६ करोडमा बनेको ‘वनजङ्गल एडभेञ्चर’, साहसिक पर्यटनका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । काठमाडौं उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका-३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । योसँगै काठमाडौंमा बसोबास गरिरहेकाले साहसिक पर्यटनका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । काठमाडौंकै रिङरोडभित्र बसोबास गर्नेका लागि साहसिक गन्तव्य काठमाडौं रिङरोड बाइपासबाट १० किलोमिटरभित्र ककनी राजमार्गमा पर्ने पाँचमाने स्थित ‘वनजङ्गल एडभेञ्चर’ बनेको छ । यहाँ पुगेपछि प्रकृतिको आनन्द र हरियाली वातावरणमा स्वच्छ हावा पनि लिन सक्नेछन् । ८ महिनादेखि काठमाडौंभित्र रहेका र साहसिक पर्यटनमा रूचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रकृतिसँगै नजिक राखेर सेवा दिँदै आइएको वनजङ्गल एडभेञ्चरका सञ्चालक एलिसा ढकालले बताइन् । उनले काठमाडौंमा बसोबास गरिरहेकालाई प्रकृति र साहसिक पर्यटनप्रति रूचि बढाउन एडभेञ्चर सञ्चालन गरिएको धारणा राखे ।  हिजोआज साहसिक पर्यटनको ‘प्याकेज’ बनाएर आउनेको सङ्ख्या बढिरहेको भन्दै उनले एडभेञ्चरले काठमाडौंभित्रका पर्यटकलाई लक्षित गरेर यो व्यवसाय सञ्चालन गरिरहेको बताए ।  काठमाडौंका मानिस यहाँ आउँदा समयको बचत र जङ्गलभित्र सबै एडभेञ्चरको फरक महसुस गर्न पाउने भएकाले सेवाग्राहीको सङ्ख्या बढ्दै गइरहेको ढकालले बताए । उनका अनुसार ३० रोपनीमा फैलिएको वनजङ्गलमा सेवाग्राहीले जिपलाइन, रोलर कोस्टर, क्लाइमिङ वाल, अब्स्टयाक्ल कोर्ष, हाइरोप कोर्ष, किड्स एडभेञ्चर्स कोर्ष जिपलाइन ट्रिपटप एडभेञ्चर र जाइन्ट स्वीङको अनुभव लिन पाउनेछन् । साहसिक पर्यटनका लागि नेपालमा पहिलोपटक रोलर कोस्टरको अनुभव लिन पाउने सञ्चालक ढकालले जानकारी दिए । फलाममा चक्का राखी बाँधेर छोड्ने गरिन्छ । पर्यटकले एक मिनेटसम्म फलामको डण्डामा घुमेर मनोरञ्जन लिन सक्नेछन् ।  पर्यटकले टेन्ट र मौलिक नेपाली घरमा बसेर फरक अनुभूति गर्न सक्छन् । एडभेञ्चरमा ११ टेन्ट र एक मौलिक घर रहेको छ । मौलिकताको जगेर्ना गर्दै वनजङ्गल एडभेञ्चरले मौलिक घरमा ढिकी, जाँतो, हलो तथा कृषकले प्रयोग गर्ने सामग्री देख्न पाइन्छ । शुक्रबार र शनिबार आन्तरिक पर्यटकको भीडभाड हुने गर्दछ । भारतीय अक्सो कन्सल्टेन्सीले एक वर्षको अवधिमा पूर्वाधार निर्माण गरेको र सबै पूर्वाधार पूर्ण रुपमा इञ्जिनिरियङ गरेर बनाइएको सञ्चालक ढकालले बताए ।  ‘वनजङ्गल एडभेञ्चरको विशेषता भनेको साहसिक पर्यटन हो । यहाँ भएका अधिकांश खेल खेलाउन पर्यटन विभागबाट अनुमति लिएका छौँ,’ उनले भने, ‘साहसिक खेलमा सहभागी प्रत्येक खेलाडीको बिमा गरिएको छ ।’  जङ्गलको बीचमा कूल ६ करोड रुपैयाँ लागतमा आफ्नै जग्गामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको ढकालले जानकारी दिए । 

बोइङ ड्रिमलाइनर दुर्घटनापछि उड्डयन क्षेत्रमा सन्नाटा

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ । अहमदाबादमा बिहीबार भएको एयर इण्डियाको एआई-१७१ विमान दुर्घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र होइन विश्वलाई नै पुनः एकपटक सोच्न बाध्य पारेको छ । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र र हवाई सुरक्षाबारे झस्काएको छ । जहाजले धावन मार्ग छाडेको केही क्षणमै जमिनमा बजारिएर दुर्घटना ग्रस्त भएको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित २०० बढी यात्रीको निधन भएको स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले जनाएका छन् । दुर्घटनामा २० देखि २५ स्थानीय मानिसको समेत ज्यान गएको आशङ्का गरिएको छ । बोइङ ७८७ ड्रिम लाइनर दुर्घटनाका कारण नागरिक उड्डयन क्षेत्रले एक भयानक क्षति बेहोर्नुपर्यो । एउटा दुर्घटनाका कारण आफन्त गुमाउने परिवारमा जीवनभरका लागि वज्रपात पर्छ । त्यसबाहेक जहाज सञ्चालन गरिरहेको कम्पनी, जहाज निर्माता कम्पनी, जहाजको नियमन गरिरहेको नियामक निकायले समेत एकसाथ ठूलो क्षति बेहोर्छन् । छिमेकी मुलुक भारतमा भएको भयानक जहाज दुर्घटनाले नेपालको एभिएसनलाई पनि सोचमग्न बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भारतमा भएको भयानक जहाज दुर्घटनाले अन्तर्राष्ट्रिय हवाई क्षेत्रलाई नै स्तब्ध बनाएको बताए ।  ‘जहाज दुर्घटना के-कति कारणले भयो भन्ने कुरा अनुसन्धानपछि आउला तर, धेरै समयपछि ठूलो हवाई दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध पारेको छ । यसले हवाई यात्रीलाई सोचमग्न बनाएको छ,’ उनले भने ।  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का पूर्व क्याप्टेन केबी पौडेलले प्राविधिक कमजोरीले एयर इन्डियाको जहाज दुर्घटना भएको हुनसक्ने पूर्वानुमान गरे ।  उनले भने, ‘नयाँ जहाज र अनुभवी पाइलटले उडाइएकाले अहिले सरसर्ती हेर्दा मानवीय भन्दा पनि प्राविधिक कमजोरीले हो कि जस्तो देखिन्छ । जहाजको ककपीट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरले दुर्घटनाको यथार्थ बाहिर ल्याउन मद्दत गर्ने छ ।’ उनका अनुसार जहाज दुर्घटनाको कारण दुवै इन्जिन फेल भएर वा फ्ल्याप, स्ल्याट अथवा ह्युमन फ्याक्टर हुनसक्छ । नेपालको हवाई क्षेत्रमा खासै असर नपरे पनि सम्बन्धित देश र एयरलाइन्सलाई ठूलो असर गर्ने पूर्व क्याप्टेन पौडेलले उल्लेख गरे ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले ड्रिम लाइनर ठूलो जहाजको पहिलो भयानक दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको बताए ।  ‘ड्रिमलाइनरको असाध्यै राम्रो रेकर्ड थियो । अहिलेसम्म ड्रिमलाइनरमा मात्रै ‘वान बिलियन प्यासेन्जर फ्लाइ’ गरेको रेकर्ड छ । यो एयरक्राफ्ट आएको १४ वर्ष मात्र भएको थियो । यो अवधिमा ५० लाख जति डिपार्चर भएको हुनुपर्छ । विश्व एभिएसन बजारमा ड्रिमलाइनरको सङ्ख्या करिब एक हजार १०० रहेको जनाइन्छ,’ उनले भने ।  प्राधिकरणका सूचना अधिकारी भूलका अनुसार पछिल्लो समय सन् २०२४ को मध्यदेखि सन् २०२५ को यो अवधिसम्म मलेसियन एयरलाइन्सको जहाज दुर्घटनापछि यो ठूलो दुर्घटना हो ।  ‘नेपाल, भारत, एसियाभन्दा पनि विश्वकै ‘एभिएसन इन्डस्ट्री’लाई ‘ब्ल्याक डे’ हो, जसरी बोइङ ड्रिमलाइनर ठूलो जहाज चालक दलका सदस्यसहित २४२ जना सवार उक्त जहाज नेपालको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको ‘सिनारियो’जस्तै भयो । उडेको केही क्षणभित्रै जहाज दुर्घटना ग्रस्त भएको देखिन्छ,’ उनले भने ।  विज्ञहरूको भनाइमा सामान्यतः जहाज ‘टेकअप’ र ल्यान्डिङ’का बेला बढी पावर चाहिन्छ । जहाजलाई उड्नका लागि चाहिने म्याक्सिमम टेकअप वेट फुल प्यासेन्जर र फुलफ्युल हालेर जब जहाज जमिन छोड्छ उसको लिफ्ट पावर बढी चाहिन्छ । अलिकति पनि ब्यालेन्स तलमाथि हुँदा एभिएसनको भाषामा जहाज स्टल हुन्छ । दुर्घटनाको प्रकृति हेर्दा एयर इन्डियाको जहाजले उड्ने बित्तिकै नियन्त्रण गुमाएको देखिन्छ ।  ‘जहाजले क्लाइम गर्ने बेला इन्जिन फेल भएको हो कि अथवा जहाजका भित्री मेकानिकल कमजोरीले भएको हो वा अरु कारणले हो त्यो चाहिँ पछि अनुसन्धानले देखाउँला, तर यो भयानक दुर्घटनाले विश्वको एभिएसन कम्युनिटीलाई पुनः झस्काएको छ,’ सूचना अधिकारी भूलले भने ।  उनले भारतमा भएको जहाज दुर्घटनाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सिङ्गो हवाई क्षेत्रलाई स्तब्ध पारेको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डबमोजिम जहाज दुर्घटनाको अनुसन्धान हुने छ । जहाजको इन्जिन फेल, कन्ट्रोल कमाण्डको कमजोरी वा मानवीय कमजोरीले जहाज दुर्घटना भएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ ।  