महासंघले लगानी प्रवद्र्धनमा नियोगहरुलाई सघाउँछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । ‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छौ,’ उनले भने, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे । यसैगरि अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने बताए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवं चेम्बरहरुसंग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे । नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो,’ ढकालले भने । ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२ प्रतिशत मात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको बिषय हुनुपर्ने उनको धारणा थियो । छलफलका क्रममा उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरुले सदुपयोग गर्न सक्छन्,’ उनले भने । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । ‘पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन, र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्यौं,’ उनले भने । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो । मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना रहेको औल्याउनु हुँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको बताए । अन्य मुलुकहरुमा पनि नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध समस्याका रुपमा रहेको बताए । यसैगरि नेपाल अतिकम बिकसित मुलुकहरुबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तराष्टियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने बताए । यस्तो प्रभाव कम गर्न नव नियुक्त राजदूतहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए । छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको बताए । यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउँदै सहकार्य गरिने बताए । बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने बताए । चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने बताए । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिमल्सेनाले निजी क्षेत्रसंग मिलेर काम गर्ने बताए ।
युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ, सञ्चित नाफा ५ अर्ब २८ करोड पुग्यो
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ४.६३ प्रतिशत घटेको देखिन्छ । असोज मसान्तसम्म कम्पनीले २ अर्ब २५ करोड ४५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । असोजसम्म कम्पनीको अन्य आम्दानी २ करोड ६७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी २ अर्ब २८ करोड १२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ७९ लाख रुपैयाँ र कुल आम्दानी २ अर्ब ३५ करोड ३० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कस्ट अफ मेट्रियल कन्जम्ड १ अर्ब २ करोड ५१ लाख रुपैयाँ, कर्मचारी खर्च १७ करोड ७७ लाख रुपैयाँ, वित्तीय खर्च ९० लाख रुपैयाँ गरी कुल खर्च १ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको कुल खर्च १ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ थियो । गत वर्षको तीन महिनामा १२ करोड ८ लाख रुपैयाँ कर खर्च छट्याएको कम्पनीले यसपटक ११ करोड ६८ लाख रुपैयाँ छट्याएको छ । ९ करोड २१ लाख रुपैयाँ पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड १३ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चित नाफा ४ अर्ब ८२ करोड १४ लाख रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी ५७२ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २५० गुणा छ भने प्रतिसेयर नेटवर्थ ५ हजार ३३७ रुपैयाँ रुहेको छ ।
लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे । ‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्याउने सोंच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ अध्यक्ष ढकालले भने । मुलुकमा विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ,’ उनले भने । अध्यक्ष ढकालले गण्डकी प्रदेश र गैंडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए । हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए । आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको दावी पनि गरे । उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे ।