घरेलु उद्योगको विकासपछि आर्थिक विकास हुन्छ : मन्त्री पाण्डे

काठमाडौं,३१ असार । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले लघु, घरेलु तथा साना उद्योगको विकास बिना मुलुकको आर्थिक विकास सम्भव नरहेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिद्धारा काठमाडौं महानगरपालीका ९ बत्तिसपुतलिमा रहेको जग्गामा राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रर्दशनी तथा विक्रि कक्ष निर्माण गर्न भवनको शिलन्यास गर्दैै मन्त्री आर्थिक विकासको मुख्य मेरुदण्ड घरेलु उद्योग रहेको बताएका हुन । प्रर्दशनी कक्षको निर्माणपछि मुलुकमा लघु, घरेलु तथा साना उद्यमीद्धारा उत्पादीत सामानको प्रर्दशनि हुनुका साथै उत्पादीत सामानलाई बजारीकरण गर्नमा ठुलो सहयोग पुग्ने धारणा मन्त्री पाण्डेले व्यक्त गरे । घरेलु उद्योगको विकासका लागि अब नयाँ प्रविधिलाई पनि अवलम्वन गर्नुपर्ने समय आएकोमा उनले जोड दिए । भवन निर्माण कार्यलाई छिटो सम्पन्न गर्न र आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको धारणा मन्त्री पाण्डेको थियो । घरेलु तथा साना उद्योग विकास समिति संचालक समितिका अध्यक्ष एंव उद्योग मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले थोरै पुँजीमा उद्योग संचालन गरी राम्रो आम्दानी गर्न सकिने लघु, घरेलु तथा साना उद्योग भएकाले उद्यमीले उत्पादन गरेका सामानलाई बजारीकरण गर्न प्रर्दशनि कक्ष निकै प्रभाबकारी रहने बताइन । भवन निर्माण गर्न सरकार, स्थानिय समुदाय, नागरीक समाज र सुरक्षाकर्मीको भुमिका महत्वपुर्ण रहेको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए । भवन निर्माण पछि दुरदराजमा रहेका सामानलाई बजारीकरण गर्न ठुलो सहयोग हुने छ कार्यकारी निर्देशक उपाध्यायले बताए । काठमाडौं महानगरपालीका ९ बत्तिसपुतलिमा रहेको झण्डै १० रोपनि क्षेत्रफलमा भुकम्प प्रतिरोधात्मक ७ तले आधुनिक घरेलु तथा साना उद्योग प्रर्दशनि तथा विक्रि कक्ष निर्माण हुने छ । भवन ३५ करोडको लागतमा निर्माण हुने छ । सो भवन निर्माण पछि ७५ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामानहरु निरन्तर रुपमा प्रर्दशनि भई विक्रि वितरण हुने छ ।

भूकम्प प्रतिरोधी घर बनाउन अर्घाखाँची सिमेन्टको तालिम

काठमाडौं, २८ असार । अर्घाखाँची ओ.पी.सि. सिमेन्टले सशस्त्रप्रहरी बलका प्राविधिकहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माण तालिम प्रदान गरेको छ । सशस्त्रप्रहरी बल हलचोकमा आयोजित एक कार्यक्रममा अर्घाखाँची ओ.पी.सि. सिमेन्टको तर्फबाट भूकम्प प्रतिरोधी भवन निर्माण र गुणस्तरिय निर्माण सामाग्री छनौट सम्बन्धित तालिम प्रदान गरिएको हो । उक्त कार्यक्रममा सशस्त्रप्रहरी बलका देशभरि कार्यरत प्राविधिकहरुलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । सशस्त्रप्रहरी बलकाप्राविधिकहरुलाई अर्घाखाँची ओ.पी.सि. सिमेन्टका इन्जिनियरले तालिम तथा जानकारी दिएका हुन् । कम्पनीका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न सहयोग हुने उदेश्यले यो तालिम कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरिएको छ । उक्त तालिम कार्यक्रममा सहभागी सबै प्राविधिकहरुलाई कम्पनीका सिनियर मेनेजर (सेल्स एण्ड मार्केटिङ्) रमेश थापाद्वारा प्रमाण पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा अन्य संगठनहरुमा पनि भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा तालिम तथा जानकारी दिने लक्ष्य राखेको छ । अर्घाखाँची ओ.पी.सि. सिमेन्ट गुणस्तरीय र भरपर्दो सिमेन्टको रुपमा उपभोक्ताहरु माझ परिचित रहेको छ । यसले उच्च स्तरको जर्मन प्रविधि सहित अटो रोटो प्रविधिबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ ।

राजनीतिक अस्थिरता कम भएसंगै नयाँ उद्योग खुल्ने क्रम बढ्यो

काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो। सरकारी तथ्यांक अनुसार गत बर्षको पाँच महिनाको तुलनामा यो बर्ष धेरै उद्योग दर्ता भएका छन् । बैशाख पछि हालसम्म २ सय १५ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा १३ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४३ करोड २० लाख रहेको छ । विभागको तथ्यांक अनुसार यो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । साँढे पाँच महिनामा सेवा सम्वन्धि ७५ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ७० उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४२ ओटा उद्योग दर्ता भएका देखिन्छन् । जसमा चिनियाँ लगानी धेरै मात्रामा रहेको छ। चिनियाँहरुले धेरैजसो चाइनिज भाषा सिक्ने इन्स्टिच्युट र रेष्टुरेन्टमा लगानी गरेको पाइएको छ।   दर्ता उद्योगमध्ये १ सय ५३ साना उद्योग छन् । त्यस्तै मझौला ३५ र ठूला उद्योगको संख्या ३० छ । ती उद्योगहरुबाट ८ हजार सातसय जनाले रोजगारी पाउनेछन्।