कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा योजना
काठमाडौं । कुमारी बैंकले दिगो विकास लक्ष्य हासिल गर्न र सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्न ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरूलाई विद्युतिय बस र माइक्रोबस खरिदका लागि बैंकबाट आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने डाउन पेमेंटमा परियोजनाबाट निर्धारित अनुदान समेत प्रदान गरिनेछ । बैंकले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थासँगको साझेदारीमा सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनालाई योजना अन्तर्गत समावेश गरेको छ । यसका अतिरिक्त, हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गर्ने व्यक्तिहरूले पनि आफ्ना सवारी साधन विद्युतीय सवारी साधनमा परिवर्तन गर्दा थप अनुदान पाउनेछन् । कुमारी बैंकका दिगो बैंकिङ विकास विभागका प्रमुख अर्पण पौडेलका अनुसार यस योजनाबाट ऋणीको सुरुमा आवश्यक पूँजी व्यवस्थापन सहज हुने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतीय सवारी साधन प्रयोग बढाएर प्रदूषण कम गर्ने बहुआयामिक लाभ पनि हासिल हुनेछ । विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ इकाई र ३१७ एटिएममार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवाहरू उपलब्ध गराउँदै आएको छ र आगामी दिनमा पनि सरल, सुलभ र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई-पोलिसी लोन सेवा सुरु
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइतबार स्थापनाको आठ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको हो । वार्षिकोत्सवको अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन सकिने ‘ई–पोलिसी लोन’ सेवा सुरु गरेको छ । उक्त सेवाको कम्पनीका सञ्चालकहरू विरेन्द्र जङ्ग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईंले ‘ई–पोलिसी लोन’लाई डिजिटल रूपान्तरणको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्दै आधुनिक प्रविधि अपनाएर बीमा क्षेत्रलाई अगाडि बढाउने लक्ष्य रहेको बताए । उनले जुनसुकै स्थानबाट सहज रूपमा सेवा लिन सकून् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको स्पष्ट पारे । ‘ई–पोलिसी लोन’ सेवा लिन बीमालेख कम्तीमा तीन वर्ष पूरा भई तीन वर्षको बीमाशुल्क भुक्तानी गरिएको तथा बीमालेख चालु अवस्थामा रहेको हुनुपर्नेछ । साथै, केवाईसी तथा बैंक खाता अद्यावधिक भएको हुनुपर्ने कम्पनीले जनाएको छ । यो सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा मोबाइल एप दुवैमार्फत उपलब्ध छ । कम्पनीले ‘ई–पोलिसी लोन’सँगै एआई च्याटबट, डायनामिक क्यूआर तथा लग–इन पोर्टल पनि सञ्चालनमा ल्याएको जनाएको छ । वार्षिकोत्सवकै अवसरमा प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालन गरिएको शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुलीको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले मुटुको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा सहभागीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको कम्पनीले जनाएको छ । यसैबीच, प्रभु महालक्ष्मी लाइफले देशभर रहेका आफ्ना ११५ शाखा तथा उपशाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम आयोजना गरी नवौँ वार्षिकोत्सव मनाएको छ ।
युनाइटेड इदी मार्दीको लाभांश घोषणा
काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । मङ्सिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्नेछ । घोषित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।