मापदण्डविपरीत सञ्चालनमा रहेको शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना
बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डष्ट्रिद्वारा सञ्चालित सोडा उद्योगलाई साइनबोर्ड राखेर कारोवार गर्न सात दिनको म्यादसमेत दिएको छ । बाँकेका सहायक प्रमुख अधिकारी कृष्णकान्त उपाध्यायको नेतृत्वमा गएको टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरीलगायतको सहभागिता थियो । रासस
असोज १० गते देखि मेड इन नेपाल वस्तु तथा सेवा प्रदर्शनी
काठमाडौं । असोज १० देखि ११ गतेसम्म सानेपाको हेरिटज गार्डेनमा ७ औं ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ हुने भएको छ । ‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नाराका साथ स्वदेशमै उत्पादन भएको सम्पूर्ण सामाग्रीको सम्बर्दन, प्रवर्दन र बजारिकरण गर्ने उद्देश्यले युवा उद्यमी मञ्चले उक्त प्रदर्शनीको आयोजना गर्ने भएको हो । बुधवार राजधानीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रदर्शनीको बारेमा जानकारी गराए । युवा उद्यमी मञ्चका अध्यक्ष निकोलस पाण्डेले प्रदर्शनीमा स्वदेशमै उत्पादित गुणस्तरिय वस्तु तथा सामाग्रीहरु राखिने बताए । प्रदर्शनीमार्फत नेपाली वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विस्तरमा सहयोग पुग्ने छ । उनले भने- नेपाली वस्तुप्रति चासो बढाउन तथा स्वदेशि उत्पादन पनि गुणस्तरिय हुन्छ भन्ने विश्वास दिलाउन प्रदर्शनी महत्वपूर्ण रहने छ । प्रदर्शनीमा ७० वटाभन्दा धेरै स्टल रहने छन् । युवा उद्यमी मञ्चमा ४५० जना सदस्य रहेका छन् । मेलामा साना बस्तु उत्पादकहरुलाई निशुल्क स्टलको पनि व्यवस्थापन गरिएको छ भने प्रदर्शनी प्रवेश नि:शुल्क रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा ७५ ओटै जिल्लाका आ-आफ्ना ठाँउका पहिचान बोकेका वस्तु तथा सेवाहरुको सहभागिता रहनेछ । लाखौको संख्यामा अवलोकनकर्ता तथा ग्राहकहरुले प्रदर्शनीको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित
तनहुँ । जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी, उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् । खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, क्वालिटी एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग छन् । त्यसैगरी, म्याग्दे गाउँपालिकामा रहेका ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज र सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेका कार्यालयले जनाएको छ । त्यस्तै, आबुखैरेनी गाउँपालिकाकोको एसजी रोडाढुङ्गा उद्योग र छिम्केश्वरी रोडा ढुङ्गा उद्योग छन् । जिल्लाका देवघाट र आबुखैरेनीका दुई क्रसर उद्योगले भर्खरै नयाँ मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा ल्याएका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टानको उत्खनन र सङ्कलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५०० मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५०० मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकायबाट ५०० मिटर बाहिर हुनुपर्ने प्रावधान छ । यहाँ सञ्चालित कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेकाले मापदण्ड पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख नारायणप्रसाद ढकालले बताएका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएकाले ती क्रसर उद्योगले विसं २०७२ देखि नवीकरणसमेत गरेका छैनन् । उद्योग बन्द गर्दा विकास निमार्णका काम प्रभावित हुने हुँदा चाँडै नै नयाँ मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिइएको सो कार्यालयले जनाएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मापदण्ड पूरा नगर्ने क्रसर उद्योगलाई साउनदेखि नै बन्द गर्न निर्देशन दिएको बताएका छन् । रासस