स्वरोजगार लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमा १४.२५ प्रतिशत अर्थात् ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशत अर्थात् ९५८ लाख ७९ हजार ४३३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) समावेश छ । संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ।

२१.०५ प्रतिशत लाभांश बाँड्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

मुक्तिनाथ क्यापिटलको लगानी व्यवस्थापनमा नयाँ योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लगानी व्यवस्थापनअन्तर्गत नयाँ योजना ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ।  उक्त योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत लगानीकर्ताले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बीमाको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या जस्ता अनिश्चित घटनाबाट उत्पन्न हुन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्नु यस योजनाको मुख्य उद्देश्य रहेको छ । 'आजको लगानी, भोलिको सुरक्षा' भन्ने नारासहित मुक्तिनाथ क्यापिटलले लगानीकर्ताको हितलाई प्राथमिकतामा राख्दै उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीका अनुसार यो योजनाले एकातर्फ लगानीबाट लाभ आर्जन गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमबाट हुने आर्थिक क्षतिबाट समेत सुरक्षा प्रदान गर्नेछ ।