युवा महिला उद्यमी सशक्तिकरणका लागि सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यसहित नेपाल सोशल बिजनेससँग सहकार्य गरेको छ । नेपाल सोशल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने उल्लेख गरे । त्यसैगरी नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गर्दै समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्याउँदै आएको जानकारी उनले दिए । यस्ता प्रभावमूलक उद्यमहरूको सशक्तिकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सिद्धार्थ बैंकले लिएको छ । प्रभावमुखी उद्यमीहरूको प्रवर्द्धन गर्दै उनीहरूलाई विस्तार र सुदृढीकरण गर्न निरन्तर क्रियाशील रहँदै आएको नेपाल सोशल बिजनेसको पहल तथा उद्देश्यप्रति समर्थन जनाउँदै सिद्धार्थ बैंकले उद्देश्य–केन्द्रित उद्यमहरूको सशक्तिकरणमार्फत समग्र देशको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।
रिलायन्स स्पीनिङको बुक बिल्डिङ छानबिन गर्न समिति गठन
काठमाडौं । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको सेयर बुक बिल्डिङ प्रक्रिया मार्फत निष्काशनसँग सम्बन्धित काम–कारबाहीको निष्पक्ष छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबन)ले समिति गठन गरेको छ । बोर्डको शुक्रबारको निर्णयअनुसार गठन गरिएको समितिलाई १५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । समितिको संयोजकत्व बोर्ड सदस्य विनोदकुमार भट्टराईले गर्नेछन् भने सदस्यमा बोर्ड सदस्यहरू आनन्दरराज शर्मा वाग्ले र पिताम्बर भण्डारी रहेका छन् । समितिले आवश्यकताअनुसार अन्य व्यक्ति वा विज्ञलाई समेत आमन्त्रित गर्न सक्ने सेबनले जनाएको छ ।
१२ प्रतिशत लाभांश बाँड्ने निर्धन उत्थान लघुवित्तको घोषणा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कुल १२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार असार मसान्तसम्म कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।