सीएनआईवाईईएफको ‘सिनर्जी’ सम्मेलन : उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत बहसका माध्यमबाट युवा उद्यमीहरूलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको बदलिँदो व्यावसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरूको नवप्रवर्तनशील सोच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मुलुकमा उद्यमीहरूका लागि धेरै अवसर रहेको बताउँदै अग्रवालले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीहरूलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने उनको भनाइ छ । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले व्यावसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको बताए । परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए । सीएनआईवाईईएफका अध्यक्ष आशिष अग्रवालले कुशल नेतृत्वकर्ताहरूको अनुभव, भोगाइ र सिकाइ युवा उद्यमीहरूका लागि महत्त्वपूर्ण भएकाले सम्मेलन आयोजना गरिएको बताए । सन् २००५ मा स्थापित सीएनआईवाईईएफले उद्यमीहरूको प्रबर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

शताब्दी पुरानो व्यावसायिक घराना ‘ज्योति ग्रुप’ विभाजन, पद्मज्योतिले बनाए आफ्नै नामको ग्रुप

काठमाडौ । अन्ततः ज्योति ग्रुप दुई व्यावसायिक ग्रुपमा विभाजन भएको छ । एक शताब्दी पुरानो इतिहास भएको ज्योति समूह औपचारिक रूपमा अलग भएको हो । सम्पत्ति बाँडबाँफाडको विषयमा सुरु भएको विवाद अड्डा-अदालत हुँदै अन्ततः व्यावसायिक समूह नै विभाजन हुने अवस्था सिर्जना भएको हो । दाजुभाइ पद्म ज्योति र रूप ज्योतिले अब आ-आफ्नै व्यवसाय सञ्चालन गर्नेछन् । आइतबार दाजु पद्म ज्योतिले पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरे । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए । पद्म ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ ।   पद्म ज्योति । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । समूहका अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनका अनुसार पद्मज्योति ग्रुप अन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् । पद्म ज्योतिले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए । साैरभ ज्योति । समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रूपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ । देशको पुरानो व्यावसायिक समूह ज्योति ग्रुप देशकै एक अग्रणी र परिचित समूह हो । मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेका थिए ।  

आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एंवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन् । उनले केही समय अघि सबैले नेपाल श्रीलंकाजस्तो हुने कुरा भनेपनि आफूले त्यो बेला नेपाल श्रीलंकाजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भएपनि अर्थतन्त्रमा चलायमान भएको बताए । अध्यक्ष ढकालले भने, ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन ।’ उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको जनाए । अध्यक्ष ढकालले भने, ‘हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौं । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ ।’ उनले उद्योग क्षेत्रहरू धरासायी भई व्यवसायीहरूले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचिमा परेको उल्लेख गरे । अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।