२ महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन, ३३ लाख निकासा

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलाई हस्तान्तरण गरेको छ । मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि हालसम्म भएका काम र आगामी कार्ययोजनासहितको प्रतिवेदन बुझाएको हो । मन्त्रालयका अनुसार प्रतिवेदन औपचारिक रूपमा बुझाइए पनि परीक्षण उत्पादनको तयारी भने यसअघि नै सुरु भइसकेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयले उद्योगका मेसिन मर्मत र अन्य प्राविधिक तयारी अघि बढाइसकेको छ ।  सरकारले दिएको निर्देशनानुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्नुपर्ने म्याद पाएको छ । सोही म्यादलाई ध्यानमा राखेर हाल तीव्र रूपमा काम अगाडि बढिरहेको प्रतिवेदनमा उल्लेख छ । उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ, जसले गर्दा प्रारम्भिक कामहरू गर्न सहज भएको छ । कारखाना सञ्चालनको जिम्मेवारी पाएसँगै नेपाली सेनाको प्राविधिक टोलीले उद्योग स्थलमा खटिएर सरसफाइ कार्य तीव्र पारेको छ । टोलीले परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको र सेनाको उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिन मर्मतको काम प्रारम्भ गरेको छ । उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयबाट ५० लाख रुपैयाँको लागत अनुमान पेस भएको छ । सोही अनुमानका आधारमा पूर्वाधार मन्त्रालयले संरचनाहरू मर्मत गर्ने जिम्मेवारी लिएको छ । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हाल हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ र हालसम्म बिजुली मर्मतको कामसमेत सम्पन्न भइसकेको प्रतिवेदनमा उल्लेख छ । तत्कालका लागि परीक्षण उत्पादनकै उद्देश्यले पुराना मेसिनहरूलाई मर्मत गरेरै सञ्चालन गरिनेछ । परीक्षण उत्पादनको नतिजा र आधारमा उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । सोही अनुरूप आवश्यक कानुनी तथा अन्य नीतिगत निर्णयहरू गर्दै सरकार अगाडि बढ्ने प्रतिवेदनमा औंल्याइएको छ । उद्योगमन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताइन् । उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै तोकिएको समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा भण्डारी निर्वाचित

काठमाडौं । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छिन् ।  आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारीले आफ्ना निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित भएको निर्वाचन समितिका संयोजक टङ्क दुलालले जानकारी दिए ।  अन्तिम मतपरिणामअनुसार भण्डारीले ७५८ मत प्राप्त गरिन् भने काफ्लेले ७४३ मत प्राप्त गरेको उनले बताए ।  त्यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन् ।    महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् ।  उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना  र किसनकुमार खेडिया निर्वाचित भएका छन् । दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

