कतार एयरवेजको ‘ट्राभल टूगेदर, सेभ टूगेदर’ क्याम्पेन सञ्चालनमा
काठमाडौं, १३ मंसिर । कतार एयरवेजले आफ्ना उपभोक्ताका लागि ट्राभल टूगेदर, सेभ टूगेदर क्याम्पेन सञ्चालनमा ल्याएको छ । सहयात्रीसँग यात्रामा निस्कँदा आउने बेग्लै मज्जालाई ध्यानमा राखि कम्पनीले यो क्याम्पेन सञ्चालनमा ल्याएको हो । योजना अन्तर्गत उपभोक्ताले एयरलाइनको फस्र्ट बिजनेश क्याविन्सको शुल्कमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ३ देखि ९ जनाको समूह बनाइ यात्रा गर्ने यात्रुले योजना मार्फत आकर्षक डिल्सबाट लाभान्वित हुन सक्नेछन् । २८ नोवेम्बर देखि ५ डिसेम्बर २०१६ सम्म यात्राका लागि टिकट बुक गर्ने उपभोक्ताले १५ जून २०१७ सम्मको यात्रामा यस क्याम्पेनबाट लाभान्वित हुन सक्ने कम्पनीले जानकारी दिएको छ । यात्रूहरुले फ्लाइटको खरिदमा डबल क्यूमाइल्स समेत प्राप्त गर्ने जानकारी दिइएको छ । साथै, अनलाइन माध्यमबाट टिकट बुक गर्ने यात्रूहरुले हमाद ईन्टरनेशनल एयरपोर्टको कतार ड्युटी फ्रि रिटेल्समा सपिङ गर्नका लागि २५ प्रतिशत सम्म छुट उपलब्ध हुने कतार ड्यूटी फ्रि भाउचर्स समेत प्राप्त गर्न सक्नेछन् । तर, योजनामा शर्तहरु लागु हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि उपभोक्ताले qatarairways.com/travel together मा गई बुकिङ गर्दा थप जानकारी प्राप्त हुने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत छानिएका ट्राभल एजेन्ट मार्फत विभिन्न विशेष टूर प्याकेजको ब्यवस्था समेत गरिएको छ । यसका लागि उपभोक्ताले आफ्नो पायक पर्ने ट्राभल एजेन्ट वा कतार एयरवेजको सेल्स अफिस मार्फत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
बुद्ध र यति एयरलाइन्स आक्रामक बजार बिस्तारमा, बुद्धलाई २ र यतिलाई ४ वटा एटीआर थप्ने स्वीकृति
काठमाडौं, मंसिर १२ । आन्तरिक वायुसेवा कम्पनी बुद्ध र यति एयर आक्रामक बजार बिस्तारमा लाग्न थालेका छन् । दुबै वायुसेवाले क्षमता बढाउने र बजार बिस्तारमा नयाँ रणनीति बनाएर अगाडि बढ्ने प्रक्रिया सुरु गरेका छन् । दुबै वायुसेवाले नेपाली आकासमा एटीआर नामक आधुनिक वायुसेवा थप गर्ने भएका छन् । हाल बुद्ध एयरले संचालन गरिरहेको ७२ सिट क्षमताको एटीचार ७२-५०० नामक जहाज थप गर्न दुबै वायुसेवा कम्पनीले अनुमति लिएका छन् । बुद्धले २ वटा एटीआर ७२ सिट क्षमताको ल्याउन अनुमति लिएको दुई महिनाभित्रमै यतिले पनि चार वटा सोही प्रकृतिको एटीआर जहाज नै ल्याउन अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यतिले भर्खरै चारवटा ७२ सिट क्षमतका जहाज एक वर्ष भित्र ल्याउने गरी अनुमति पाएको छ । यस अघि बुद्ध एयरले पनि सोही प्रकृतिको जहाज थप गर्न अनुमति लिएर प्रक्रिया अगाडि बढाइसकेको छ । माघको दोस्रो साता भित्रैमा नयाँ एटीआर ल्याउँदै बुद्ध एयर निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले आगामी माग दोस्रो साता भित्रमा नै एउटा एटीआर जहाज ल्याउने भएको छ । यो वायुसेवाले जहाज ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाएको र जहाज किन्ने पैसासमेत पठाउन लागिसकेको जानकारी बुद्ध एयरले दिएको छ । बुद्ध एयरका अपरेशन निर्देशक सुवर्ण खरेलका अनुसार पुसभित्रैको लागि तयारी गरिएको भएपनि प्रक्रिया मिलाएर काम गर्दा माघ दोस्रो सातासम्म लाग्न सक्ने देखिएको छ । उनका अनुसार बुद्धले थप गर्न