इलाममा सन नेपाल लाइफको दोस्रो चरण वृक्षारोपण, हजार फलफूलका बिरुवा रोपियो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले देशव्यापी वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै इलाम नगरपालिका क्षेत्रमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत ५०० आरू र ५०० नासपातीसहित कुल १ हजार फलफूलका बिरुवा रोपेर इलाममा हरियाली अभियान औपचारिक रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा विभिन्न शाखाका प्रमुखहरू सहभागी थिए । यस्तै, लुम्बिनी वर्ल्ड पीस फोरमका वृक्षारोपण अभियन्ता बासु गौतम, इलाम नगरपालिकाका मेयर केदार थापा, साथै विभिन्न वडाका जनप्रतिनिधि नुतन देव दुलाल (वडा ४ अध्यक्ष), दुर्गामदन श्रेष्ठ (वडा ६ सदस्य), दलमान तामाङ (वडा ६ अध्यक्ष), ओमनाथ प्रधान (वडा १० अध्यक्ष), पारस मणि काफ्ले (वडा ४ सदस्य) र कृषि प्राविधिक उपेन्द्र नेपालको पनि उपस्थिति थियो । कम्पनीले सामुदायिक दिगोपन, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको प्रमुख आधार मानेर देशभर वृक्षारोपण अभियान विस्तार गर्दै आएको छ । हाल, सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सेवाहरू प्रदान गरिरहेको छ ।
लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर २०२५ अभियान सुरु
काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित वार्षिक अभियानको सातौँ संस्करण ‘डिजिटल डिसेम्बर २०२५’ सुरु गरेको छ । 'उद्यम सशक्तीकरण' भन्ने नाराका साथ प्रारम्भ गरिएको यस वर्षको अभियान उद्यम तथा व्यवसाय क्षेत्रलाई डिजिटल माध्यमतर्फ रूपान्तरण गर्न केन्द्रित रहने बैंकले जानकारी दिएको छ । डिसेम्बर महिनाभर सञ्चालन हुने यस अभियानले बैंकका डिजिटल सेवा–सुविधालाई देशभरका व्यवसायिक कारोबारका लागि प्रमुख माध्यमका रूपमा विस्तार गर्ने लक्ष्य लिएको छ । विगतका वर्षहरूमा उपभोक्ता–केन्द्रित अभियान सञ्चालन गर्दै आएको बैंकले यसपटक भने उद्यम–केन्द्रित डिजिटल परिवर्तनलाई प्राथमिकतामा राखेको छ । अभियानले देशभरका घरेलु, साना–मझौला उद्यम, कर्पोरेट संघ–संस्था, खुद्रा तथा थोक कारोबार, सूचना–प्रविधि, वित्त, स्वास्थ्य, शिक्षा, आतिथ्यलगायत क्षेत्रमा रहेका सबै प्रकारका उद्यमलाई समेट्नेछ । उद्यमीलाई डिजिटल माध्यम प्रयोगमा थप सक्रिय बनाउँदै हाल नगद तथा चेकमार्फत हुने ठूलो परिमाणको कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने लक्ष्य अभियानले राखेको छ । साथै, ग्राहकका आन्तरिक प्रणालीबाटै भुक्तानी गर्ने सुविधा प्रदान गर्ने ‘सम्पर्क–सम्बन्ध संयोजन’ र ‘होस्ट–टु–होस्ट’ जडान सेवा प्रवर्द्धन पनि अभियानका प्रमुख उद्देश्यमा पर्छन् । अभियानअन्तर्गत बैंकले व्यवसायहरूको डिजिटल कारोबारलाई सहज बनाउने उद्देश्यले विभिन्न सेवा तथा समाधानलाई प्रवर्द्धन गरिरहेको छ । यसमा इ–बजार तथा अनलाइन कारोबार गर्ने संस्थाहरूलाई भिसा र मास्टरकार्डमार्फत अनलाइन भुक्तानी सुविधा प्रदान गर्ने व्यवस्था प्रमुख रूपमा समावेश छ । त्यस्तै, कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीका लागि ‘अन–कार्ड’ भनिने भर्चुअल क्रेडिट कार्ड तथा भिसा क्रेडिट कार्ड उपलब्ध गराइनेछ । व्यवस्थित कर्पोरेट कारोबारका लागि ‘कर्पोरेट–पे’ तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) मार्फत एकीकृत भुक्तानी सेवा प्रदान गरिनु यस अभियानको अर्को महत्वपूर्ण पहल हो । साथै, वास्तविक समयमा भुक्तानी प्राप्त भएको जानकारी ग्राहकलाई तुरुन्तै उपलब्ध गराउने ‘लक्ष्मी वाणी’ सेवा पनि अभियानअन्तर्गत प्रोत्साहित गरिने बैंकले जनाएको छ । बैंकका अनुसार डिसेम्बर महिनाभर अभियानमा सहभागी उद्यम तथा व्यवसायीहरूले विशेष भर्ना–सुविधा, छुट तथा प्राथमिक सेवा–सुविधा प्राप्त गर्ने अवसर पाउनेछन् । बैंकका डिजिटल च्यानल तथा रेमिट्यान्स विभागका प्रमुख सुमन प्रसाद गेलालका अनुसार ‘डिजिटल डिसेम्बर–२०२५’ अभियानले नेपालमा उद्यम भुक्तानी प्रणालीमा भइरहेको नवप्रवर्तनलाई थप मजबुत बनाउनेछ । गेलालले भने, 'डिजिटल पूर्वाधारलाई प्रभावकारी बनाउँदै व्यवसायलाई सशक्त र सक्षम बनाउने यस अभियानले सुरक्षित, पारदर्शी र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा टेवा पुर्याउनेछ ।'
एनआईसी एशिया बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सञ्चालनका लागि समझदारी
काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय भुक्तानी प्रणाली (एनसीएचएल) बीच नेपालपे कार्डको सेवा विस्तार तथा प्रवर्द्धनका लागि समझदारी भएको छ । सम्झौतापछि एनआईसी एशिया बैंकले नेपालपे कार्ड सेवालाई अझ प्रभावकारी रूपमा ग्राहकसम्म पुर्याउने भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकले एनसीएचएलद्वारा सञ्चालित राष्ट्रिय कार्ड स्विच (एनपीएस–एनसीएस) मार्फत घरेलु कार्ड योजनाअन्तर्गत नेपालपे कार्डको निरन्तर सेवा प्रदान गर्नेछ । यसले देशभरका एटीएम, पोस, मोबाइल तथा अन्य भुक्तानी प्रणालीमार्फत डिजिटल कारोबारलाई सहज बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ । नेपालपे कार्डमार्फत कार्डधारकले देशभित्रका विभिन्न सेवा प्रदायक, व्यापारी, एटीएम तथा पोस नेटवर्कबाट सरल र सुरक्षित डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल भुक्तानी प्रणालीलाई एकीकृत र प्रभावकारी बनाउँदै राष्ट्रव्यापी नगदविहीन कारोबार प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । समझदारीपछि दुवै संस्थाले राष्ट्रिय भुक्तानी स्विचको दायरा विस्तार गर्दै ग्राहकमैत्री र सुरक्षित भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।