काठमाडौं स्टीलले विकास गरेको प्रविधि विश्वभरका स्टील उद्योगका लागि धेरै उपयोगि छ

मेकानिकल इन्जिनियरीङ र मेटिरियल्स् साइन्समा अमेरिकाबाट मास्टर डिग्री गर्नु भएका केशव राज पोखरेल हाल मेटिरियल्स् साइन्समा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँ विगत १७ वर्षदेखि स्टील उद्योगमा सक्रिय हुनुहुन्छ । अमेरिकी डिफेन्स इन्डस्ट्रिजमा डिजाईनरको रुपमा समेत काम गरीसक्नु भएका पोखरेल पञ्चकन्या, अम्बे र हामा स्टील हुँदै हाल काठमाडौं स्टीलको प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्छ । पोखरेल सहितको टिमले पञ्चकन्यामा काम गर्दा नेपालमा पहिलो पटक २००२ मा टीएमटी बार उत्पादन थालेको थियो । अहिले टीएमटी बारको उत्पादन र बजार ठूलो भएको छ । हाल काठमाडौं स्टीलले फेरी नयाँ प्रविधिको प्रयोग गरी ‘रिडवार विथ कपलर सिस्टम’ उत्पादन गर्दै आएको छ । प्रस्तुत छ काठमाडौं स्टीलले प्रयोग गरेको नयाँ प्रविधि, स्टील बजार र उपभोग्य शैलीमा आएको परिवर्तन बारे पोखरेलसँग गरिएको विकास वहस । केशवराज पोखरेल, प्रमुख कार्यकारी अधिकृत-काठमाडौं स्टील प्रा.लि. काठमाडौं स्टीलले ‘रिडवार विथ कपलर सिस्टम’ मा आधारित स्टील उत्पादन गर्दै आएको छ, यसको विशेषता के हुन् ? २०६८ सालमा स्थापना भएको काठमाडौं स्टील कम्पनीले २०७० सालदेखि उत्पादन गर्दै आएको छ । अरु कम्पनीको उत्पादन भन्दा हाम्रो उत्पादन फरक छ । ‘रिडवार विथ कपलर सिस्टम’ को स्टील उत्पादन गर्ने साउथ एशियामा काठमाडौं स्टील एक मात्र कम्पनी हो । यसका उत्पादनलाई जहाँ काटेर पनि त्यसमा जोड्न सकिन्छ । जीआई पाइपमा सकेट राखेझै काठमाडौं स्टीलका रडहरु जोड्नको लागि सजिलो छ । यसरी जोडिएको भागको स्ट्रेन्थ तथा बेन्डिङ मोमेन्ट रडको परम्परागत डिजाइनको तुलनामा धेरै राम्रो हुन्छ । अन्य भागको जतिकै बलियो हुन्छ । परम्परागत स्टीलहरु जोर्तीमा ओभरल्याप (एक रडमाथि अर्को रड) गरिन्छ । निर्माणलाई बलियो बनाउन रडहरु जोर्तीमा नखप्टी हुँदैन । त्यसो गर्दा धेरै रड खपत हुन्छ । निर्माताको खर्च बढी हुन जान्छ । कति फरक पर्न सक्छ ? मानौं, एउटा पुल बनाउन १०० टन रड लाग्छ भने १० टन रड ज्वाइन्टमा मात्र खपत हुन्छ । तर काठमाडौं स्टीलको उत्पादन प्रयोग गर्ने हो भने त्यहि पुल बनाउन ९० टन मात्र भए पुग्छ । त्यस्तै, कुनै पनि प्रोजेक्टमा काठमाडौं स्टील प्रयोग गर्ने हो भने एक टुक्रा पनि खेर जाँदैन । मानौ ४० फिटको रड छ, ३५ फिट मात्र रड लाग्ने हो भने ५ फिट रड खेर जाने भयो । तर काठमाडौं स्टील प्रयोग गर्ने हो भने त्यो ५ फिटको रड खेर फाल्नु पर्दैन, अर्को ठाउँमा जोडेर प्रयोग गर्न सकिन्छ । कपलर ज्वाइन्ट र ओभरल्याप ज्वाइन्टमा कुन बलियो हुन्छ ? ओभरल्याप ज्वाइन्टमा दुई डण्डीलाई मसिनो तारले बाधेको हुन्छ । बँधाई खुकुलो भएको अवस्थामा, कङ्क्रिट राखेर भाईबेटरले चलाउँदाको अवस्थामा डण्डीको ज्वाइन्ट फाटेर जाने जोखिम हुन्छ । कपलर ज्वाइन्टमा त्यस्तो कुनै जोखिम हुँदैन । अर्को महत्वपूर्ण कुरा के छ भने ओभरल्याप ज्वाइन्टमा बढी स्टील प्रयोग हुन्छ, त्यसले घरलाई बढी बोझिलो बनाउँछ । अग्ला घर बनाउँदा ३२ एमएमको रड प्रयोग हुन्छ । एउटा रड ओभरल्याप गर्दा १२ किलोग्राम अतिरिक्त भार पर्छ । ४ वटा रड प्रयोग भएको एउटा विन्दुमा ओभरल्याप खर्च ४८ किलोग्राम हुन्छ । कपलर प्रयोग गर्यो भने त्यसको तौल १० किलो मात्र हुन्छ । एउटा रडको जोइन्टमा साढे नौ किलो कम हुन्छ भने एउटा विन्दुमा ३८ किलो कम तौल हुन जान्छ । माथिल्लो भागमा कम लोड भएको अग्ला घरहरुमा डाइनामिक लोड पनि कम हुन्छ । भूकम्पीय दृष्टिकोणले यस्तो घर कम जोखिमपूर्ण हुन्छ । काठमाडौं स्टीलको बजारमा माग कस्तो छ ? आवास तथा परियोजना मध्ये कहाँ बढी प्रयोग हुन्छ ? काठमाडौं स्टीलको मूल्य अन्य स्टीलको भन्दा केही महँगो छ । गुणस्तर र मूल्य तुलना गरेर किन्ने ग्राहक कम हुन्छन् । धेरै जसो ग्राहक जुन ब्राण्डको प्रतिकिलो मूल्य सस्तो छ, त्यहि किन्छन् । तर कुल लागतको हिसावले काठमाडौं स्टिल महँगो पर्दैन । किनकी पराम्परागत स्टीलको तुलनामा जोर्तीको ओभरल्यापमा बढी स्टीलको खपत हुँदैन । बजारमा हाल काठमाण्डौ स्टिलको माग तिव्र रुपले बढ्दै गएको अवस्था छ । प्रोफेसनल डिजाइनरहरुले तयार गरेका डिजाइनहरुमा तथा रास्ट्रिय गौरवका आयोजनाहरुको पहिलो रोजाईमा प्रयोग भएको पाईन्छ । विस्तारै सर्वसाधारणका संरचनामा पनि प्रयोग हुने क्रम बडिरहेको छ । ग्राहकले गुणस्तर तथा त्यसबाट हुने बचतका बारेमा राम्रो सँग बुझिनसकेको अवश्थाका कारण पनि सर्वसाधारणको रोजाईमा रिडबारले स्थान बनाउन नसकेको हो । बजारमा प्रतिस्पर्धी बनाउन मूल्य घटाउने प्रयास भएको होला नि ? मूल्य घटाउनको लागि हामीले रिसर्च तथा डेभलपमेन्टको काम गरिरहेका छौं । र, यो अन्तिम चरणमा पुगेको छ । यसले जोर्तीको ओभरल्यापमा हुने खपतमा ७८ प्रतिशत कम गराउने देखिएको छ भने लागत मूल्यमा २० प्रतिशत बचत हुने देखिएको छ । हामीले ज्वाइन्ट कपलर न्यूजिल्याण्डबाट ल्याउनु पर्दा यो महँगो भएको हो । अब यस्तो सकेट हामी आफैले बनाउने तयारीमा छौं । यस्तो सकेट बनाउने उद्योगको लागि नेपाली बजार सानो हुन्छ । त्यसैले हामीले नेपाल, भारत र चीनको बजारलाई लक्षित गरी नयाँ उद्योग खोल्ने तयारीमा छौं । हामीले बनाउने वित्तिकै यस्तो सकेटको मूल्य कम हुन जान्छ । त्यसपछि यसले बजारमा यति व्यापकता पाउँछ कि जुनसुकै कन्स्ट्रक्सन साईटमा यसको प्रयोग हुनेछ । काठमाडौं स्टीलको उत्पादन गर्ने प्रविधि पनि फरक छ । उत्पादनपछि ह्याण्डलिङ एण्ड डिस्प्याचको काम मेसिनले गर्ने प्रविधि हामीले पहिलो पटक नेपालमा विकास गरेको छौं र त्यसको पेटेन्ट राईट लिने प्रक्रिया अगाडि सारेका छौं । नेपाल र भारतमा पेटेन्ट राईट दर्ता भईसकेको छ । ह्याण्डलिङ एण्ड डिस्प्याच मेसिनको विकास भनेको कस्तो हो ? त्यसले उत्पादनमा कसरी सहयोग गर्छ ? ५/६ सय डिग्री तापक्रममा बनेको डण्डी गन्ने, मुठा बनाउने, बङ्ग्याउने, ट्याग लगाउने, लोड गर्ने सबै काम विश्वभर नै मान्छेले हातैले गर्ने अभ्यास छ । यो काम निकै जोखिमयुक्त काम हो । यो काम मेसिनको प्रयोगबाट गर्ने प्रविधिको हामीले विकास गरेका छौं । नयाँ मेसिनको प्रयोगसँगै दैनिक १३० जनाले गर्ने काम ४ जनाले गर्न सक्छन् । हाम्रो कम्पनीमा पुरै अटोमेशन भईसक्यो । फ्याक्ट्रीबाट उत्पादन हुँदा हुँदै गाडीमा लोड भईसक्छ । म्यानुअली हुने उद्योगमा आज उत्पादन भएको डण्डी डिस्प्याच र ह्याण्डलिङको काम ४÷५ दिन पछि मात्र हुन्छ । यो मेसिनको प्रयोगले रोजगारी कटौतिमा कस्तो असर पर्छ ? हामीले बनाएको मेसिन नेपालका सबै उद्योगले प्रयोग गरे भने ५ हजार भन्दा बढी रोजगारी कटौति हुन्छ । हरेक स्टील उद्योगमा कम्तिमा १०० र बढीमा ३०० जना भारतीय नागरिकले काम गर्छन । प्रोडक्सन ह्याण्डिलिङ र डिस्प्याच गर्ने कामदारले ८ घण्टा काम गर्दा प्रतिदिन १५०० रुपैयाँ कमाउँछन् । उनीहरुले वार्षिक ४० देखि ४५ करोड रुपैयाँ भारत लैजान्छन् । त्यो पुरै कट हुन्छ । हामीले बनाएको मेसिन लिने स्टील उद्योगहरुले गर्ने लगानी एक वर्षमा नै उठ्छ । त्यसपछि अहिले डिस्प्याच एण्ड ह्याण्डलिङमा हुँदै आएको सबै खर्च बचत हुन जान्छ । मानविय दृष्टिकोणले पनि यो मेसिन निकै उपयुक्त छ । डिस्प्याच एण्ड ह्याण्डलिङको काम गर्दा कामदार जल्ने, पोलिने वा अङ्गभङ्ग हुने जोखिम धेरै हुन्छ । धेरै गरिब र दुःख पाएका मान्छेले मात्र यो जोखिम लिएर काम गरेका हुन्छन् । उनीहरु केही समय जोखिम लिएर काम गर्छन, अलिअलि पैसा कमाएपछि यो काम गर्न छोड्छन् । त्यसैले हरेक स्टील उद्योगको लागि सबैभन्दा ठूलो समस्या भनेको डिस्प्याच एण्ड ह्याण्डलिङ गर्ने मान्छे नपाउनु हो । ‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो समस्या नेपालमा मात्र होइन, भारतमा झन् ठूलो समस्याको रुपमा रहेको छ । विश्वका अरु देशहरुमा पनि यो समस्या छ । हालसालै म भारतमा पेटेन्ट राईट दर्ता गर्न जाँदा त्यहाँको अफिसर निकै खुशी भए । उनले भने–‘भारतमा १५०० भन्दा बढी स्टील उद्योग छन् । सबै उद्योगमा जनशक्तिको कमी छ । यो मेसिन भारतका सबै उद्योगले लगाउँदा वार्षिक १६०० करोड बचत हुन्छ ।’ यो मेसिन राख्न कति लगानी गर्नु पर्छ र कस्ता स्टील उद्योगहरुले प्रयोग गर्न सक्छन् ? यो मेसिन किन्न सवा दुई करोड रुपैयाँ लाग्ने छ । घण्टाको ५ देखि ६० टन उत्पादन क्षमता भएका कम्पनीहरुको लागि उपयोगि हुनेछ । यो मेसिनको प्रयोगले वार्षिक ६०/७० हजार टन स्टील उत्पादन गर्ने कम्पनीको वार्षिक करिव २ करोड रुपैयाँ बचत गर्छ । हामीले यो मेसिन अरु देशलाई बनाउन अधिकार दिने छैनौ । नेपालमा नै बनाएर विदेशमा निर्यात गर्ने र नेपालको लागि डलर भित्र्याउने काम गर्ने छौं । कुनै पनि देशले एलसी खोलेर अर्डर गरी लैजान सक्छन् । नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, केन्या, चाइना लगायत धेरै देशमा यो मेसिन निर्यात गर्ने हामीले योजना बनाएका छौं । स्टील उद्योगमा नविन कार्यशैलीहरु कस्तो आएको छ ? पहिला धेरै काम मान्छेले म्यानुअली गरिन्थ्यो भने अहिले प्रविधिको प्रयोग हुन्छ, मेसिन औजारहरुको प्रयोग हुन्छ । जतिबेलामा म स्टील इन्डस्ट्रीमा प्रवेश गरे त्यतिबेला यो उद्योगमा नेपालीले काम गर्न सक्दैन भनिन्थ्यो । त्यतिबेला हेल्परदेखि सुपरभाइजरसम्मका मान्छेहरु भारतबाट ल्याउनु पर्दथ्यो । अहिले धेरै प्रकारका जनशक्ति नेपालमा नै पाइन्छ । मैले काम गरेका पञ्चकन्या, अम्बे, हामा, र काठमाडौं स्टीलमा अधिकांश नेपालीले काम गर्छन । मैले काम सिकाएका १५० जना भन्दा बढी दक्ष जनशक्ति अहिले नेपालको स्टील उद्योगमा क्रियाशिल छन । कडा परिश्रम गर्नु पर्ने काम भएकाले पनि मानिसहरु अझै पनि भारतबाट आउने क्रम रोकिएको छैन ।

व्याजदर, कच्चा पदार्थ, डलरले स्टीलको मूल्य बढायो-कुन्दन जोशी

कुन्दन जोशी, महाप्रबन्धक-लक्ष्मी स्टील प्राईभेट लिमिटेड भूकम्पपछिको पूनर्निर्माण र पूर्वाधार निर्माणका कारण स्टील डण्डीको माग निकै बढेको छ । यहि बेलामा डण्डीको मूल्य प्रतिकेजी १० देखि १६ रुपैयाँले बढेको छ । यसरी उच्च दरको मूल्यवृद्धि किन भएको छ ? मूल्य घटाउने कम्पनीहरुले के प्रयास गरेको छन् ? प्रस्तुत छ यसै विषयमा विकासन्युजका लागि लक्ष्मी स्टीलका महाप्रबन्धक कुन्दन जोशीसँग गरिएकाे विकास वहस । पछिल्लो समय डण्डीको मूल्य किन बढेको हो ? आजभन्दा ३ महिना अघि भ्याटसहित डण्डीको प्रतिकिलो मूल्य ७३ रुपैंयाँ थियो, हाल ८४ रुपैंयाँ पुगेको छ । मूल्य बढ्नुको कारण भनेको कच्चा पदार्थको मूल्य बढ्नु र बैंकको ब्याजदर बढ्नु नै हो । यी दुबै कुराको मूल्यलाई समायोजन गरेको भए एक किलो डण्डीको मूल्य ९५ रुपैंयाँ हाराहारीमा पुग्ने थियो । हामीले त ८४ रुपैंयाँमा (भ्याटसहित) बेचिरहेका छौं । स्टीलका समानमा बढ्नुपर्ने जति मूल्य वृद्धि भएकै छैन् । भूकम्पपछिको पुनर्निर्माणमा माग बढेको स्टीलको मूल्य बढ्यो भन्ने आरोप पनि छ नि ? मूल्य वृद्धिको कारण भनेको कच्चा पदार्थ, बैंकको ब्याजदर र भन्सारकै कारण हो । यो आरोप सरासर मिथ्या हो । सरकारले बजार अनुगमन पनि गरिरहेको छ । मूल्य निर्धारणमा कम्पनीहरुको प्रतिष्पर्धा कस्तो छ ? कच्चा पदार्थको मुहान एउटै हो । कच्चा पदार्थ ल्याएर समान बनाउँदा लागत कति घटाउन सकिन्छ त्यसकै आधारमा मूल्यमा कम्पनीहरुबीच प्रतिष्पर्धा हुने हो । उत्पादन लागत कम गर्न उद्योगहरुले के के गरिरहेका छन् ? स्टील मिलका हकमा लागत कम गर्ने प्रमुख आधार अटोमेसन नै हो । सेमी वा फुल अटोमेसन हुन्छ । मिलबाट निस्केको समानलाई बण्डल गर्दा मजदुर लगाउने कि अटोमेसन गर्ने ? त्यसले पनि लागतमा भूमिका खेल्छ । भविष्यमा स्टीलको मूल्य कस्तो रहला ? स्टीलको मूल्य भनेको कच्चा पदार्थमा निर्भर हुने कुरा हो । हामी कच्चा पदार्थमा भारतमाथी निर्भर छौं । भारतमा कच्चा पदार्थको मूल्य कति हुन्छ ? भन्सार दर कति हुन्छ ? बैंकको ब्याज दर कति हुन्छ भन्ने कुराले स्टीलको मूल्य निर्धारण हुन्छ । डलरको मूल्यमा हुने उतारचढावले पनि ठूलो प्रभाव पारिरहेको हुन्छ मूल्यमा । कच्चा पदार्थमा सरदर ४.७५ प्रतिशत भन्सार दर छ । भन्सार दरमा हुने परिवर्तनले पनि मूल्यमा असर गर्छ । स्टीलको मूल्य जुन स्तरमा वृद्धि हुनुपर्ने हो त्यो स्तरमा भएकै छैन । बजारले थग्ने मूल्यलाई पनि हामीले हेर्ने गरेका छौं । अलि बढि मूल्य वृद्धि भयो भने सरकारले अनुगमन गरिरहेको हुन्छ । आगामी दिन स्टीलको माग तथा खपत कस्तो रहला ? सरकारी बजेट निकासा समयमा नै भयो, उर्जा क्षेत्रको विकास भयो, पूर्वाधार क्षेत्रको विकास हुँदै गयो भने माग त बढ्छ नै । त्यसैले पनि नयाँ मिलहरु थपिने चरणमा छन् । १६ वटा मिल छन् अहिले । ती कम्पनीहरुको बजार केहि वर्ष पहिलो ९ लाख टन थियो भने यसपाली १३ लाख टन पुग्नेछ । उपभोक्ताले स्टील छनौटका आधार के बनाउँदा रहेछन् ? उपभोक्ताहरुले मूल्य, गुणस्तर र पहुँचलाई हेरेर उत्पादन छान्ने गरेका छन् । हामीले उत्पादन छनौटका ४ वटा आधार (फोर पीज) भन्ने गरेका छौं । ठाउँ (प्लेस) उत्पादन (प्रडक्ट) र मूल्य (प्राइस) लाई हेर्छन् । सिन्धुपाल्चोकमा घर बनाउने उपभोक्ताले डण्डीका किन्न लागि काठमाडौं धाउँदैन् । त्यहाँ जुन कम्पनीको समान छ, त्यहि प्रयोग गर्छन् । अर्काे कुरा मूल्य पनि हो । शहरी क्षेत्रमा मूल्य हेर्छन् । कतिपय अवस्थाम घर बनाउने इञ्जिनियरहरुलाई सोधेर डण्डी खरिद गर्छन् । एक तलाको घर सरकारी मापदण्डमा बनाउँदा ५ टन डण्डी लाग्छ । अहिलकै मूल्यमा भन्ने हो भने ४ लाख २५ हजार लाग्छ । कसैले डण्डीको मूल्य किलोको ९० पनि बनाएका हुन सक्छन् । त्यस्तो अवस्थामा २५ हजार बढि तिर्न छाडेर अर्कै कम्पनी रोज्न सक्छन् । लक्ष्मी