१६ उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

  काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्महरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुति ट्रेडर्स, सूचना प्रविधिसम्बन्धि सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुपंक्षीजन्य उद्योगहरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जलि आयुर्वेद, बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो । यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको छ । यसैगरी, विसंं २०७५ साउनदेखि २०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरि नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार सबै भन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्षसमेत हुन् । आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । कार्यक्रममा परिसंघ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

४ महिनामा १६३ वटा उद्योग बन्द, आर्थिक मन्दीसँगै विदेश जाँदै

फाइल फोटो काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा दाङमा २६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा १०९ उद्योग र १५४ वटा व्यावसायिक फर्म रहेका छन् । कार्यालयका अनुसार कात्तिकमा उद्योग १७ र वाणिज्यतर्फ २५ वटा गरेर ४२ वटा, असोजमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३१ गरी ६१, भदौमा उद्योगतर्फ ३० र वाणिज्यतर्फ ३७ गरी ६७ वटा र साउनमा उद्योगतर्फ ३२ र वाणिज्यतर्फ ६१ वटा गरेर ९३ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले बताए । उनका अनुसार जिल्लामा बन्द हुनेमा धेरै वाणिज्यतर्फका व्यवसाय छन् । नयाँ दर्ता हुने उद्योग तथा व्यवसायको सङ्ख्या बढे पनि बन्द हुने उद्योग व्यवसायको अवस्था पनि उस्तै रहेको भन्दै सूचना अधिकारी पौडेलले भने, ‘आर्थिक मन्दीसँगै विदेश जानलाई र व्यवसाय चलाउन नसक्ने अवस्था देखाउँदै उद्योग बन्द गर्नेको सङ्ख्या धेरै छ ।’ उनका अनुसार बन्द हुनेमा अधिकांश व्यवसाय ऋण खानका लागि खोलिएका हुने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । जिल्लामा चालु आर्थिक वर्षको चार महिनामा ३५० भन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भएका छन् । आव २०८१/८२ को साउनदेखि कात्तिकसम्म ३६६ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । दर्ता हुनेमा उद्योगतर्फ १४२ र वाणिज्यतर्फ २२४ वटा रहेका सूचना अधिकारी पौडेलले जानकारी दिए । उनका अनुसार कात्तिकमा उद्योगतर्फ २४ र वाणिज्यतर्फ ३७ गरी ६१ वटा, असोजमा उद्योग २६ र वाणिज्यतर्फ ४२ गरी ६९ वटा, भदौमा उद्योगतर्फ ४१ र वाणिज्यतर्फ ५६ गरी ९७ वटा र साउनमा उद्योगतर्फ ५१ र वाणिज्यतर्फ ८८ गरी एक १३९ वटा व्यावसायिक फर्म दर्ता भएका छन् ।

नेपाल चीन बिजनेस समिट : क्रेडिट रेटिङपछि ढुक्क भएर लगानी गर्ने वातावरण तयार

बेइजिङ । नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा प्रतिबद्धता जनाइएको हो । द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए । प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको जिकिर गरे । साथै उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रशंसा पनि गरे । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताए । सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने पनि बताए । चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सीसीपीआईटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराए । महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ । यसैगरी, द्विपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ । यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको र उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराए । यसले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उनले बताए । साथै उनले सीमा क्षेत्रको पूर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दि‍‍ए । कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केवलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको उनले बताए । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता पनि अध्यक्ष ढकालले जनाए । उनले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाए । चीनले यही डिसेम्बर एकदेखि आफ्नो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गरे । सीसीपीआईटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्त्वपूर्ण हुने बताए । उनले सीसीपीआईटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघ र सीसीपीआईटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरेका थिए । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । समिटमा १२० जना चिनिया व्यवसायीहरूको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो । महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिङ, नयाँ दिल्ली र दुबईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्रिज दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो । यो पनि पढ्नूहोस् : बीआरआईमा ‘एड असिस्टेन्स फाइनान्सिङ’ लेखिएपछि कुरो मिल्यो, यी १० परियोजना समेटिए