चन्द्रागिरी हिल्सको आईपीओ खुल्याे, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (मंसिर १७ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

चिलिमे हाइड्रोको लाभांश घोषणा, बोनस र नगद बराबर

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले उक्त आवको नाफाबाट चुक्ता पुँजी १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी अर्थात २४औं वार्षिक साधारणसभा पुस १२ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीले मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि ६ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको भन्दा कम हो । कम्पनीले आघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सानिमा माइ हाइड्रोले बोलायो वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले आगामी पुस २३ गते नवौं वार्षिक साधारणसभा डाकेको छ । मंसिर १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनको लागि सभाको मिति तय गरेको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर सहित) गरी १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यससँगै पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । कम्पनीले आघिल्लो आर्थिक वर्ष २०७५/७६को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।