बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ तान्ने भएको हो । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त छ । बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिइरहेका छन् । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । यो १६० दिने निक्षेप संकलन उपकरणको आउँदो असोज २१ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका फरक–फरक स्थानमा कार्यक्रम सञ्चालन गर्दै कुल १ हजार ७०० वटा बिरुवा रोपेको जनाएको छ । उक्त कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत स्थापना गरिएको 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्गत सातै प्रदेशमा समान रूपमा वृक्षारोपण गरिएको छ, जहाँ प्रत्येक प्रदेशमा २५० वटा बिरुवा रोपिएको बैंकले जनाएको छ । यस पहलमार्फत वातावरणीय सन्तुलन कायम राख्ने, स्थानीय समुदायमा हरियाली विस्तार गर्ने, स्वच्छ वातावरण संरक्षण गर्ने तथा जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। रोपिएका बिरुवाहरूले दीर्घकालमा स्वच्छ हावा आपूर्ति, पारिस्थितिक सन्तुलन संरक्षण तथा दिगो जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ । ज्योति विकास बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी देशव्यापी वृक्षारोपण गर्ने घोषणा गरेको थियो । सोही सहकार्य सम्झौताअनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वृक्षारोपण सम्पन्न गरिएको हो । बैंकले आगामी दिनमा पनि यस्ता प्रभावमुखी सामाजिक पहलहरूलाई निरन्तरता दिँदै समाजको समग्र विकास र अभ्युदयमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । संस्थागत सुशासनलाई आत्मसात् गर्दै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गरिरहेको बैंकले नवीन सोचसहित दिगो परिवर्तनको संवाहक बन्ने लक्ष्य लिएको छ । साथै, बैंकले आफ्नो खुद मुनाफाबाट अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका कार्यमा विनियोजन गर्दै आएको जनाएको छ । 'स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो' भन्ने मान्यताअनुसार बैंकले नवजात शिशुको जीवन रक्षा सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । ‘न्यानो नानी’ कार्यक्रममार्फत हरेक वर्ष २,५९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा गर्न योगदान पुगेको बैंकको दाबी छ ।
ज्ञान र मनोरञ्जन सँगै प्रभु महालक्ष्मी लाइफको तीनदिने कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम तथा मनोरञ्जनात्मक कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न भएको छ । वैशाख ६, ७ र ८ गतेसम्म तीन दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा विविध तालिम र मनोरञ्जनात्मक गतिविधि समावेश गरिएको थियो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले व्यवसायिक जीवनमा सफल अभिकर्ताहरूलाई अझ प्रखर बनाउन यस्ता क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले ज्ञान र मनोरञ्जनलाई सँगसँगै अघि बढाउँदै आएको कम्पनीको अभ्यासले अभिकर्ताहरूलाई ऊर्जा प्रदान गर्ने बताए । कार्यक्रममा कम्पनीसँग आबद्ध १५० भन्दा बढी अभिकर्ता लिडरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाद्वारा बीमा बिक्री कला तथा व्यवसायिक क्षमता अभिवृद्धिसम्बन्धी विशेष सत्र सञ्चालन गरिएको थियो । व्यवहारिक बिक्री कलासम्बन्धी उक्त सत्रले सहभागीहरूमा थप उत्साह र ऊर्जा थपेको बताइएको छ । कार्यक्रमको अर्को आकर्षणका रूपमा कलाकारहरू चक्र दवाडी, सुबोध गौतम र सीता न्यौपानेको प्रस्तुति रहेको थियो । उनीहरूले सहभागी अभिकर्ता लिडरहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कम्पनीले अभिकर्ताहरूको दक्षता अभिवृद्धि गर्न निरन्तर रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।