लागेको दुईवटा एटीआर मध्ये पहिलो माघ दोस्रो साताभित्रमा र त्यसपछिको ६ महिनामा अर्को जहाज ल्याउने गरी रणनीति बनाएको पनि उनले बताए । हाल बुद्ध एयरसँग ४७ सिट क्षमताको तीन र ७२ सिट क्षमतको २ वटा एटिआर जहाज रहेको छ । नयाँ दुई वटा थप भएपनि ७२ सिट क्षमतकै ५ वटा हुने छ । थप जहाज आएपछि बुद्धले जनकपुरमा पनि ठूलै जहाजबाट उडान गर्ने तयारी गरिहरेको छ । हाल बुद्ध एयरले त्रिभुवन विमानस्थलमा ४५ मिनेटको फरकमा जहाज उडान गर्ने गरेको छ । नयाँ आएपछि एक घण्टा फरक गर्ने र कुनै पनि उडान रद्द तथा डिले नगर्ने रणनीति बनाएको पनि बुद्ध एयरले जानकारी दिएको छ । यो वायुसेवाले खरीद गर्ने दुई नयाँ जहाजका लागि करीब दुई अर्ब खर्च हुने उल्लेख छ । पछिल्लो समय आन्तरिक उडानका वायुसेवा कम्पनी साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन्। आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा क्षमता विस्तार गर्न ठूला जहाज भित्र्याउन थालेका छन्। यती एयरले २९ र ३० सिट क्षमताका जहाज विस्थापन गरेर एटिआर ७२ नामक ठूलो जहाज ल्याउने भएको छ। बजारक आवश्यकता अनुसार चलेको बुद्ध एयरले अझै थप २ वटा एटिआर जहाज खरिद गर्ने भएको छ। आन्तरिक वायुसेवाले बजार हिस्सा बढाउन यात्रु क्षमता बढी भएको जहाज ल्याउने गरी आक्रामक रणनीति तय भएको पनि बुद्धको भनाइ छ ।
तत्काल साधारणसभा गर्न माग गर्दै टान सदस्यहरुको विरोध
काठमाण्डौ, १२ मंसिर । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)मा समयमै सधारण सभा नभएको भन्दै सदस्यहरुले विरोध जनाएका छन् । विधानतः टानमा आर्थिक बर्ष सकिएको २ महिनाभित्रै साधारणसभा गर्ने उल्लेख गरिए पनि अझै साधारणसभा हुन नसक्नुले आशंका पैदा भएको र तत्कालै साधारण सभा गर्नुपर्ने माग राख्दै सदस्यहरुले विरोध गरेका हुन् । समयमै साधारण सभा नगरी समय थप गर्दै जानुले संस्थाको पारदर्शिता र व्यवस्थपनमा शंका लागि विरोध गर्नुपरेको टान आवद्ध सदस्य एवं पूर्वसचिव पासाङ शेर्पाले बताए । त्यस्तै टानका पूर्वसदस्य राजेन्द्र सापकोटाले पनि टानमा गैरकानुनी र अपारदर्शी गतिविधि बढ्दै गएको र यसको ढाकछोप गर्न साधारण सभाको मिति सार्ने काम भइरहेको बताए । साधारणसभा बिधानबमोजिम सम्पन्न गर्न नसक्ने र लापरबाही तवरले आफुखुशी टानलाई चलाउनु दुखद भएको पूर्व अध्यक्ष दिपक महतले बताए । उनले भने– ‘यसवाट टान नेतृत्वको असक्षमता प्रष्ट भएको छ ।’ यसले टानको आयस्रोत दुरुपयोग हुनेदेखि लिएर आन्तरी ब्यवस्थापनसमेत फितलो पारेको महतले दावी गरे । करिब १२ सय व्यवसायीहरुको छाता संगठन टानले समयमानै साधारणसभा गर्न नसक्नु सवै सदस्यहरुलाई गुमराहमा राखेजस्तै भएको पर्यटन व्यवसायी बोधराज भण्डारीको तर्क छ । उता टानका अध्यक्ष चन्द्र सिजालले केहि हदसम्म समयमै साधारण सभा गर्न नसकेको स्विकार गर्दै आन्तरीक तयारी र व्यवस्थापन भइरहेको जानकारी दिए । उनले यो साधारणसभा कुनै नेतृत्व चयन गर्नका लागि नभई कार्य प्रगति र आन्तरीक स्रोत ब्यवस्थापनबारे सदस्यहरुलाई जानकारी दिने भएकाले विरोधको अर्थ नरहेको बताए । रिजालले भने– ‘विगतको कार्यसमितीको पुर्ण लेखापरिक्षण नभएको कारण ढिला भएको हो ।’ सदस्यहरुलाई भ्रम नहोस भनेर आगामी डिसेम्वर २३ मा साधारण सभा गर्ने गरी जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट स्वीकृती प्राप्त भएको रिजालले बताए ।