चीनद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह, पर्यटनमा गम्भिर असर पर्न सक्ने

काठमाडौं ९, पुस । चीनले आफ्ना नागरिकहरुलाई तत्काल नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । चीन सरकारले ट्राभल अपरेटरहरु मार्फत आन्तरिक रुपमा सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । चीनको चेन्दु सहरबाट सञ्चालनमा रहेको पर्यटनसम्बन्धी प्रमुख एजेन्सी चाइना इन्टरनेसनल ट्राभल सर्भिस (सीआईटीएस) ले चिनियाँ सरकारी निकायले त्यस्तो सन्देश दिएको भन्दै नेपालमा रहेका आफ्ना समकक्षी अपरेटरहरुलाई त्यस्तो जानकारी गराएको हो । काठमाडौँ र चीनको चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापित हुनु एक दिनअिघ यस्तो निर्देशन बाहिर आएको हो । चीन सरकारले भारतमा हुने तिब्बती धार्मिक नेता दलाई लामाको कार्यक्रमलाई ध्यान दिएर यस्तो सर्कुलर जारी गरेको हुनसक्ने आशंका गरिएको छ । तर चिनियाँ सरकारी पक्षले यस्तो एडभाइजरी बाहिर नआएको र भित्र केही भए जानकारी नभएको बताएका छन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीन सरकारले नोपल भ्रमण नगर्न आफ्ना नागरिकलाई सर्कुल जारी गरेको आफूलाई जानकारी नभएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

सुन्तला उत्पादनमा १० प्रतिशतले कमी, मूल्य प्रतिकिलो १८ रुपैयाँदेखि २५ रुपैयाँसम्म

बनेपा, ८ पुस । काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले घटेको अनुमान गरिएको छ । विभिन्न गाविसमा रहेका सुन्तलाको बोटमा क्रमशः पात, हाँगा, डाँठ सुक्ने समस्या देखिएपछि सुन्तला उत्पादन कमी हुने जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए । कृषकले बगैँचा व्यवस्थापनमा ध्यान नदिएकाले खाद्य तत्वको कमी र बगैँचामा काटछाँटको अभावले सुन्तलाको दानाको आकार पनि घटेको उनले बताए । जिल्लाको पनौती नगरपालिकास्थित, सुन्थान, खरिबोट, र्याले, बालुवापाटीलगायतका गाविसमा त्यस्तो समस्या देखिएको छ । र्याले गाविसका कृषक उपेन्द्र तिमल्सिनाले सुन्तला पाकेर बोटबाट आफैँ खस्ने समस्या देखिएको छ भने । उनले कतिपय स्थानमा कृषककै लापर्बाहीले समस्या आएको बताउँदै सुन्तलाको पकेट क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । सुन्तला उत्पादनमा समस्या देखिएपछि मूल्य पनि घटेकाले यसको मार आफूहरुले सहनु परेको उनले बताए। सुन्तलाको दानाको आकार पनि घटेकाले यसको मूल्य प्रतिकिलो १८ रुपैयाँ देखि २५ रुपैयाँसम्म पुगेकोे छ । सुन्तलाको पकेट क्षेत्रमा बर्सेनि जिल्ला कृषि विकास कार्यालयले बगैँचा व्वस्थापनलगायतका काममा ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म खर्च गर्दै आएको छ । कार्यालयका अनुसार जिल्लामा कुल एक हजार ३०२ हेक्टर जमिनमा सुन्तालका लागि योग्य जमिन भए पनि गत वर्ष ८८६ हेक्टर जमिनमा १० हजार १५८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । रासस

नेपाललाई थप एयर रुट दिन भारत सहमत, नेपालमा अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्न सहज

काठमाडौं ६, पुस । नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि थप एयर रुट दिन भारत सरकार सैद्धान्तिक रूपमा सहमत भएको छ। दुवै देशका नागरिक उड्डयन मन्त्रालयका अधिकारीबीच मंगलबार नयाँदिल्लीमा सुरु भएको वार्तामा भारतले नेपाललाई थप एयर रुट दिन सैद्धान्तिक रूपमा सहमति जनाएको हो। दुई देशबीच थप एयर रुट तथा अन्य उड्डयन विषयमा छलफल भइरहेको छ। वार्ताको नेतृत्व नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र भारतका तर्फबाट उड्डयन मन्त्रालयका सहसचिव अरुण कुमारले गरेका थिए। वार्ता बुधबारसमेत चल्ने छ। हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरू नेपाल भित्रिने गरेका छन्, जसका कारण नेपालले एयर ट्राफिकको समस्या झेलिरहनु परेको छ। नेपाली टोलीले जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट पनि नेपाललाई अन्तर्राष्ट्रिय एयर रुटहरू दिन भारतलाई आग्रह गरेको छ। वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार भारतले जनकपुरबाट तत्काल एयर रुट दिन सकिने सकिने जनाए पनि अन्य रुटका सम्बन्धमा भने थप प्राविधिक आन्तरिक छलफल आवश्यक पर्ने अवगत गराएको छ। ‘हामीले राखेको प्रस्तावमा भारतीय पक्ष लचक देखिएको छ। दुवै पक्षको प्राविधिक टोलीले आगामी फेब्रुअरीमा वार्ता गरेर सैद्धान्तिक सहमतिलाई अन्तिम रूप दिने समझदारी भएको छ,’ आचार्यले भने। उनका अनुसार भारतीय पक्षले नेपालले मागेका एयर रुटका सम्बन्धमा आन्तरिक रूपमा अन्य सरोकारवाला निकायसँग छलफल आवश्यक पर्ने बताएको छ। विशेषतस् भारतको रक्षा मन्त्रालयसँग छलफल आवश्यक पर्ने भारतीय पक्षले जानकारी गराएको छ। भारतले चारवटै नाकाबाट दिन नसके पनि कम्तीमा २ अथवा ३ ठाउँबाट एयर रुट दिएमा नेपाललाई सहज हुने वार्तामा सहभागी नेपाली अधिकारीले कान्तिपुरलाई बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अगाडिको नेपाल भ्रमणको समयमा यो विषयलाई तत्काल समाधान गर्ने सहमति बनेको थियो। उच्च तहमा पटक पटक वार्ता भए पनि यस विषयमा सहमति हुन सकेको थिएन। त्यतिबेला भारतले नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहसचिव अरुण कुमारको नेतृत्वमा एउटा समितिसमेत बनाएको थियो। भारतले थप एयर रुट दिएमा नेपालले निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाजस्ता क्षेत्रीय विमानस्थलहरूबाट अन्तर्राष्ट्रिय उडान गर्न सहज हुने विश्वास नेपाली अधिकारीको छ। गत अगस्टमा भारतले नयाँ उड्डयन नीति ल्याएको छ। भारतले सार्क मुलुकबीचमा खुला आकाश नीति अपनाउने विषयमा सम्झौता गर्ने भएको छ। उक्त नीतिका अनुसार मंगलबारको वार्तामा भारतले खुला आकाश नीतिमा सम्झौताका लागि समेत आग्रह गरेको छ। नेपालले भने पर्याप्त रूपमा पूर्वाधार विकास भइनसकेका कारण अहिले नै यो नीतिमा जान नसकिने बताएको बैठकमा सहभागी एक अधिकारीले बताए। नेपालले अध्यागमनमा भोगिरहेका समस्या समाधानका लागि पनि भारतीय पक्षलाई आग्रह गरेको छ। कान्तिपुर दैनिकबाट ।