भ्रष्टचारीलाई कारबाही गर्न सहज, जो त्रसित छ अझ बढी त्रसित बन्नेछ– उद्योगमन्त्री यादव

काठमाडौं । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकरण, उपभोक्ताहरुको हीतको लागि माल–वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जोड दिए । उनले त्यसको लागि एकीकृत योजना बनाइ कार्यान्वयन गर्ने संकल्प गरे । ‘आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति प्रदान गर्न भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने छु,’ उनले भने ‘जो भ्रष्टाचारमा लिप्त छ, ऊ त्रसित भएमा अझ बढी त्रसित बन्नेछ ।’ भ्रष्टाचारीलाई कारवाही गर्न वाम गठबन्धनका दुवै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको भन्दै उनले कारवाहीको लागि अझ सहज र सजिलो हुने जानकारी दिए । उनले आइतबार नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा भ्रष्टचारीलाई कारवाही गर्ने सम्बन्धमा जोड दिएका थिए । सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ । सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको बताए । छिमेकी मुलुकले उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्नेमा उनको जोड छ ।

रजिस्ट्रारको कार्यालयले आजदेखि सुरु गर्याे ‘विन्डो सिस्टम’

काठमाडौं । कम्पनी  कार्यालयले आइतबारदेखि ‘विन्डो सिस्टम’ सुरु गरेको छ । जसअन्तर्गत सहायक रजिस्ट्रार रहेको कक्षको झ्यालबाट आवश्यक सेवाको लागि फाइल पेश गरिन्छ । उक्त फाइलको प्रक्रिया कार्यालयहरुका कर्मचारीहरुलेनै अघि बढाउछन् । अन्तमा जहाँ फाइल पेश गरिएको हो सोही सहायक रजिस्ट्रारको कक्षबाट सेवाग्राहीलाई फाइल उपलब्ध गराइने कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्नका साथै फाइलको सुरक्षा गर्ने उद्देश्यले उक्त प्रणाली सुरु गरिएको हो । गएका दिनहरुमा कार्यालयभित्र विभिन्न किसिमका सेवाग्राही प्रवेश गर्ने, भिडभाड बढाउने, फाइल अव्यवस्थित राख्ने लगायत समस्या हुने गरेकोले सो प्रणालीले सुधार आउने उनको विश्वास छ । ‘कागजात पुगेमा छिटाेमा १/२ घन्टाभित्रै काम बन्नेछ,’   उनले भने ‘बढीमा कामको प्रकृतिको आधारमा फाइल पेश गरेको २/३ दिन भित्र काम सिदिन्छ,’ उनले भने ‘प्रत्येक कामको लागि प्रत्येक कार्यालय सहायकहरु काममा खटिएका छन् ।’ कार्यालयका सहायक रजिस्ट्रार नारायण भट्टराईले कम्पनी सम्बन्धी अधिकांश काम ‘विन्डो सिस्टम’ अनुसार हुने बताए । उनका अनुसार कम्पनी दर्ता, दर्ता खारेज, सेयर लागत अभिलेख लगातका कामहरु हुन्छन् । ‘साे प्रणालीको कारण सेवा सहज बनेता पनि पर्याप्त जनशक्ति भएन भने समस्या निम्तिने देख्दछु,’ उनले भने । सेवाका लागि आएका कानुन व्यवसायी ज्ञानप्रसाद खनालले ‘विन्डो सिस्टम’ ले सेवा प्रवाह सहज बन्ने विश्वास लिए । कार्यालयमा भेटिएका विभिन्न सेवा ग्राहिहरुले उक्त प्रणालीले काम सहज हुने, फाइल नहराउने लगायतमा सहयोग पुग्ने बताएका छन् । यद्यपि पर्याप्त जनशक्ती जुटाउन नसके ढिलासुस्ती लागातयको समस्या अझ बढ्ने उनीहरुले सङ्का गरेका छन् ।

उद्योगमन्त्री यादवले भने–वन्द उद्योग पुनःसञ्चालन गरिनेछ, जनकपुर चुरोट कारखानाप्रति गम्भिर

धनुषा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताए । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा शुक्रबार जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बन्द कारखाना छिट्टै सञ्चालनमा ल्याउने बताएको हो । जनकपुरस्थित बन्द रहेको जनकपुर चुरोट कारखाना लिमिटेडमा प्रादेशिक मन्त्रालय स्थापना भएको हुँदा कारखाना सञ्चालनमा ल्याउन समस्या हुने भन्दै उनले उक्त कम्पनी प्रादेशिक मन्त्रालय स्थापना भएको अवस्थामा मन्त्रीहरुको आवासका लागि अन्तै निवास व्यवस्था गर्न प्रादेशिक मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मन्त्री यादवले समाजवादको आधार तयार नभएसम्म देश प्रगतिको बाटोमा अगाडी बढ्न नसक्ने जानकारी गराए । समाजवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेपालीको आर्थिक विकास समान रुपमा हुनु आवश्यक रहेको उनको भनाइ थियो । ‘अहिलेको चुनौती संविधान संशोधन हो, संविधान संशोधनको सवालमा वर्तमान सरकारले आवश्यक पहल गर्छ,’ उनले भने ‘सबैलाई समेटेर संविधान संशोधन हुन्छ ।’ रासस