मुलुकमा स्थाई सरकार आउँछ, लगानीको वातावरण बन्छ- चन्द्रप्रसाद ढकाल
लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी-व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताएका छन् । लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासकालागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरेका छन् ।
बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी शुरू, विकास निर्माणका लागि डोजर र ट्रिपर पनि
काठमाडौं । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ शुक्रबारदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ्युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्म चल्ने छ । भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, सवडिलर र बिक्रेताले निर्माण व्यवसाय तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने छन् । यहाँ विकास निर्माणका लागि आवश्यक डोजर, ट्रिपरलगायत राखिएको छ । त्यसैगरी, प्रदर्शनीमा घर बनाउन आवश्यक निर्माण तथा काठ क्षेत्रमा काम गरिरहेका नेपालका आर्किटेक्ट, इन्जिनियर, बिल्डर्स तथा इन्टिरियर डिजाइनरको समेत सहभागिता रहेको छ । प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले प्रदर्शनीले नेपालको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । भारतलगायत अन्य मुलुकको विकासबाट नेपालले फाइदा लिन सक्नुपर्ने उनको भनाइ छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले भारतले सधैँभरि नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास चाहेको बताएका छन् । रासस
हप्तादिनमै रजिष्ट्रारको कार्यालयले बनायो दुई नियम, कम्पनीहरुले अनिवार्य लागू गर्नुपर्ने–होमेगाँई
काठमाडौं। हप्तादिनको अन्तरमा कम्पनी रजिष्ट्रारको कार्यालयले दुई ओटा नियम बनाएको छ । कार्यालयले आफ्नो कार्य तथा दिदै आएको सेवा सुबिधालाई सहज र सुरक्षित बनाउने उद्देश्यले ती नियमहरु बनाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका प्रमुख गीता कुमारी होमेगाँईले कम्पनीको कामकाजलाई सहज र सुरक्षित बनाउन हप्दानिको अन्तरालमा कानुन अनुसार दुई ओटा नियम लागु गरेको बताइन् । उनका अनुसार कार्यालयमा पेश गर्ने कागजात नेपाली भाषमा अनुवाद गरी पेश गर्नु पर्ने र कम्पनी सचिव र अख्तियारवलाहरुले अनिवार्य परिचयपत्र ल्याउन पर्ने नियम राखिएको छ । उनका अनुसार यसअघि कम्पनीहरुले मनपरी ढङ्गले विभिन्न भाषामा कागजातहरु ल्याउने गरेका थिए । ‘विशेषगरी अङ्ग्रजी लगायतका आफुलाई पायक पर्ने चाइनिज भाषामा कागजातहरु ल्याउथे,’ उनले भनिन् ‘त्यसलाई नियन्त्रण गर्न कार्यालयमा पेश गर्ने आवश्यक काजजात अनिवार्य नेपालीमा हुन पर्ने नियम बनाएका हौं ।’ कम्पनीले माघ १४ गतेदेखि सो नियमलाई लागु गरिसकेको बताएको छ । कम्पनीहरुले कार्यालयमा कम्पनीको साधारण सभाको निर्णय पुस्तिका वा निर्णय उतार, सञ्चालन समितिको निर्णय, शेयर लागत, शेयर खरिद बिक्री सम्बन्धी कागजात लगायत नियमित कागजातरु अनिवार्य रुपमा नेपाली भाषामा पेश गर्नु पर्ने हुन्छ । त्यस्तै विभिन्न कम्पनीहरुबाट कार्यालयको लागि कामको सिलसिलामा आएका कम्पनी सचिव तथा आधिकारिक अख्तियारवालाहरुले अनिवार्य कम्पनीबाट जारी भएको आधिकारीक परिचयपत्र लगाउन पर्ने अर्को नियम रहेको रजिष्ट्रार कार्यालयका प्रमुख होमेगाँईले बताइन् । उनका अनुसार कम्पनीमा अनावश्यक मानिसहरु आउन सक्ने, कागजात तथा फाइलहरु हराउन सक्ने लगायत जोखिमलाई मध्यनजर गर्दै कम्पनी सचिव तथा अख्तियारवलाले आधिकारीक परिचयपत्र लागाउन पर्ने नियम राखिएको हो । जसबाट कार्यालयमा रहेको फाइलको सुरक्षा हुने, भिडभाड घट्ने लगायत कार्र्यमा सहयोग मिल्ने उनको बुझाइ छ । केही दिन अघिदेखि मात्रै उक्त नियम राजिस्ट्रारको कार्यालयमा लागु गरिएको हो ।