हवाई भाडा २४ प्रतिशत बढ्दै, सरकारले स्वीकृती दिएकोले वायुसेवा संचालकलाई जानकारी दिनासाथ लागू हुने

काठमाडौं २६, मंसिर । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाउन सरकारबाट स्वीकृति पाएका छन् । नागरिक उड्डयन प्राधिकरणले ६ वर्षदेखि लागू साविकको भाडादरमा २४ प्रतिशत वृद्धि गर्न कम्पनीहरुलाई स्वीकृति दिएको छ । प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले हवाई भाडा बृद्धिसम्बन्धी निर्णय गरेको हो । वायु सेवा सञ्चालकहरुले एक वर्षदेखि भाडा बढाउन माग गर्दै आएका थिए । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार बढेको भाडा दुई साताभित्र लागू हुनेछ । हाल हवाई इन्धनको मूल्यमा भएको घटबढअनुसार फ्युल सरचार्जमा स्वतः समायोजन गर्ने व्यवस्था भए पनि लागत र मूल्यबृद्धिका आधारमा हवाई भाडा समायोजन हुन सकेको थिएन । प्राधिकरणले गत जेठमा उपमहानिर्देशक राजनराज पोखरेलको संयोजकत्मा सात सदस्यीय हवार्ई भाडा पुनरावलोकन समिति गठन गरेको थियो । समितिले १९ देखि ३९ प्रतिशतसम्र्म भाडा बढाउन गत साउन महिनामै संचालक समितिसमक्ष सिफारिस गरेको थियो । मन्त्रालयले भने सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छुट्टै उपसमिति गठन गरेको थियो । सोही उपसमितिले केही साताअघि २४ प्रतिशत हवार्ई भाडा बढाउन सुझाव दिएपछि शुक्रबार संचालक समतिले बढाउने निर्णय गरेको हो । सरकारले आन्तरिक वायुसेवा कम्पनीलाई २०६७ माघमा अधिकतम र न्यूनतम भाडादर तोकेको थियो । सोही भाडादर हालसम्म कायम छ । तर प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । “हवार्ई भाडा बढाउन सिफारिस भएको हो, तर निर्णय भएको वा नभएको जानकारी मलाई छैन,” श्रेष्ठले भने । सरकारले ६ वर्ष अघिदेखि इन्धनको मूल्य प्रतिलिटर चार रुपैयाँभन्दा बढीले घटबढ भएमा मात्र इन्धन शुल्कमा समायोजन गर्नसक्ने अधिकार वायुसेवा कम्पनीहरूरुलाई दिएको छ । गतसाता मात्रै पनि निजी वायुसेवा संचालक संघ (आयोन) ले हवार्ई भाडा केही घटाएको थियो । वायुसेवा संचालक संघले २०६७ सालयता नबढेको हवार्ई भाडा बजार भाउ तथा नेपाल राष्ट्र बैंकले जारी गर्ने मुद्रास्फीति हेरेर पुनरावलोकन गर्न माग गर्दै आएको थियो । “राष्ट्र बैंकको तथ्यांकअनुसार पनि बजार भाउ वार्षिक १० प्रतिशतले बृद्धि हुँदा पनि पाँच वर्षमा ५० प्रतिशत पुगेकोले पनि हवार्ई भाडा बढाउन आवश्यक थियो,” संघका प्रवक्ता घनश्याम आचार्यले भने । आयोनका अनुसार सरकारसँग प्रत्येक दुईवर्षमा हवार्ई भाडा समायोजन गर्ने सहमति भएको थियो । कारोबार दैनिकबाट ।

पारदर्शिताको लागि कुनैपनि सूचना लुकाईंदैन– पर्यटन मन्त्रालय

काठमाडौं, २३ मंसिर । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम संचालन तथा नेपाल वायु सेवा निगममा अपारदर्शी गतिविधि भइरहेको भन्दै व्यापक आलोचना खेपिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पारदर्शिताको लागि कुनैपनि सूचना नलुकाउने र सार्वजनीक रुपमा जानकारी दिने जनाएको छ । मन्त्रालयले आफ्नो मातहतका कुनैपनि निकायबाट सूचना लिन सक्ने जनाउँदै सार्वजनीक हितमा पारदर्शिताको लागि सकेसम्म सवैखाले सूचना उपलब्ध गराउने जनाएको हो । पर्यटन मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय र मातहत निकायबीच आन्तरिक समन्वय हुन नसकेको गुनासो आइरहेको बताउँदै सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने बताए । मुलुकको आर्थिक समृद्धिमा पर्यटन गतिविधिले ठूलो भूमिका खेल्ने  हुँदा यसको विकासमा  संचारमाध्यमबाट पनि सकारात्मक संदेश जानुपर्ने र आवश्यक जानकारीको लागि पर्यटनसँग समन्वय गर्न मन्त्री शाहीले पत्रकारहरुलाई पनि आग्रह गरे । मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले आफु मन्त्री भएको एक सय दिनको समीक्षा सहित सुझाब लिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए । मन्त्रालयमा आयोजा गरिएको कार्यक्रममा सचिव शंकरप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील बनाउँदै लगिने बताए ।

चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते

काठमाडौं, २२ मंसिर । चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते गरिने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले चन्द्रागिरी केबलकारको उद्घाटन गर्नेछन् । हालसम्म चन्द्रागिरी केबलकारमा ४ अर्बको लगानी भैसकेको छ भने होटल लगायतका थप पुर्वाधार अझै निर्माण भैरहेका छन् । राजधानी नजिकैको नयाँ पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न लागिएको चन्द्रागिरी समुन्द्र सतहबाट २५५० मिटरको उचाईमा रहेको छ । यसमा आइएमई ग्रुप र भाटभटेनी समुहको लगानी रहेको छ ।