टायल बजारमा लेमिनारको उदय, १२ अर्बको आयात विस्थापित गर्ने लक्ष्य

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि श्री एयरको उडान समय मध्यान्न १२ः१५ मा थियो तर जहाज उड्दा २ बज्यो । उडान ढिला भएकाले नेपालगञ्जस्थित सिद्धार्थ होटलमा २ बजे खाना खाने कार्यक्रम रद्द गरिएछ । एयरपोर्टबाट मिडिया टुरको गाडी सरासर गुलरिया-८, बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडमा पुग्यो । उद्योगभित्र छिरेका बसहरू सोझै क्यानटिनको ढोकामा पुगे । स्वादिलो समोसा, पुरी, तरकारी र चियाले सबैको भोक मर्‍यो । कम्पनीका अध्यक्ष सुब्रत धिताल, सञ्चालक अभिनव चुरिवालसहित कम्पनीका कर्मचारी पत्रकारहरूलाई उद्योग भ्रमण गराउन खटिए । करिब तीन दर्जन पत्रकारका हातमा वाकीटकी थमाए र कानमा एअरसेट लगाइदिए । १२.५ बिगा क्षेत्रफलमा फैलिएको उद्योग भ्रमणका लागि एक घण्टाभन्दा बढी समय लाग्यो । सञ्चालक अभिनव चुरिवालले उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ- विभिन्न प्रकारका माटोहरूलाई प्रशोधन गर्ने, मिश्रण गर्ने, भट्टीमा तताएर ग्यासको रूपमा विकास गर्ने, त्यसलाई पानीमा मिसाउने, त्यसपछि टायलको रूपमा विकास गर्ने, टायललाई पोल्ने, चिस्याउने, पखाल्ने, कलर गर्ने, प्रिन्ट गर्ने, गुणस्तर जाँच गर्ने, प्याकेजिङ गर्ने प्रक्रियादेखि उद्योगभित्र रहेको शोरुमसम्म सबै प्रक्रिया देखाउँदै बेलिविस्तार सुनाए । उनले उद्योगभित्र टायल कसरी बन्छ भनेर मात्र देखाएनन्, टायल कति बलियो छ र कति गुणस्तरी छ भनेर पत्रकारहरूलाई जीवन्त प्रदर्शनीसमेत गरे । उद्योगको पुरै भ्रमण गर्दा कहीं कतै फोटो, भिडियो खिच्न रोकतोक नलगाउनुले उनीहरूको पारदर्शीता र आत्मविश्वासकाे झल्को दियो । सुब्रत धिताल, श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान, अभिनव चुरिवालसहितका उद्यमीहरूले एउटा गजबको उद्योग खोलेका रहेछन् । ‘उद्योग राम्रो लाग्यो, यस्ता उद्योगले देश विकासमा मद्दत गर्छ, ’ उद्योग भ्रमणपछि कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीले साथीहरूसँग टिप्पणी गरे । लुम्बिनी सेरामिक्स लिमिटेडले गत भदौदेखि लामिनार टायल उत्पादन थालेको छ । देशका प्रमुख सहरमा १०० भन्दा बढी डिपोबाट लेमिनार बिक्री सुरु भइरहको चुरिवालले जानकारी दिए । ४ अर्ब लगानी यस उद्योगमा करिब ४ अर्ब रुपैयाँ लगानी भएको अभिनव चुरिवालले बताए । कम्पनीमा सुब्रत धितालको ३१ प्रतिशत सेयर रहेको छ भने श्यामसुन्दर खेतान, आशुतोष खेतान, चमकदार खेतान र शशि चुरिवालको १५.९ प्रतिशतका दरले सेयर रहेको छ । ५.६ प्रतिशत सेयर अन्य साझेदारसँग रहेको छ । कम्पनीको सञ्चालक समितिमा उल्लेखित पाँचजना मुख्य सेयरधनी र सृजन अर्यालसहित ६ जना रहेका छन् । यस उद्योगमा ३०० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् भने केही वरिष्ठ प्राविधिक कर्मचारी (विदेशीसमेत) आवद्ध रहेका छन् । उत्पादन क्षमता प्रतिवर्ष लगभग ४ करोड १५ लाख वर्ग फुट छ । व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स र मल, अस्पताल, अपार्टमेन्ट सबैलाई आवश्यक टायल उत्पादन गर्न थालिएको चुरिवालले बताए । अत्याधुनिक मेसिन, डडेलधुरामा खानी टायल उत्पादनका लागि स्पेन, इटाली, चीन र भारतमा विकसित प्रविधि र मेसिनहरूको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीले डिजिटल प्रिन्टर र गुणस्तर जाँच गर्ने मेसिन इटालीबाट ल्याएको छ । मसी र ग्लेज पनि स्पेन र इटालीबाट ल्याइएको छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने माटो भारतबाट ल्याउने गरिएको छ । ‘हामीले उत्पादनको सुरुवातमा भारतबाट कच्चा पदार्थ ल्याएका छौं । कच्चा पदार्थ पनि पूर्णरूपमा नेपाली नै प्रयोग गर्ने गरी काम गरिरहेका छौं, ’ चुरिवालले भने, ‘टायल बनाउने माटोको लागि डडेलधुरामा खानीको लाइसेन्स कम्पनीले पाएको छ । हामी छिट्टै उत्खननको प्रक्रियामा जानेछौं ।’ डडेलधुरामा खानी सञ्चालनमा आएसँगै टायल उद्योगले खपत गर्ने कच्चा पदार्थ, बिजुली, श्रमिक सबै नेपाली हुनेछन् । सिमेन्ट उद्योग जस्तै टायल उद्योग पनि नेपालका लागि मूल्य-श्रृंखलामा उच्च लाभ भएको र आयातलाई पूर्णरूपमा विस्तापित गर्ने उद्योगको रूपमा विकास हुने सम्भावनालाई यस उद्योगले उजागर गरेको छ । गुणस्तरसँगै छनौटका अवसर सञ्चालक चुरिवालका अनुसार लेमिनारका सबै उत्पादन १०० प्रतिशत भिट्रीफाइड टायल हुन् जुन पानी प्रतिरोधी, बलियो र गैर-छिद्र हुन्छन् । यी घर भित्र र बाहिर, भित्ता र भुइँ, आवास र व्यावसायिक स्थानमा लगाउन सकिन्छ । गुणस्तरसँग उपभोक्तालाई छनौटको अवसर पनि कम्पनीले दिएको छ । उनका अनुसार लेमिनार ब्राण्डमा ५०० भन्दा बढी प्रकारका टायल छन् जुन डिजाइन, साइज, फिनिशिङ र प्रयोगमा भिन्न छन् । मूल्य २० प्रतिशत कम हाल लेमिनारले प्रतिवर्ग फुट टाइलको उपभोक्ता मूल्य ८० देखि २०० रुपैयाँसम्म तोकेको चुरिवालले बताए । यो मूल्य विदेशबाट आयातित टायलभन्दा करिब २० प्रतिशत कम भएको उनको भनाइ छ । नेपालमा टायल बजार एकदमै प्रारम्भिक अवस्थामा रहेको र बजार खेलाडीहरूको मूल्य निर्धारण रणनीति परिवर्तनसँगै यस कम्पनीले पनि मूल्य परिवर्तन गर्न सक्ने देखिन्छ । लेमिनारको टायलको गुणस्तर र मूल्यलाई हेर्दा नेपालीहरूले भविष्यमा उच्च गुणस्तरीय टायल कम मूल्यमा किन्ने सक्ने सम्भावना देखिन्छ, जसरी नेपालमा सिमेन्ट उद्योगहरूको विकाससँगै उपभोक्ताले राम्रो लाभ पाएका छन् । टायल बजार कोभिड-१९ को महामारी आउनु अघिसम्म नेपालमा खपत हुने ९९ प्रतिशत टायल्स भारतीय उत्पादकबाट आयात हुने गरेको थियो । सन् २०१९ मा नेपालले करिब १० अर्ब ५० करोड टायल्स आयात गरेको थियो ।  नेपालमा टायलको बजार वार्षिक १० प्रतिशतभन्दा बढीले विस्तार भएको अनुमान छ र हाल करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको टायल खपत हुने अनुमान छ । नेपाली उपभोक्ताको लागि उच्च गुणस्तरका टायल उपलब्ध गराउने र आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित लेमिनार उद्योग स्थापना गरेको कम्पनीका अध्यक्ष सुब्रत धितालले बताए । ‘नेपालको प्रतिव्यक्ति टायल खपत यस क्षेत्रका देशहरूको तुलनामा कम छ । टायल खपत पनि बढ्दै जाने हामीलाई विश्वास छ । र, अबको केही वर्षमा नेपाल टाइल उत्पादन उद्योगमा पूर्ण आत्मनिर्भर हुनेछ, ’ अध्यक्ष धितालले भने । लेमिनारले बजारमा बलियो उपस्थिति जनाउँदै गर्दा अन्य ५ वटा टायल उद्योगहरू पनि सञ्चानमा आएका छन् । नेपाली वा विदेशी जुनसुकै टाइलभन्दा लामिनार टायल उच्च गुणस्तरको भएको र मूल्य पनि प्रतिस्पर्धी भएकोले बजारमा आफूहरू लिडर बन्ने विश्वास सञ्चालक अभिनव चुरिवालको छ । हाल देशका मुख्य सहरमा १०० भन्दा बढी लेमिनार टायलको डिलरहरू सञ्चालनमा आइसकेको र देशका सबै सहरमा उपस्थिति जनाउने उनले बताए । आर्थिक मन्दीले निर्माण क्षेत्रमा पनि