प्रधानमन्त्रीलाई एफएनसीसीआईको सुझाव–सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता हुनुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले मुलुकमा लगानी प्रवद्र्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामकभन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने सुझाव दिएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्तामा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यस्तो सुझाव दिएका हुन् । भेटका क्रममा अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले अघि सारेको परिवर्तन, रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको अवधारणालाई व्यवहारमा उतार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पु‍र्याउने निजी क्षेत्र हाल गम्भीर चुनौतीको सामना गरिरहेको उनले उल्लेख गरे । बजारमा न्यून माग, लगानीमा आएको सुस्ती तथा अत्यधिक नियामकीय दबाबका कारण व्यवसायीहरूको मनोबल कमजोर भएको महासंघको भनाइ छ । आर्थिक लक्ष्य हासिल गर्न ‘ट्र्याप’ बाट निस्कनुपर्ने चुनौती अध्यक्ष श्रेष्ठले सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर, आगामी ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु‍र्याउने, १५० खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने तथा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य स्वागतयोग्य रहेको बताए । तर, ती लक्ष्य हासिल गर्न अर्थतन्त्रलाई ‘क्रेडिट, लिक्विडिटी र एसेट ट्र्याप’ (कर्जा, तरलता र सम्पत्तिको चक्रव्यूह) बाट बाहिर निकाल्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो । नेपालको अर्थतन्त्र उत्पादनमुखीभन्दा उपभोगमुखी बन्दै गएको र करिब ७० प्रतिशत आयातमा निर्भर रहनु चिन्ताको विषय भएको भन्दै महासंघले स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति आवश्यक रहेको जनाएको छ। उद्योगहरूलाई कच्चा पदार्थको प्रयोगका आधारमा शतप्रतिशत स्वदेशी, मिश्रित र शतप्रतिशत आयातित उद्योगका रूपमा वर्गीकरण गरी फरक–फरक नीति अवलम्बन गर्न तथा एसेम्बलिङ र कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङलाई प्रोत्साहन गर्न महासंघले सुझाव दिएको छ । पुराना ऐन खारेजी र नीतिगत सुधारको माग महासंघले बजेटमा घोषणा गरिएका कालोबजारी ऐनसहित १५ वटा पुराना ऐन खारेज गर्ने व्यवस्था, सनसेट कानुन, उधारो असुली कानुन तथा बौद्धिक सम्पत्ति संरक्षण कानुनलाई शीघ्र कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।  संकटमा परेका साना, घरेलु तथा मझौला उद्योगको पुनरुत्थानका लागि विशेष ‘पुनर्संरचना तथा उत्प्रेरणा प्याकेज’ ल्याउन पनि ध्यानाकर्षण गराइएको छ । यस्तै, बैंकिङ क्षेत्रमा रहेको अधिक तरलता र बढ्दो खराब कर्जा व्यवस्थापनका लागि कम्पनी ऐनमा रहेको सीमित दायित्वको व्यवस्थालाई बैंकहरूले पूर्ण रूपमा पालना गर्नुपर्ने, सफ्ट लोनको व्यवस्था विस्तार गर्नुपर्ने तथा रुग्ण उद्योगलाई दामासाही ऐनमार्फत पुनर्जीवन दिनुपर्ने महासंघको सुझाव छ ।  बैंकको वाचलिस्ट, कालोसूचीसम्बन्धी प्रावधान तथा चालु पुँजी कर्जा मार्गदर्शनलाई बैंक र ग्राहकबीचको सहमतिमा पुनरावलोकन गर्न र बजारमा तरलता प्रवाह बढाउन बैंकहरूलाई लाभांश वितरणमा लचिलो नीति अपनाउन पनि महासंघले आग्रह गरेको छ । विकास निर्माणमा पीपीपी मोडल र कृषिको व्यवसायीकरण कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रीकरणका लागि कन्ट्र्याक्ट फार्मिङको नीति ल्याउनुका साथै भेरी–बबई, सिक्टा र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका आसपासका क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्नुपर्ने महासंघले जनाएको छ । यसैगरी, विशेष आर्थिक क्षेत्र (सेज), निर्यात प्रवद्र्धन क्षेत्र (इपीजेड), सुख्खा बन्दरगाह, प्रदर्शनी केन्द्र, सुरुङमार्ग तथा सडक पूर्वाधार र पर्यटकीय सम्भावना भएका जिल्लाहरूमा स्वदेशी उत्पादनको बिक्री तथा प्रदर्शनी कक्ष निर्माणमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सुझाव दिइएको छ । ‘मिडिया ट्रायल’ रोक्न र सम्पत्ति विवरण बुझाउने व्यवस्था हटाउन माग सरकारी बोर्ड तथा समितिमा संस्थागत प्रतिनिधित्वका रूपमा सहभागी हुने निजी क्षेत्रका प्रतिनिधिलाई सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाप्रति महासंघले असहमति जनाएको छ ।  निश्चित अवधिका लागि बोर्डमा बस्ने व्यक्ति सरकारी नियुक्ति वा लाभको पद नभएकाले व्यक्तिगत सम्पत्ति विवरण पेस गर्न बाध्य पार्नु न्यायोचित नहुने अध्यक्ष श्रेष्ठले बताए । वित्तीय क्षेत्रका त्रुटिलाई फौजदारी मुद्दाभन्दा जरिवानामार्फत सम्बोधन गर्नुपर्ने, अग्रिम जमानतको व्यवस्था गर्नुपर्ने तथा अनुसन्धानका क्रममा रहेका विषयमा व्यक्तिगत गोपनीयताको सम्मान गर्दै ‘मिडिया ट्रायल’ रोक्नुपर्ने महासंघको माग छ ।  नेपालको कर–टु–जीडीपी अनुपात दक्षिण एसियामै उच्च रहेकाले व्यवसायिक लागत घटाउन संघ, प्रदेश र स्थानीय तहका करलाई एकीकृत गरी ‘युनिफाइड ट्याक्स कोड’ लागू गर्न महासंघले प्रस्ताव गरेको छ । साथै उद्योगका लागि जग्गा हदबन्दीमा विशेष छुट, ईआईए र आईईई प्रक्रिया सरलीकरण गर्न तथा निर्यातकर्ताले पाउन बाँकी करिब ५ अर्ब रुपैयाँ बराबरको निर्यात प्रोत्साहन भत्ता कर वा भन्सार मिलानमार्फत तत्काल भुक्तानी गर्न माग गरिएको छ ।  महासंघको पहलमा तयार भई सरकारबाट स्वीकृत भइसकेको निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (पीएसपीपी) र उच्चस्तरीय आर्थिक सुधार आयोगका सिफारिसहरू तत्काल कार्यान्वयनमा लैजान पनि आग्रह गरिएको छ । सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्छ : प्रधानमन्त्री सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने हुँदा सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अगाडि बढ्ने धारणा राखेका छन् । ‘भेटमा निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था र समाधानको उपायबारे हामीले खुलेर प्रधानमन्त्रीसँग छलफल गर्यौं,’ भेटवार्तापछि अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले पूर्वाधार विकासको काम सरकारले गर्ने र आर्थिक विकासको काम निजी क्षेत्रले गर्ने उल्लेख गर्दै त्यसको सहजीकरणका लागि सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले यस्ता भेटघाटलाई निरन्तरता दिने बताउनुभएको छ, यसलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ ।