लामो समयदेखि बन्द रहेका पाँचवटा उद्योगलाई कारवाही गरिने

काठमाडौं । विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकम समेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । सेड भाडामा लिएर वर्षैदेखि उद्योग सञ्चालन नगर्ने र भाडावापतको रकम समेत नबुझाउने प्रवृति बढेपछि कृष्णा खाद्य उद्योग, पदमा ज्योति प्लाष्टिक उद्योग र टि एण्ड कफी सेन्टरको नाममा लिएको सेड खाली गराइएको छ भने महालक्ष्मी खाद्य उद्योग र एस एण्ड इलेक्ट्रोनिक्स उद्योगको सेड खाली गराउने प्रक्रिया अघि बढाएको औद्योगिक क्षेत्र व्यवस्थापना कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिए । खाली गराइएका सेडमा नयाँ उद्योग सञ्चालनका लागि आवश्यक प्रक्रिया समेत शुरु गरिसकेको प्रमुख आचार्यले बताए । औद्योगिक क्षेत्रमा अहिले मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्ड्रष्ट्रीज र कोशी पोलिमर्स प्रालि सञ्चालनमा रहेका छन् भने कान्तिपुर प्लाष्टिक इण्डष्ट्रिज र उषा जल उद्योग केही महीनाभित्रै सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । यस्तै बन्द रहेको माँ भगवती कृषि सहकारी संस्था लिमिटेडको टमाटर प्रशोधन उद्योगले भाडावापतको बाँकी बक्यौता रकम बुझाएर सञ्चालन गर्न लागेको जनाएको छ । शान्ति सुरक्षा, खानेपानी, बिजुली लगायतको समस्या झेल्दै आएको औद्योगिक क्षेत्रमा उद्योग प्रवर्द्धन गर्नका लागि सरकारले पहिलो पटक यसवर्ष पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेकाले ती समस्या समाधान हुने प्रमुख आचार्यको भनाइ छ । कूल २९४ रोपनी (साढे २२ बिघा) मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत् टेलिफोनलगायत सम्पूर्ण सुविधा सम्पन्न १० वटा घरेलु उद्योग सञ्चालन गर्नसक्ने क्षमता छ । रासस

जेठ १ गते देखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आउने

काठमाडौं । सरकारले उद्योग विभाग अन्तरगतको एकल बिन्दु सेवा केन्द्र जेठ १ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेको सरकारको नीति तथा कार्यक्रममा एकल एकल  बिन्दु सेवा केन्द्र जेठ देखी सञ्चालन गर्न लागेको बताईएकी हुन् । उद्योगी व्यवसायीलाई सहज ढंगले सेवा पुर्याउन केन्द्र  सञ्चालनमा ल्याउन लागिएको हो । एकल विन्दु सेवा केन्द्र सञ्चालनबाट व्यवसायीले एकै स्थानबाट उद्योग दर्ता, नविकरण लगायतका सम्पूर्ण काम गर्न सक्छन् । व्यवसायीहरुको काम सजिलोसँग गर्नका लागि सो केन्द्रमा राजश्व कार्यालय, अध्ययगमन विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, वातावरण कार्यालय, भूमि तथा व्यवस्थापन कार्यालय, उद्योग वाणिज्य महासंघ लगायतका प्रतिनिधिको कार्यालय हुने जनाइएको छ ।

सिमेन्ट उद्योगलाई सरकारले टेको दियो, अब निर्यात थालिने

काठमाडौं । सरकारले सिमेन्ट उद्योगलाई निर्यात मुलक उद्योगको रुपमा विकास गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम प्र्रस्तुत गर्दै सिमेन्ट उद्योगको प्रवद्र्धन र निकासी वृद्धिमा सरकारले विशेष नीति लिने बताएकी हुन् । सिमेन्ट उद्योगमा निजी क्षेत्रको लगानी वृद्धि भईरहेको र यो उद्योग आत्मनिर्भर उद्योगको रुपमा विकास भईरहेको अवस्थामा सरकारले यस उद्योगलाई थप टेको दिदै निर्यात मुलक उद्योगको रुपमा विकास गर्न लागेको हो ।