जहाजको ‘इमर्जेन्सी कण्डिसन’मा भएको अवस्थामा ‘मेडे मेडे मेडे’ भनेर क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराउँछन् । प्राधिकरणका अर्का एक विज्ञको भनाइमा एयर इन्डियाको दुर्घटनाअघि पाइलटले ‘मेडे’ शब्द बोलेर एटिसीलाई सूचना दिएका थिए । सामान्यतया पाइलटले रेडियो सन्देशमार्फत तीनपटक मेडे उच्चारण गरेको अवस्थामा जहाज दुर्घटना हुँदैछ वा गम्भीर आपत्कालीन अवस्थामा छ भन्ने बुझिन्छ ।  यसले गर्दा विश्व समुदायलाई अझै हाम्रो हवाई उडानमा उडान संपरीक्षण एयर वर्दिनेसको पाटोलाई ध्यान दिनुपर्छ भनेर सजग गराएको सूचना अधिकारी भूलले उल्लेख गरे ।  उनले भने, ‘एयर वर्दिनेसको पाटोमा अझै हामीले ध्यान दिनुपर्ने सन्देश जान्छ । नेपालमा मनसुन जारी रहेकाले यो समयमा उडान सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्छ ।’ आइकाओको नियमानुसार जुन देशमा जहाज दुर्घटना भएको छ, त्यही देशले छानबिन गर्छ । सोही मुलुकले छानबिन गरेर सुरुमा प्रारम्भिक र तीन महिनापछि अन्तिम प्रतिवेदन प्राधिकरण र आइकाओलाई पठाइन्छ । जहाजको प्राविधिक कुरालाई नेपालले पाठ सिकेर नेपालको हवाई उद्योगलाई सुरक्षित बनाउन तथा मौसममात्र नभई जहाजको प्राविधिक पार्टलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेकामा विज्ञहरूको जोड छ । जतिसुकै ठूलो जहाज भए पनि एउटा इन्जिन फेल भएपछि अर्को इन्जिनले उड्ने गरी बनाइएको हुन्छ । ‘यो दुर्घटना हेर्दा या त दुवै इन्जिन जानुपर्यो, बाहिरको एक्सट्रनल फ्याक्टर चरा ठोक्किएको हुनुपर्दछ,’ पूर्व महानिर्देशक गौतमले भने, ‘जहाज टेकअप हुनेबित्तिकै हाइट लिन सकेन । ग्राउण्ड लेबलबाट चार सय २५ फिट हुँदाखेरि दुर्घटना भएको देखिन्छ । जहाजको दुवै इन्जिन फेल भएको हो कि जस्तो देखिन्छ ।’ पूर्व महानिर्देशक गौतमले जहाज दुर्घटनाले नेपालमा असर नपरे पनि हवाई यात्रीको कन्फिडेन्स घट्ने र यसको सबै क्षेत्रमा असर पर्ने बताए । विमानस्थल नजिकै रहेको बस्तीमा दुर्घटना ग्रस्त भएकाले एयर इन्डियाका कारण मानवीय क्षतिसमेत बढी भएको समाचार एजेन्सीहरूले बताएका छन् ।रासस

११ करोडमा सञ्चालनमा आयो हिमालयन फरेष्ट, एक रातको २ हजारदेखि साढे ५ हजारसम्म

काठमाडौं । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका-३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ११ करोड रुपैयाँ लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा युक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ वटा कोठा छन् ।  ‘न्यूनतम् २ हजार रुपैयाँदेखि बढीमा ५ हजार ५०० रुपैयाँसम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी र विदेशी दुवै परिकार उपलब्ध छ,’ सञ्चालक भण्डारीले भने ।  रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ । ताल, हिमाल, वन जङ्गललगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गर्छन् । चरा अवलोकनका लागि पनि उक्त क्षेत्र उपयुक्त मानिन्छ । ‘पोखराको व्यस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेका छन् । प्राकृतिक वातावरण आतिथ्य सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।   रिसोर्टको औपचारिक उद्घाटन नभए पनि दुई महिनादेखि सेवा दिन सुरु गरेको उनको भनाइ छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिलोपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट खोलेका हुन् ।  उक्त क्षेत्रमा महँगादेखि सामान्यस्तरका होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको जानकारी दिए ।  ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टलगायतका रिसोर्ट तथा होटलले स्वदेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् । प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ७ तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमि र तालचोकदेखि साढे ३ किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।