गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजयी भए अर्याल
वालिङ । गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी भएका हन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गरेका थिए । नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली काङ्ग्रेस निकटको लोकतान्त्रिक समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षसहित अन्य तीन सदस्य पदमा विजयी भएका छन् । प्रगतिशील समूह अध्यक्ष, कोषाध्यक्षसहित दुई सदस्य पदमा विजयी भएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण चापागाईंले बताएका छन् । अध्यक्षमा विजयी अर्याल २२५, वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी २३२, उपाध्यक्ष बाबुराम पाण्डे २१७, महासचिव कृष्णप्रसाद भट्टराई २७४, सचिवमा उमा श्रेष्ठ २५३, कोषाध्यक्षमा बलराम श्रेष्ठ २१४, सहकोषाध्यक्षमा होमलाल भट्टराई २२८ मतका साथ विजयी भएका हुन् । त्यसैगरी, सदस्यमा गुमप्रसाद थापा, नरबहादुर गुरुङ, ऋषि बस्याल, हुमकान्त पाठक र चिन्तामणि अर्याल विजयी भएका छन् । चार सय ७० मतदाता रहेको गल्याङ उद्योग वाणिज्य सङ्घको शनिबार भएको मतदानमा ४४५ मत खसेको थियो । रासस
ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी
रियाद । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो । बिहानै लागेको दुवै आगलागी हाल नियन्त्रणमा आइसकेका सरकारी समाचारमाध्यमले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो । आगलागीबाट कति क्षति भयाे भन्ने तथ्यांक आउन समय लाग्ने स्राेतले जनाएकाे छ । स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ । रासस/सिन्ह्वा
इँटा उद्योगीद्वारा प्रत्येक हप्ता कामदारलाई ३० करोड भुक्तानी
विराटनगर । नेपालका इँटा उद्योगीहरुले प्रत्येक हप्ता रु ३० करोड रकम ग्रामीण क्षेत्रका कामदारलाई भुक्तानी गर्ने गरेको आज यहाँ आयोजित कार्यक्रममा बताइएको छ । कोशी अञ्चल इँटा उद्योग व्यवसायी सङ्घको नवौँ साधारणसभामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विदेशी कामदारलाई न्यूनीकरण गरी स्वदेशी कामदारलाई दक्ष बनाई रोजगार उपलब्ध गराउनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रमा गरिबी निवारणमा ठूलो भूमिका निर्वाह गरेका उद्यमीहरुले इँटाको तौल घटाई गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्री कार्कीले पानी र असिनाबाट उद्योगीहरुलाई हुने क्षति न्यूनीकरण गर्न कानूनी, व्यवस्थापकीय लगायतका अन्य सहयोग गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे । प्रदेशसभा सदस्य जयराम यादवले उद्यमीले जनस्वास्थ्यमा क्षति नपुर्याउने स्वदेशी तथा विदेशी उपकरण प्रयोग गर्न अनुदानलगायत भन्सार छुट उपलब्ध गराउन सहयोग गर्ने बताएका हुन् । सङ्घका अध्यक्ष महेन्द्रप्रसाद साह, महासचिव अरुण प्रधान, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले नेपाल इँटामा आत्मनिर्भर रहेको जानकारी दिएका छन् । इँटा उद्योगले नेपालको कूल गार्हस्थ्य उत्पादनमा दुई प्रतिशत योगदान दिएको छ । नेपाल सरकारमा दर्ता भएका एक हजार ४०० र सङ्घमा दर्ता भएका एक हजार इँट्टा उद्योग विभिन्न जिल्लामा सञ्चालनमा रहेका छन् । सङ्घले आज सहमतिका आधारमा नेतृत्व चयन गर्ने छ । रासस