन गरेका थिए । ढकालले रोल्पाको भु–भागमा पाइने बहुमुल्य जडिबुटीको उचित बजारीकरण गर्न सकेमा समग्र रोल्पा र आसपासका क्षेत्रको स्थानीय आर्थिक गतिविधिलाई बढाउन सकिने बताए । जलविद्युत उत्पादन गरि रोल्पाको आर्थिक विकासमा टेवा पुर्याउन सकिने उल्लेख गरेका छन् । रोल्पाली जनताको मुख्य आयस्रोत रेमिटेन्स भएकाले गाउँगाउँमा आइएमईको सेवा पुर्याउने बताए । त्यस्तै लिवाङ्ग र सुलिचौरमा सम्पुर्ण बैकिङ सेवा सहितका शाखा र घर्तिगाउँमा एक्स्टेन्सन काउण्टर सहित ग्लोबल आईएमई बैंकले सेवा प्रदान गर्दै आएको छ भने छिट्टै होलेरीमा एक्सटेन्सन काउण्टर थवाङ्ग,सिर्प,तेवाङ्ग र इरिबाङ्ग लगायतका क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा शीघ्र पुर्याउने उद्देश्य सहित काम अगाडी बढेको जानकारी गराउन गराउँदै यसबाट समग्र रोल्पाको बित्तीय र रेमिटेन्स सेवा पुर्ती गर्न आइएमई ग्रुप सफल रहेको विश्वास गरेका थिए । आईएमई ग्रुपको मुख्य प्रायोजनमा शरु भएको महोत्सवको उद्घाटन सत्रमा आइएमई ग्रुपका जनसम्पर्क ब्यवस्थापन प्रमुख राजु पौडेलको समेत उपस्थिति रहेको थियो । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालनमा ल्याउन तिव्र तयारी

काठमाडौं । गण्डकी प्रदेश सरकारले म्याग्दीमा रहेको संसारको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरी हिमाल आसपासका राष्ट्रिय वन क्षेत्रलाई समेटेर संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन सिकार आरक्षका बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि धवलागिरी संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न छलफल अघि बढाइएको प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले लमजुङ, मनाङ, मुस्ताङ, कास्की र म्याग्दीलाई समेटेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा गोरखाको केही क्षेत्रमा मनास्लु संरक्षण क्षेत्र आयोजना सञ्चालन गरेको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनालाई विस्तारको पहल भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय वन संरक्षण र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई छ । स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य गरेर धवलागिरि हिमालको सेरोफेरोको राष्ट्रिय वन, वन्यजन्तुको संरक्षणसँगै समृद्धिसँग जोड्न संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्न आवश्यक देखिएको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालको भनाई रहेको छ । प्रस्तावित धवलागिरी संरक्षण क्षेत्र आयोजनाले म्याग्दीको धवलागिरि, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङ र बाग्लुङ जिल्लालाई समेट्छ ।  धवलागिरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा म्याग्दीको मुनामा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ग्रामिण पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजनाको आवश्यकता रहेको बताएका छन् । वन पैदावरको व्यवस्थापन र पर्यटनका माध्यमबाट हुने आम्दानीले गाउँपालिका र प्रदेशको विकासमा खर्च गर्न सकिने मुख्यमन्त्री गुरुङले बताए । पर्यटनमन्त्री लम्सालले प्रशस्त सम्भावना रहेर पनि ओझेलमा परेका धवलागिरी गाउँपालिकाको पर्यटन विकासका लागि संरक्षण क्षेत्र आयोजना मार्फत पूर्वाधार विकास, संरक्षण, प्रचारप्रसारको काम गर्न सकिने बताए । ढोरपाटन शिकार आरक्ष क्षेत्रसँग सिमाना जोडिएको धवलागिरी गाउँपालिकाको १ नं वडाका अध्यक्ष झकबहादुर छन्त्यालले अहिलेको एक्याप, आरक्ष र मध्यवर्ती क्षेत्रको नीतिगत व्यवस्थामा स्थानीयवासी अधिकारबाट वञ्चित हुने भएकाले नयाँ कार्यविधि आवश्यकपर्ने  बताए । मुख्यमन्त्री गुरुङ, पर्यटनमन्त्री लम्साल र गाउँपालिका अध्यक्ष पुनको टोलीले हेलिकप्टरमार्फत संरक्षण क्षेत्र प्रस्तावित ठाउँको अवलोकन गरेको जानकारी दिएका छन् । रासस