अर्घाखाँची पीपीसी सिमेन्ट आइतबारदेखि नेपाली बजारमा

काठमाडौं । ओपीसी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट प्रालिले पिपिसी सिमेन्ट आइतबारदेखि नेपाली बजारमा ल्याएको छ ।नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले कम्पनीलाई एनएस चिन्ह प्रदान गरेसँगै कम्पनीले आइतबारदेखि पिपिसी सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याएको हो । कम्पनीले बिगतमा ओपीसी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पिपिसी सिमेन्टको उत्पादन थालेको जनाएको छ । कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनिक एफएल स्मितको दनिश प्रविधिको भीआरएम मेशिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको जनाएको छ । एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइन मार्फत ओपीसी र पीपीसी उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट कम्पनी भएको जनाएको छ । अर्घाखाँची पीपीसी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने,‘हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं । नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पीपीसी सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं ।’

कानुन विपरित कार्य गर्ने उद्योगी, व्यवसायीलाई सजाय दिन नहिच्किचाउ : राज्यमन्त्री चौधरी

काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ११ औं खाद्य स्वच्छता दिवसको मनाएको छ । साे कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासराज्यमन्त्री चौधरीले कानुन विपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन आग्रह गर्दै गुणस्तरीय उत्पादनलाई प्रोत्साहन र न्यून गुणस्तरको उत्पादनलाई झुक्काई विक्री वितरण गर्नेलाई कारवाही गर्नुपर्ने बताए । विभागले अझै आफ्नो भुमिका विस्तार गर्न अनुगमनलाई तिब्रता दिई आम जनसमुदायमा खाद्य स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गराई अगाडी बढ्नु पर्ने राज्यमन्त्री चौधरीले भने । उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री खनालले जनचेतनाको माध्यमबाट खाद्य स्वच्छता सम्बन्धी विषयलाई अगाडी बढाउनका लागि शिक्षणसंस्था तथा विद्यार्थीको विशेष भुमिका रहने बताए । उनले भने ‘खाद्य स्वच्छता र सुरक्षामा हाम्रो परम्परा, धर्म संस्कृति भन्दा माथि उठेर खानेबानीमा परिवर्तन गर्नु आवश्यक रहेको कुरा जोड दिँदै सबैजना नीति नियम र कानुनको दायरामा रहेर हरेक क्षेत्रमा आफ्नो जिम्मेवारी निभाउन सके मात्र खाद्य स्वच्छता कायम हुन सक्छ ।’ मन्त्रीले विभागको संरचना विस्तार गरिएको बताउँदै सोही बमोजिम बढी खाद्य स्वच्छता कायम राख्न नियमित अनुगमन तथा क्वारेन्टाइन जाँचलाई अझै मजबुत बनाउने निर्देशन दिए । कार्यक्रम विभागको प्राङ्गणबाट शुरु भएको हो भने कर्मचारी, उपभोक्ता संघसंस्था, विद्यार्थी, उद्यमी, व्यवसायी लगायतका विभिन्न निकायका सरोकारवालाहरुको संलग्न प्रभातफेरी जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पुगी विसर्जन भएको थियो । सन्देशहरु समावेश भएका प्लेकार्ड सहितको प्रभातफेरीको क्रममा खाद्य स्वच्छता सम्बन्धी चेतनामुलक पर्चा सर्वसाधारणलाई वितरण गरियो । कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.गोविन्दप्रसाद शर्माले मासु तरकारी र दुधमा बढी ध्यान दिएर प्रभावकारी अनुगमन गर्न सुझाव दिँदै आवश्यक सहयोगको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सभाध्यक्ष विभागका महानिर्देशक संजीवकुमार कर्णले खाद्य स्वच्छता दिवसको सान्दर्भिकता उद्देश्यका साथै महिनाव्यापी भएको कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै सरोकारवालाहरुको यसमा मुख्य भुमिका हुने कुरामा जोड दिएका थिए । खाद्य स्वच्छता महिना मनाउने क्रममा स्वच्छता र गुणस्तर कायम गर्न मुख्य सरोकारवाला तथा विभाग र विभागको मातहतमा रहेका ६ कार्यालयहरु, २४ शाखा कार्यालयहरु र १२ आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरुबाट देशव्यापी रुपमा जेठ महिना भरी विभिन्न क्षेत्रमा आवद्ध व्यापारी, व्यवसायी तथा सर्वसाधारण एवं सरोकारवाला निकायबीच अन्तरक्रिया भई सो कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हलमा सम्पन्न मूल समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री खनालले उत्कृष्ट खाद्य उत्पादन गर्ने उद्योग, विशिष्ट व्यक्ति, कर्मचारी र सरोकारवाला निकायलाई पुरस्कृत तथा सम्मान गरेका हुन् । मन्त्रीले हिमालायज स्प्रिंग वाटर प्रा.लि, धुन्चे ८, रसुवा तथा घरेलु साना उद्योग मध्येबाट कंचन पाउरोटी उद्योग, बिर्तामोड ४ झापा, श्री साई ड्रीकिंग वाटर ईन्डष्ट्रिज जनकपुर, पौडेल बेकरी हेटौडा ४, मकवानपुर साइकृपा चिया उद्योग, बुटवल, रुपन्देही हुलास खाद्य उद्योग प्रा.लि. कोहलपुर, बाँके अभिषेक मौरी पालन फर्म, घोडाघोडी न.पा.२, कैलाली रनेपाल अर्गेनिक कफी प्रोडक्ट्स, तीनथाना काठमाडौंलाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस्तै केन्द्रिय प्रविधि क्याम्पस धरानका सहायक डिन प्रा.डा. धनबहादुर कार्कीलाई सम्मान गरिएको हो भने विभागका काम गर्ने उत्कृष्ट कर्मचारीलाई पुरस्कार गरेका हुन् ।

दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै ऋद्धिसिद्धि, केही महिनाभित्रै ६० हजार उत्पादन गर्ने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा अहिले दैनिक २० हजार बोरा सिमेण्ट उत्पादन गर्दै आएकोे छ । उक्त उद्योगले आगामी केही महिनाभित्रै कूल क्षमताअनुसार दैनिक ६० हजार बोरा सिमेण्ट उत्पादन गर्ने जनाएको छ । उद्योगलाई दैनिक आवश्यक पर्ने १० हजार मेट्रिक टन कच्चापदार्थ (चुनढुङ्गा) मकवानपुरको कैलाश गाउँपालिकाको राक्सिराङ्ग, भीमफेदी गाउँपालिकाको निबुवाटार, चितवनको शक्तिखोर र उदयपुरको चुनढुङ्गा खानीबाट ल्याएर भण्डारण गरिएको सो उद्योगले जनाएको छ । ऋद्धिसिद्धि ब्राण्डको सो सिमेण्ट अहिले काठमाडौँ, विराटनगर, झापा, जनकपुर, पोखरा र हेटौँडामा सुपथ मूल्यमा वितरण भइरहेको उद्योगका क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले राससलाई जानकारी दिए । उनका अनुसार सिमेण्ट उद्योग व्यवस्थापनले युरोपेली प्रविधि र रोबोटको माध्यमबाट गुणस्तरीय सिमेण्ट उत्पादन गरिरहेको छ । हाल सो उद्योगको प्रशासन, प्रयोगशाला, भण्डारण, प्रविधि र श्रम क्षेत्रमा करीब ३०० ले काम गरिरहेका छन् । हेटौँडामा यसअघि हेटौँडा सिमेण्ट र शिवम् उद्योगका सिमेण्ट उत्पादन हुँदै आएको थियो । रासस