धौलागिरिमा फेला पर्यो सेन्चुुरी पदमार्ग (फोटो फिचरसहित)
काठमाडौं, २१ पुस । धौलागिरि हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणि आधारशिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरि सेन्चुरी टे«क’ एक्सप्लोर गरेको थियो ।राजधानीमा उक्त पदमार्गको शुभारम्भ गरिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरि आधारशिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनु पर्छ । धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने संभावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने छ । प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको हो । यस काममा नेपाल पर्यटन बोर्ड, टे«किङ एजेन्स्जि एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए । टोलीमा गुरिल्ला टे«ल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्द्र राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, फ्रेण्ड्स एडभेञ्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए । यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ । शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नु पर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ । पदमार्ग सुधार, संकेत चिह्नको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे«क संभव छ । संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे«कको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ ।
लोन्ली प्लानेटको छुटाउन नहुने गन्तव्यमा म्याग्दीको पुनहिल
म्याग्दी, १९ पुस । विश्वको प्रख्यात पर्यटन गाईड लोन्ली प्लानेटले नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्यमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरिएको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौँ उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी व्याख्या गरिएको छ । दक्षिण एसियाबाट नेपाल मात्रै समावेश भएको विश्वको उत्कृष्ट गन्तव्यअन्तर्गत नेपालका चर्चित र प्रमुख पर्यटकीयस्थलका बारेमा गरिएको व्याख्यामा धौलागिरि अञ्चल, मुस्ताङ जिल्ला र म्याग्दीको घोरेपानीलाई उल्लेख गरिएको छ । लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई चार वर्ष अगाडि विश्वकै चर्चित पर्यटकीय स्थलको रुपमा समेत समावेश गरेको थियो । हरेक वर्ष अङ्ग्रेजी वर्षको सुरुवातमै सार्वजनिक हुने सूचीमा नेपालभित्र १० वटा पर्यटकीयस्थलमा मुगु जिल्लास्थित नेपालकै सबैभन्दा ठूलो रारा ताल, म्याग्दीको पुनहिल, मुस्ताङको जोमसोम र मुक्तिनाथ मन्दिर, बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्ज, सुनसरी, सप्तरी र उदयपुर जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्ष, इलाम जिल्ला, बर्दिया राष्ट्रिय निकुञ्ज, रसुवाको लाङटाङ, नवलपरासी र गतवर्षको विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाक समावेश गरिएको छ । बेलायतबाट प्रकाशित हुने डेली मेल र अमेरिकाको रोयटर्सले समेत आफ्नो अनलाइनमा समावेश गरेको समाचारले म्याग्दीका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन् । नेपालभित्रका उत्कृष्ट गन्तव्यमा किन राखिएको भन्ने विषयमा समेत लोन्ली प्लानेटले व्याख्या गरेको छ । म्याग्दी जिल्लाको घोरेपानी पहिलोपटक लोन्ली प्लानेटको सूचीमा परेको हो । जिल्लामा भित्रिने करिब ७० प्रतिशत पर्यटकको हिस्सा ओगटेको घोरेपानी हुँदै शिखको पाउद्वारस्थित खोप्रालगायतका क्षेत्रमा जान सकिन्छ । कास्कीको पोखरा- नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी- तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी-महरेडाँडा हुँदै पुनहिलमा जान सकिन्छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलमा मनोरम हिमशृङ्खला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातीका पशुपक्षी, वनस्पतीको साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको छ । विश्वका उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्गअन्तर्गत घोडेपानी १७ देखि १९ दिनको सुन्दर गन्तव्यको सूचीमा रहेपनि सडक विस्तारले १० दिनभित्र नै पुग्न सकिन्छ । विश्वभरका पर्यटकको गाईडका रुपमा समेत चिनिएको लोन्ली प्लानेटले तथ्य र तथ्याङ्कका आधारमा छनोट गर्ने भएकाले पनि विश्व पर्यटन सङ्गठनले समेत अनुमोदन गर्ने गरेको छ ।
सन् २०१७ मा घुम्नै पर्ने १० गन्तव्य, घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपालपनि
काठमाडौं १८, पुस । सन् २०१७ मा घुम्नुपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको छ । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षसँगै आउँदो वर्ष घुम्न विश्वका उत्कृष्ट गन्तव्यहरूको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष सार्वजनिक गरेको सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ । प्लानेटले सार्वजनिक गरेको सूचीअनुसार पहिलो स्थानमा क्यानडा, दोस्रोमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका रहेका छन् । त्यस्तै छैटौंमा बर्मुडा, सातौंमा मंगोलिया, आठौंमा ओमान, नवौंमा म्यानमार तथा दशौंमा इथियोपिया छन् । लोन्ली प्लानेटले हरेक वर्ष सार्वजनिक गर्ने यो सूची भ्रमण गरेका पर्यटकको प्रतिक्रिया, भ्रमणका लागि पर्यटकले देखाएको चासो तथा विभिन्न तथ्यांकलाई आधार मानेर तयार हुन्छ । गएको वर्षको वैशाख १२ मा गएको भूकम्पले क्षति गरेका पदमार्गहरू पुनर्निर्माण भइसकेको समेत जनाएको छ । नेपालमा घुम्न लायक धेरै ठाउँ रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । प्लानेटले तयार पारेको उत्कृष्ट गन्तव्यका सूचीहरूलाई विश्व पर्यटन संगठनले समेत अनुमोदन गरेको छ । प्लानेटले विश्वभरका पर्यटकलाई सन् २०१७ मा छुटाउन नहुने नेपालका १० गन्तव्य समेत सार्वजनिक गरेको छ । नेपालका उत्कृष्ट १० गन्तव्यहरू रारा मुगु जिल्लामा पर्ने देशकै सबैभन्दा ठूलो ताल तथा स्वच्छ पानी भएको तालको रूपमा रारा ताललाई लिइन्छ । पछिल्लो समय गाडीमार्फत जान सकिने भएकाले पर्यटकहरूलाई जान र आउन हवाई र गाडी जुनसुकै साधन प्रयोग गर्न सक्छन् । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउन हुन थालेको रारामा पर्यटकलाई जान सहज हुन थालेपछि विदेशी पर्यटकहरू पनि ठूलो संख्यामा जाने आशा गरिएको छ । रारा जानको लागि फागुनदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्म उपयुक्त हुने समेत प्लानेटले उल्लेख गरेको छ । पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको उल्लेख गर्दै प्लानेटले पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जान सुझाव दिएको छ । म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् । सो क्षेत्रमा एक रातमा ७ हजार पर्यटक राख्न सक्ने क्षमता छ । जोमसोम–मुक्तिनाथ हिन्दू र बुद्धमार्गीको समेत तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्र पर्यटकको लागि आकर्षक गन्तव्य रहेको लोन्ली प्लानेटले जनाएको छ । ३ हजार ७ सय १० मिटर उचाइमा रहेको उक्त भ्याल्लीले आन्तरिक र बाह्य पर्यटकको मुख्य गन्तव्य स्थलको रूपमा पहिचान कमाएको छ । खप्तड खप्तड राष्ट्रिय निकुञ्ज नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने चार जिल्लाको संगमस्थल हो । बजाङ, बाजुरा, अछाम र डोटी जिल्लामा रहेको उक्त क्षेत्र १ हजार ४ सय मिटर उचाइदेखि ३ हजार ३ सय ३० मिटर क्षेत्रमा फैलिएको छ । खप्तड जानको लागि चैत र वैशाख तथा असोज–कात्तिक महिना उपयुक्त हुने लोन्ली प्लानेटले जनाएको छ । पछिल्लो समय नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायी संस्थाहरूले खप्तड जानको लागि स्वदेशी तथा विदेशीका लागि प्याकेजसमेत घोषणा गरेका छन् । कोशी टप्पु कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रलाई लोन्ली प्लानेटले चरा अवलोकनको लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरेको छ । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । सन् १९८७ रामसार सूचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातिका चरा, २१९ को संख्यामा दुर्लभ अर्ना र दुर्लभ डल्फिनसमेत पाइन्छ । सो क्षेत्र भ्रमण गर्नको लागि पनि पर्यटन व्यवसायीहरूले विभिन्न प्याकेज बिक्री गर्दै आएका छन् । इलाम नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलाममा चिया बगानको साथै पिकनिक स्पट तथा साइट सिनको लागि आकर्षक स्थान छन् । इलाम जा असोज, कात्तिक, मंसिर तथा फागुन, चैत र वैशाख उपयुक्त मानिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ । सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ । लाङटाङ रसुवाको सौन्दर्य हिमाल, ताल, तातोपानी, थरीथरीका वनस्पति, हाब्रे, हिमालयन थार, लाङटाङ हिमाल ९७ हजार २ सय ४५ मिटर० र गणेश हिमाल श्रृंखला अनि हिउँमा रमाउने क्षेत्र लाङटाङ हो । नेपालको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित लाङटाङ भूकम्पपछि केही सुस्ताएको थियो । काठमाडौंबाट १ सय ३२ किलोमिटर बस यात्रापछि स्याफ्रुबेंसी पुगिन्छ । लाङटाङ पैदल यात्रा सोही स्थानबाट लाङटाङ पदयात्रा सुरु हुन्छ । लाङटाङ भूकम्पका कारण ध्वस्त भए पनि पछिल्लो समय बाटोहरू निर्माण भएसँगै पर्यटकहरूको चहलपहलसमेत बढ्न थालेको छ । नवलपरासी जंगलसँग रमाउँदै बोट लिएर चराचुरुंगी हेर्नको लागि उत्कृष्ट गन्तव्य पछिल्लो समय नवलपरासीलाई लोन्ली प्लानेटले उल्लेख गरेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने उक्त क्षेत्रमा १ सय १४ प्रजातिका चराचुरुंगीहरूको अवलोकन गर्न पाइन्छ । नवलपरासी वरपर पछिल्लो समय सुविधासम्पन्न होटल तथा रिसोर्टसमेत खुलेका छन् । हात्ती सफारीमार्फत जंगली जनावरहरूको अवलोकन गर्न समेत पाइने क्षेत्रलाई प्लानेटले सन् २०१७ मा पर्यटकलाई घुम्न सुझाव दिएको छ । बारपाक गोरखाको उत्तरी क्षेत्रमा पर्ने बारपाक भूकम्पको केन्द्रबिन्दू हो । त्यहाँका अधिकांश घरहरू भत्किएका थिए । विगतमा नमुना होमस्टेसमेत रहेको बारपाक अहिले पुनर्निर्माणको काम भइरहेको छ । प्रकृतिले रमणीय स्थानमा रहेको बारपाक समुद्र सतहदेखि १ हजार ९ सय मिटर उचाइमा छ । कारोबार दैनिकबाट ।