एभरेष्ट कलरले १५ प्रतिशत आईपीओ जारी गर्ने, सञ्चालकमा ५ जना निर्वाचित
काठमाडौं । रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटले साधारण सेयर निष्काशन (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको अधिकृत पुँजी ३० करोड रुपैयाँ र जारी पुँजी २६ करोड रुपैयाँ छ । जसमध्ये संस्थापक सेयरधनीले २२ करोड १० लाख रुपैयाँ चुक्ता गरिसकेका छन् । सर्वसाधारणलाई १५ प्रतिशत सेयर निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्ने छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । अन्य कलर उधोगभन्दा पृथक ढंग सञ्चालनमा रहेको यस उद्योग स्वदेशी युवाहररूको लगानीमा स्थापना भएको हो । गुणस्तरीय एभरेष्ट कलर उपभोग गरेर आयात प्रतिस्थापन गर्ने, रोजगारीको श्रृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याउने उद्देश्य लिएर १४ बर्षअघि एभरेष्ट कलर कम्पनी स्थापना भएको हो । एभरेष्ट कलर ५ महिनाअघि प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेडमा रुपान्तरण भएको थियो । कम्पनीले १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरु उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा परिचित रहँदै आएको छ । कम्पनीको सभाले संस्थापक सेयरधनीकातर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना संचालकको पनि चयन गरेको छ । सरोज लुईटेल, राजनलाल श्रेष्ठ, महेश्वर खनाल, रोजीना श्रेष्ठ र आत्माराम ढुङ्गागानालाई संस्थापक सेयरधनीकातर्फबाट संचालकमा निर्वाचित भएका हुन् । सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना र अर्का एक स्वतन्त्र संचालक समेत ७ जनाको संचालक समिति रहने ब्यवस्था छ । निर्वाचित संचालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता लीलानाथ घिमिरेले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले नेपाली हावापानी सुहाउदो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरु उपलब्ध गराइरहेको छ । कम्पनीले बाहिरी सतहको लागी १० वर्ष वारेन्टी भएको ब्रिलिएन्ट ड्याम्प प्रुफ, ७ वर्ष वारेन्टी भएको एभरगार्ड प्रिमियम इमल्सन, एभरसाइन एक्स्टेरियर इमल्सन र र एभरकोट एक्स्टेरियर इमल्सन, भित्री सतहको लागी सफिर लग्जरी इन्टेरियर, डाइसी प्रिमियम इन्टेरियर, बेल इन्टेरियर, फुच्चे बेल इन्टेरियर, एलियन इन्टेरियर इमल्सन, रोयल एक्रेलिक वासेबल डिस्टेम्पर, बेल एक्रेलिक डिस्टेम्पर, प्राईमर तर्फ प्रिमियम एक्टेरियर, इन्टेरियर प्राइमर, काठ तथा धातुमा प्रयोग हुने एभरल्याक हाइक्लास इनामेल, जुरेली सिन्थेटिक इनामेल, गैंडा बजेट एसवाइएन, इनामेल तथा त्यसमा प्रयोग हुने उड प्राइमर, मेटल प्राइमर रेड अस्साइड, लगायतका आल्मुनियम पेन्टस्, वाटर प्रुफिङ, गोल्ड पेन्ट, फ्लोर अक्साइड पाउडर, आर्ट कार्यमा प्रयोग हुने एभरेष्ट च्वाइसलगायत औधोगिक प्रयोजनको लागी प्रयोग हुने विभिन्न कलरहरु उत्पादन गर्दै आईरहेको छ । निकट भविष्यमा १२ वर्ष वारेन्टी भएको सुपर प्रिमियम एक्स्टेरियर इमल्सन बजारमा ल्याउने तयारी भईरहेको कम्पनीले जनाएको छ । अन्तराष्ट्रिय गुणस्तर ब्यवस्थापन प्रमाणिकरण प्रमाण पत्र आइएसओ ९०००१ः२०१५ प्राप्त गरिसकेको एभरेष्ट कलरले कुशल ब्यवस्थापनको साथै उत्पादनहरूको गुणस्तर, वातावरण प्रभाव प्रतिको दायित्व, कार्यस्थलमा स्वास्थ्य र सुरक्षा आदिलाई मनन गरीे अन्तराष्ट्रिय स्तरको प्रविधि तथा अत्याधुनिक मेसिनबाट उत्पादन तथा ल्याव टेस्ट गरी नेपाली बजारमा रंगहरु वितरण गरिरहेको छ ।
१० अर्ब लगानीमा पब्लिक कम्पनी स्थापना गरेका छौँ, मालिक बन्ने सुनौलो अवसर हो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले लायन्सको परोपकारी काम उदाहरणीय रहेको बताएका छन् । उनले नेपालको आर्थिक विकासमा लायन्स र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्न आफू इच्छुक रहेको बताए । बागलुङमा आज आयोजित लायन्स डिस्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भूकम्प, बाढीपहिरोजस्ता विपद्मा लायन्सको परोपकार प्रशंसायोग्य रहेको बताए । उनले आर्थिक विकासमा लायन्ससँग निजी क्षेत्रले मिलेर काम गर्दा धेरै जनतालाई रोजगारी सृजना गर्न सकिने बताए । लायन्सका सदस्यलाई उत्पादनसँग जोड्ने र निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई लायन्ससँग जोड्दै परोपरकारी बनाउन आवश्यक रहेको ढकालको भनाइ छ । ‘परोपरकार क्षेत्रमा लायन्सको बढी भूमिका देखिएको छ, अब लाइन्स निजी क्षेत्रसँग जोडिएर उत्पादनमूलक कार्यमा लाग्न आवश्यक छ, जनतालाई उद्योगसँग जोड्नका लागि १० अर्ब लगानीको नेपाल पब्लिक डेभलपमेन्ट कम्पनी स्थापना गरेका छौँ, जनता मालिक बन्ने यो सुनौलो अवसर हो, लायन्सका मित्रहरू आउनुहोस् सहकार्य गरौँ, देशको आर्थिक अवस्था उकासौँ,’ अध्यक्ष ढकालले भने । व्यवसायलाई एकीकृत गर्न सकेमा ठूलो उपलब्धि हासिल हुने भन्दै पछिल्लो समयमा निजी क्षेत्रका व्यवसायहरू एकीकृत ढङ्गले सञ्चालनमा आउन थालेको ढकालले बताए । जिल्ला जिल्लामा गरिने क्याबिनेट बैठकले पर्यटनको विकाससँगै आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उनको भनाइ छ दोस्रो क्याबिनेट बैठकमा देशभरका एक हजार सदस्यहरूको उपस्थिति रहेको डिस्ट्रिक मलिन थापाले जानकारी दिए ।
क्रसर उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुन: न्यौपाने निर्वाचित, महासचिवमा देवराज
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् । बर्दिवासमा सम्पन्न अधिवेशनबाट ३ वर्षका लागि ,वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट राम नारायण प्रसाद यादव, बागमती प्रदेशबाट देवराज लुइटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा देवराज तामांग चुनिएका छन् भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै सहसचिवमा बुद्धि प्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सदस्यमा हुमनाथ पौडेल,कुमार गिरी, तिल प्रसाद पाठक,अनोद कुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशि कुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।