मन्दी निम्त्याएको छ । टायल्सलगायत निर्माणसँग सम्बन्धित कुनै पनि उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती यही हो । अरूको नक्कल गर्दै व्यवसायमा लगानी गर्ने संस्कार पनि छँदैछ । नयाँ कम्पनी थपिँदै जाँदा सबै कम्पनीको व्यावसायिक जोखिम बढ्दै जाने देखिन्छ । तर नेपालमा टायल उद्योग आयात प्रतिस्थापनको लागि एकदमै राम्रो अवसर रहेको छ । १० समूहका टायल कम्पनीले आफ्ना उत्पादनहरूलाई विभिन्न १० समूहमा वर्गीकरण गरेको छ । पानी प्रतिरोधी, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, टेरेस र बालकोनी, आवासीय क्षेत्र, अनुहार, व्यावसायिक क्षेत्र इत्यादिका लागि सतह कायम राख्न उपयोगी ‘म्याट’ एउटा समूह हो । त्यस्तै, पानी प्रतिरोधी, मर्मत गर्न सजिलो, शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको भित्ता, व्यावसायिक क्षेत्र इत्यादिका लागि उपयुक्त चमकदार सतह भएको ‘चम्किलो’ टायल । लेमिनारको अर्को समूह हो म्याट नक्काशी जुन पानी प्रतिरोधी हुन्छ । यो टायल शयनकक्षको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको भुइँ र पर्खाल, भान्साको भुइँ र पर्खाल, व्यावसायिक क्षेत्रमा सजावटी रूपमा सुन्दर तरिकाले राख्न सकिन्छ । उच्च चमक अर्थात अल्ट्रा-चमक भएको अर्को समूहको टायल पानी प्रतिरोधी र सतह मर्मत गर्न सजिलो हुन्छ, जुन बेडरुमको भुइँ र पर्खाल, बैठक कोठाको भुइँ र पर्खाल, बाथरुमको पर्खाल, भान्साको पर्खाल र व्यावसायिक क्षेत्रमा मार्बलको विकल्पको रूपमा व्यापक रूपमा प्रयोग गरिन्छ । कम्पनीले विशेष गरी पार्किङ, टेरेस, बाल्कोनी, पैदल मार्ग, बगैंचालगायतका सुख्खा र भिजेको बाह्य वातावरणमा सुरक्षाको लागि डिजाइन गरिएको उच्च-ग्रिप सतह भएको टायल पनि उत्पादन गर्छ । त्यस्तै, ठूला मल, सार्वजनिक भवन, कार्यालय भवन, लबी र लिफ्ट, पार्किङ, टेरेस र बालकोनी र अन्य निजी तथा व्यावसायिक स्थानहरू जस्ता उच्च ट्राफिक क्षेत्रहरूमा प्रयोग हुने १०० प्रतिशत एकरूपी पहिरन प्रतिरोधी टायलका लागि फुल बडी टायल बनाएको छ । त्यस्तै, व्यस्त क्षेत्रहरू जस्तै होटल, रेस्टुरेन्ट, स्टोर, बैठक कोठा, फोयर र अन्य व्यावसायिक स्थानहरूका लागि डिजाइन गरिएको विलासी अनुभूतिसहितको अतिरिक्त कडा सतह भएका घर्षण प्रतिरोधी टायल पनि उत्पादन गरेको छ । ‘स्थायित्व, डिजाइन र समाधान’ तीनवटै मोर्चामा प्रभावकारी हुन १०० प्रतिशत भिट्रीफाइड टायलहरूको पूर्ण दायरा विकास गरेका छौं । ग्राहकले लेमिनारमा सबै प्रकारका टायल पाउन सक्नेछन्, ’ सञ्चालक चुरिवालले बताए । १०० प्रतिशत भिट्रीफाइड पानी प्रतिरोधी हुने, कुनै पनि क्षति बिना अधिक लोडभार ग्रहण गर्न सक्ने, निर्माणको क्रममा ज्यादै कम क्षति हुने उनले बताए । नेपालको पहिलो १०० प्रतिशत भिट्रीफाइड टायल लेमिनार नै भएको पनि उनको दावी छ ।

नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै, छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या