स्टीलको बजार कस्तो छ ? हाम्रो बजार विस्तार धेरै अघि बढिसकेको छ । अहिले हामी वार्षिक एक लाख २० हजार टन उत्पादन गरेर बजारमा पठाईरहेका छौं । हामी उत्पादन लागत घटाउने अभियानमा छौं । सस्तोमा धेरै उत्पादन गरेर बजारमा पठाउने योजना छ । हाम्रा साना उपभोक्ताहरु धेरै छन् । गाउँ गाउँसम्म आफ्ना उत्पादन पुर्याउने अभियान चलाएका छौं । ठूला परियोजना भन्दा पनि आवासमा केन्द्रित हो ? हामी आवासमा अलि बढि नै केन्द्रित छौं । तर ठूला परियोजनाहरुमा पनि नपठाउने चाँही होइनौं । हामीलाई विश्वास गर्ने ठूला भवन, पूर्वाधारका आयोजनाहरुले पनि उत्पादनहरु लगिरहेका छन् । मेचीदेखि महाकालीसम्मै हाम्रो बजार छ । भैरहवामा हाम्रो प्लान्ट छ, करिब मध्य नेपालमामा प्लान्ट भएकाले बजारीकरण गर्न सहज भएको हो । कुन स्टील र कस्तो स्टील उपयोग गर्ने ? उपभोक्ताले कसरी थाहा पाउने गुणस्तरीय स्टील ? अहिले १६ वटा कम्पनीहरुले उत्पादन गरिरहेका छन् । भरोसा र गुणस्तरको कुरा नै उपभोगका आधार हुन् । गुणस्तर विभागले तीन तीन महिनामा गुणस्तर जाँच गरिरहेको हुन्छ । बजारबाट सामान उठाएर पनि परिक्षण गरिरहेको हुन्छ । गुणस्तर कायम गर्न सकिएन भने बेच्नै पाइँदैन् । सरकारी प्रोजेक्टहरुमा गुणस्तर प्रमाण नपाएका समान खरिद नै हुन्न । हामीले सरकारी गुणस्तरका सबै मापदण्ड पुरा गरेर उत्पादन र बजारीकरण गर्दै आएका छौं । स्टील उद्योममा भएको लगानी कत्तिको जोखिममा हुन्छन् ? कुनै पनि लगानी जोखिममुक्त पक्कै पनि हुदैन । विकास पूर्वाधार, ठूला भवन, सरकारी परियोजनाहरुको काम अघि बढेन भने उद्योगहरु जोखिममा पर्छन नै । स्टील उद्योगको क्षेत्रमा प्रयोग हुने प्रबिधिमा कस्तो परिवर्तन आईरहेको छ ? यो क्षेत्रमा पहिलो टोर भन्थे अहिले टिएमटी भन्ने आएको छ । पहिलो ४१५ ग्रेडमा बन्थ्यो अहिले ५०० ग्रेडमा बन्छ । ग्रेड भनेको स्ट्रेन्थ हो । पहिले १० वटा डण्डी हाल्नु पर्ने थियो अहिले ७ वटा हाल्दा हुन्छ ।

नेपाल दाना उद्योग संघको अध्यक्षमा पुरी

काठमाडाैं । नेपाल दाना उद्योग संघको १७औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि राजधानीमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुङ्टा, तृतियउपाध्यक्षमा ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित भएको बताइएको छ । त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुली, ज्ञानेन्द्रप्रसाद उप्रेती, डा. दिनेस गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका छन् । २०४७ सालमा स्थापना भएको नेपालदानाउद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद् रहेका छन् । संघकाअनुसार विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।