अब पर्यटन विश्वविद्यालय पनि

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारले पर्यटन विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको सहयोगमा थ्रीसिस्टर पर्यटन तालीम केन्द्रद्वारा सञ्चालित ३५ दिने ‘ट्रेकिङ गाइड’ तालीमको समापन समारोहमा उनले भने, “पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि पर्यटन विश्वविद्यालयको आवश्यकता छ ।” मन्त्री अधिकारीले उक्त विश्वविद्यालय स्थापनाका लागि सरकारले आगामी एक महिनाभित्र संसदमा कानून पेश गर्ने गरी तयारी गरिरहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मा २० हजार पर्यटक भित्र्याउने सरकारले लिएको लक्ष्य सफल बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहको बताए । नेपालमा आउने पर्यटकमध्ये लगभग ७० प्रतिशत पदयात्राका लागि आउने गरेको बताउँदै उनले पर्यटकसँग प्रत्यक्ष सम्पर्कमा रहने ट्रेकिङ गाइड नेपालका लागि पर्यटनदूत भएको धारणा व्यक्त गरे । थ्रीसिस्टर पर्यटन तालीम केन्द्रका सञ्चालक लक्की कार्कीले संस्थाले हालसम्म मुलुकका ५५ जिल्लाका एक हजारभन्दा बढीलाई ट्रेकिङ गाइडसम्बन्धी तालीम प्रदान गरेको जानकारी दिए । नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवालीले तालीममा ३४ जनाको सहभागिता रहेको जानकारी दिए ।

नेपाल वायुसेवा निगमः डाकोटाबाट वाइडबडीसम्म

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाको ६० वर्षको इतिहासमा पहिलोपटक वाइडबडी विमान भित्र्याएर व्यावसायिक योजनाका साथ विभिन्न गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६० वर्षे दौरानमा हालै वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएको हो । ‘अन्नपूर्ण’ नामको वाइडबडी यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमले अमेरिकी कम्पनी एएआरसँग खरीद गरेका दुईवटा वाइडबडी विमानमध्ये पहिलो विमान आएको हो । दोस्रो विमान डेढ महिनापछि ल्याइनेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार पहिलो चरणमा दुबई÷दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान भर्ने योजना छ । निगमले हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । हाल एक बोइङ नाइन एसिबी–७५७ र ए–३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ । यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् । निगमले बोइङ ७५७ एयरबस ए–३२०, टवीनअट्टर वाई १२ ई, र एमए ६० गरी कूल पाँच प्रकारका विमानबाट आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ । सन् १९६० मा जहाजको संख्या दोब्बर भयो । १९७२ मा निगमले दुईवटा बोइङ र १९८७ मा थप दुई वटा बोइङ जहाज खरीद गरी आफ्नो शाखलाई थप मजबुत गराउँदै गयो । विसं २०४९÷५० सम्म आइपुग्दा निगमले निकै फड्को मारेको थियो । त्यतिबेला निगमसँग दुईवटा बोइङ, तीनवटा पिलाटस पोर्टर, तीनवटा एभ्रो, र १० वटा ट्विनअटर गरी २० वटा जहाज थिए । तर चुस्त व्यवस्थापनको अभाव तथा राजनीतिक हस्तक्षेपलगायतका कारण निगम धराशायी अवस्थामा पुग्यो । निगमको इतिहासमा सन् १९९० को दशकलाई स्वर्णिम सयम मानिने गरिन्छ । त्यतिखेर गन्तव्य विस्तारको हिसाबले निगमको फैलावट जापानको ओसाका, चीनको साङ्घाई हुँदै युरोपली मुख्य शहरहरु लण्डन, पेरिस, फ्र्याङफर्टसम्म पुगेको थियो । निगमसँग स्वदेशी विमान चालकहरु प्रशस्त थिए । त्यतिखेर निगम दक्षिण एशियाकै प्रतिष्ठित वायु सेवा कम्पनीका रुपमा स्थापित थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवतजावतको तथ्यांकलाई हेर्दा सन् २०१५ मा ३२ लाख ९७ हजार ९६२ रहेकामा सो बढेर सन् २०१६ मा ३५ लाख १० हजार ७४२ पुगेको छ । निगमको बजार हिस्सा पनि उल्लेख्य रुपमा बढ्दै गएको छ । सन् २०१५ बजार हिस्सा करीब ९५ प्रतिशत रहेकामा सन् २०१६ मा ११५ पुगेको छ । सन् २०१५ मा सबैभन्दा बढी पर्यटक ओसार्ने वायु सेवाको सूचीमा निगम पाँचौँ स्थानमा रहेकोमा सन् २०१६ मा निगम सो सूचीको पहिलो स्थानमा आइपुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ आव २०७२÷७३ मा तीन लाख ४४ हजार यात्रुलाई सेवा प्रदान गरेका थियो भने आव २०७३÷७४ मा चार लाख २१ हजार यात्रु बोकेको छ । स्थापनाको ६० वर्षे इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धा आदि कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवद्र्धन आदिले निकै उकासिएको अधिकारीहरु बताउँछन् । महाप्रबन्धक कंसाकारले विभिन्न आरोह अवरोहलाई चिर्दै निगम अहिलेको अवस्थामा नाफा कमाइरहेको बताउछन् । यद्यपि, निगमले कति नाफा कमायो भनेर उनले खुलाएनन् । डेढ वर्षअघि निगमले ७ करोड ५० लाख रुपैयाँ नाफा कमाएको थियो । महाप्रबन्धक कंसाकारले निगममा नयाँ वाइडबडी विमान भित्र्याएसँगै संस्थालाई पूर्ण व्यावसायिक बनाई विश्वका एयरलाइन्ससँग प्रतिस्पर्धी बनाउने योजनाका साथ काम अघि बढाइएको जानकारी दिए। निगमका अनुसार ग्राउण्ड ह्याण्डलिङमार्फत निगमले दैनिक ९ हजार याुत्र र १ हजार ४ सय ब्यागेजको व्यवस्थापन गर्दै आएको छ । यो सेवाबाटै निगमले एक वर्षअघि आइसागो सर्टिफिकेटसमेत प्राप्त गरेको थियो । निगमको हीरक महोत्सवलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले निगमको ६० वर्षे आरोह–अवरोहमा आशालाग्दा र दुःखद दुवै क्षण रहेको र विगतको कमीकमजोरीबाट सच्चिएर निगमलाई प्रतिस्पर्धी संस्थाका रुपमा विकास गरिनुपर्नेमा जोड दिए । “इतिहासमा गर्भ गर्ने हैन, प्रगति कति भयो त्यो मुख्य कुरा हो । अब, विगतका कमजोरीबाट शिक्षा लिएर भविष्यको सहज बाटो लिनु आजको आवश्यकता र चुनौती हो । आगामी दिनमा विश्वका प्रतिस्पर्धी एयरलाइन्ससँग प्रतिस्पर्धी बन्नैपर्छ,” उनले भने। सँगै खुलेका एयरलाइन्सले फड्को मार्दा निगमको अवस्थामा सुधार नआउनु दुःखद पक्ष हो भन्दै मन्त्री अधिकारीले निगमको व्यवस्थापनलाई प्रभावकारी रुपमा सुधार्न जरुरी भएको उल्लेख गरे । मन्त्री अधिकारीले भने, “अब, तपाईंहरु (निगम) लाई विमानको कमी हुने छैन, भविष्यमा धेरै नेपाली विमान आकासमा उड्नेछन् यसका लागि सरकारको पूर्ण सहयोग र जनताको साथ रहनेछ, त्यसैले निगमले व्यावसायिक योजनालाई प्रभावकारी कार्यान्वयन गरी गन्तव्य विस्तार र व्यापार प्रवद्र्धनमा ध्यान दिनैपर्छ, प्रभावकारी रणनीतिक साझेदार भित्र्याएर भए पनि निगमको क्षमतालाई सुधार्नै पर्छ ।” सन् २०२० मा २० लाख र सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी योजनालाई साकार तुल्याउन राष्ट्रिय ध्वजावाहक बलियो र सफल हुनैपर्ने खाँचौ औँल्याउँदै मन्त्री अधिकारीले निगमको साख नउक्सिएसम्म देशले पर्यटन विकासमा सफलता हासिल गर्न सक्दैन भने। सो अवसरमा मन्त्री अधिकारीले निगमको पूँजी वृद्धि गरी दुर्गम क्षेत्रमा हवाई सेवा विस्तारका लागि आगामी आवका लागि ५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिने जानकारी दिए । निगमले पूँजी वृद्धिका लागि २० अर्ब रुपैयाँ माग गरेको थियो । रासस  