काठमाडौं । पाल्पाका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको गुनासो गरेका छन् । व्यवसायी अशोक श्रेष्ठले स्थानीय तह, घरेलु र कर कार्यालयमा छुट्टाछुट्टै राजस्व तिर्नुपर्ने समस्या परेको बताए । दसौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा रामपुरमा आयोजित कार्यक्रममा सहभागीले व्यवसाय सञ्चालनको क्रममा नाम तथा उद्देश्य सच्याउनुपर्ने अवस्थामा नाम परिवर्तन गर्दा दर्ताभन्दा बढी शुल्क बुझाउनुपर्ने अवस्था रहेका बताएका थिए । यस्तो विद्यमान अवस्थालाई परिवर्तनको आवश्यक उनीहरुको सुझाव थियो । कार्यक्रममा राज्यको कर नीति र अनुगमनको नीति परिवर्तन गर्नुपर्ने रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताए । उनले सङ्घले उद्योगी र व्यवसायीलाई परेको विभिन्न समस्या समाधानका लागि सङ्घले सहजिकरण गर्दै आइरहेको बताए । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र रामपुर उद्योग वाणिज्य सङ्घको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्योग व्यवसायलाई प्रवद्र्धनका लागि प्रदेश सरकारले औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन ल्याएको जानकारी दिए । ‘ऐन प्रमाणित भएर कार्यान्वयनको चरणमा रहेको छ, नाम परिवर्तनको क्रममा देखिएको समस्या समाधानको लागि पहल गरिनेछ, हामीले व्यवसायी तथा उद्योगीको हितका लागि सहज हुने गरी कार्य गर्ने प्रयत्न गरेका छौँ,’ उनले भने । पाल्पामा हाल ३ हजार ७५६ उद्योग र ४ हजार २८५ वाणिज्य फर्म सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिए । पछिल्लो समय जिल्लामा उद्योग दर्ताभन्दा धेरै खारेज गर्नेको सङ्ख्या बढेको उनले बताए । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहमा स्थानान्तरण हुने गरेपछि कार्यालयमा नयाँ दर्ता गर्ने व्यवसायी तथा उद्योगी कम हुँदै गएका हुन् । सङ्ख्यागत रुपमा जिल्लामा उद्योगी तथा व्यवसायी बढेका छन् भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने सङ्ख्या भने कम देखिएको छ ।

नेपाल निप्पोन चेम्बर अफ कमर्सको स्थापना, नेपाल र जापानको व्यापार सम्बन्ध विस्तार गर्ने उद्देश्य

काठमाडौं । नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज (एनएनसीसीआई) को स्थापना भएको छ। नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन र आर्थिक सम्बन्धलाई समृद्ध गर्न नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको स्थापना गरिएको हो । उक्त संस्थाको नेतृत्व उद्यमी सौरभ ज्योतिले गर्ने भएका छन् । उनी ज्योति ग्रुपका अध्यक्ष पनि हुन् । यो संस्था सामाजिक सेवामूलक र गैरनाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको हो । संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । आइतबार जापानी दूतावासका मिशन उप-प्रमुख तामुरा ताकाहरोले नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजको कार्यालय एक कार्यक्रमका बीच उद्घाटन गरे । यस संस्थाको आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको छ । यसको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार शुल्क दिई सदस्यता प्राप्त गर्न सक्नेछन् । यद्यपि सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन। संस्थाले समाज कल्याण ऐन, २०४९ तथा कम्पनी ऐन, २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्व स्वीकृति लिने पत्रकार सम्मेलनमा जनाइएको छ । एनएनसीसीआईको उपाध्यक्षमा ऋतुसिंह वैद्य र कोषाध्यक्ष तुषारधर तुलाधर बनेका छन् । सचिवमा विजयसिंह वैद्य, सुहिद राज घिमिरे, दिनेश तुलाधर र अंकुर झुनझुनवाला निर्वाचित भएका छन् । यसैगरी संस्थाको सदस्यमा पद्ममा ज्योति, सुरज वैद्य र त्रिभुवन धर तुलाधर बनेका छन् । यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २० मा रहेको छ ।