१८७ कम्पनीको सेयर मूल्य बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ अंकले बढेर २६१९ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२५ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै लुम्बिनी विकास बैंकको १० करोड, हिमालयन रिइन्स्योरेन्सको ९ करोड ५७ लाख, सीइडीबी होल्डिङको ९ करोड र राधी विद्युत कम्पनीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्तको १० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत र एसवाई प्यानलको ९.९८ प्रतिशले सेयर मूल्य बढेका छन् । मंगलबारको कारोबरमा व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार ०.०१ प्रतिशतले घटेको छ । बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०. ८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।

आइसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाइसौं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ । साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ । साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री 'एसएआरएसोसिएट्स' चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ । फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

ईसेवाको ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

काठमाडौं । ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विदेशबाट रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्पर पुरस्कारको रूपमा एक भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछ । विजेताको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले योजना सम्बन्धमा जानकारी दिँदै भने, 'अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं । रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू यसमा सहभागी भई आकर्षक नगद पुरस्कार जित्न सक्नेछन् । साथै, सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।' यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ईसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताका लागि लागू हुने कम्पनीले जनाएको छ ।