निगमको नयाँ एयरबस भोलि बिहान ८ बजे काठमाडौंमा, १ महिनापछि टिकट बुकिङ खुला हुने

काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताको एयरबस बिहिबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ । एयरबस फ्रान्सको टुलुस शहरबाट सिधैं सिधैं काठमाडौंका लागि उड्नेछ । जहाज लिनको लागि निगमको टोली फ्रान्स पुगिसकेको निगमका सह प्रवक्ता शैलेस कंशाकारले बताए । उनका अनुसार एयरबस सञ्चालनको लागि २१ दिन जति कागजी प्रक्रिया लाग्नेछ । अबको १ महिनापछि एयर बसको टिकट बुकिङ खुल्ला हुनेछ । निगमले एयरबस सञ्चालनको केहि समय विशेष छुटको व्यवस्था गर्ने तयारी गरको छ । कंशकारका अनुसार विमान कसरी सञ्चालनमा कसरी ल्याउने भन्ने विषयमा निगमले अध्ययन गरिरहेको छ । एयरबस सञ्चालनको लागि अमेरिकन लिजिङ कम्पनीले १ जना क्याप्टेन पाइलटको व्यवस्था गरिदिएको छ ।  निगमले ४ जना को पाइलट तयार गरी राखेको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । एयर वस १२ अर्ब रुपैयाँमा खरिद गरेको हो । कर्मचारी संचय कोषले एक साताअघि निगमलाई जाहाजको अन्तिम किस्ता भुत्तानीका लागि ८ अर्ब रुपैयाँ ऋण सहयोग गरेको थियो । निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई एयरबस ३३० र २०० सिरिजको विमान ल्याउन जिम्मा दिएको छ । नयाँ विमानले जापानको ओसाका, कोरियाको सिउल, र साउदी अरबको रियादमा उडान भर्नेछ । निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् । हाल ६ वटा साना र ३ वटा ठुला विमान रहेको निगमसँग ६ साना विमानले देशभित्र विभिन्न २२ स्थानमा उडान भरिरहेका छन् । हप्तामा सेक्टर हेरी १ देखि ३ उडान गरिहेको छ ।