बैंक तथा वित्तीय संस्थालाई गभर्नरले भनेः यतिबेला नाफामुखी नभई व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुनुहाेस्
काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई यतिबेला नाफामुखी नभइ व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुको सहभागितामा गरेकाे वेबिनार कार्यक्रममा गभर्नर अधिकारीले उक्त आग्रह गरेका हुन् । नेपाल राष्ट्र बैंकले असोज १३ गते बैंकबाट जारी एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ्ग क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेकाे थियाे । सो अवसरमा गभर्नर अधिकारीले कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेको उल्लेख गर्दै उक्त नीतिको कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरे । साथै, कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्नेगरी वित्तीय सेवा प्रदान गर्न समेत उनले आग्रह गरेका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए । उनले भने, “अब ई-कमर्शलाई प्रवद्र्धन गर्ने किसिमका वित्तीय सेवातर्फ बैंकहरु केन्द्रित हुनुपर्छ ।” सो अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारी, हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मालीलगायतले समसामयिक बैंकिङ्ग तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ-आफ्नो धारणा राखेका थिए । वेबिनारमा डेपुटी गभर्नर शिबराज श्रेष्ठको समेत सहभागिता रहेको थियो ।
नेपाल ल्युब आयलको नगद लाभांश घोषणा, पुँजी बढाएर ५ करोड पुर्याउने
काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने घोषणा गरेको हो । बैठकले आगामी कात्तिक ५ गते बुधबार बिहान साढे ११ बजे २९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सो प्रयोजनको लागि कम्पनीको असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज हुने भएको छ । सभामा कम्पनीले हाल ३ करोड रुपैयाँ रहेको जाँरी पुँजी बढाएर ५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गरेको छ । उक्त सभा कात्तिक ५ गते संस्थाको कार्यालय ललितपुरको झम्सिखेलबाट भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।
जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता र मेरो सेयर नविकरण गर्न आग्रह
काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो सेयर अपडेट गराउन आग्रह गरेको हो । इन्स्योरेन्सले भोलि (असोज ११ गते)देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । त्यसैले, हालसम्म उक्त खाता नविकरण नगरेका ग्राहकहरुले अनलाइबाटै उक्त खाता अपडेट वा नविकरण गराउन सक्नेछन् । साथै, डिम्याट खातावालाहरुले आफुले बुझाउन बाँकी रहेको रकमको विवरण क्यापिटलको वेवसाइटको डिम्याट अकाउन्ट (बीओआईडी) रिन्यु स्ट्याटस्मा क्लिक गरी आफ्नो डिम्याट खाता इन्ट्री गरेर हेर्न मिल्ने व्यवस्था रहेको संस्थाले जानकारी गराएको छ । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गुर्नपर्ने भएमा कम्पनीको इमेल आईडी [email protected] मा सेयर निष्काशन बन्द हुनुभन्दा कम्तिमा एक दिन अघि नै रिक्वेष्ट पठाउन कम्पनीले आग्रह गरेकाे छ ।