नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत आज ०.७१ बिन्दुले घटेर २७२.५३ मा झरेको छ । कूल १६८ कम्पनीको २० लाख ६० हजार ६७८ कित्ता शेयर रु ५९ करोड पाँच लाख ८८ हजार २३९ मा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । निर्जीवन बीमा ३.५५, लघुवित्त १५.६३ र जीवन बीमा २०.८७ बिन्दुले उकालो लाग्दा वित्त क्षेत्रको कारोबार भने वृद्धि भएको देखिए पनि विवरण सार्वजनिक गरिएको छैन । यस्तै बैंकिङ ३.६८, होटल १२.३९, विकास बैंक १.०७, जलविद्युत् ०.८३, उत्पादन २.४७, अन्य २.९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । व्यापार उपसमूहको शेयर कारोवार वृद्धि भए भए पनि विवरण उल्लेख छैन । कारोवारका आधारमा नेको इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ४५ लाख ५७ हजार १४ मूल्यमा शेयर खरीद बिक्री भए । यस्तै गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ५२ लाख २८ हजार ६६७, मुक्तिनाथ विकास बैंकको रु एक करोड ७९ लाख ६६ हजार ३५६, नेपाल लाइफ इन्सयोरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ७२ लाख २५ हजार, नेपाल बैंक लिमिटेडको रु एक करोड ७० लाख ८२ हजार २५५, र प्रभु बैंकको रु एक करोड ६८ लाख दुई हजार ५४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेका छन् । स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था ९।९६, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.९२, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.९१, नेपाल एग्रो लघवित्त वित्तीय संस्था ९.८९, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाए । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनी ४.४४, पोखरा फाइनान्स ३.५२, आइएमई जनरल इन्स्योरेन्स ३.५१, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.४५, गुह्येश्वरी मर्चेन्ट बैंक एउण्ड फाइनान्स कम्पनी ३.१० र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका शेयरधनीले २.८० प्रतिशतले गुमाए ।
लुः निभा बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । सहकारी ऐन, २०७४ अनुसार काठमाडौँ डिभिजन सहकारी कार्यालयमा सो सहकारी दर्ता भएको छ । मन्त्रालयले सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐन, २०७४ को दफा १०५ को उपदफा (१) अनुसार गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई तोकेको जानकारी मन्त्रालयका सह–सचिव एवं प्रवक्ता जनकाराज जोशीले दिए । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । पछिल्लो तथ्याङ्कअनुसार नेपालका सहकारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगार र ६३ हजार ब्यक्ति सहकारीमा आबद्ध छन् । रासस
लक्ष्मी भ्यालु फण्ड-१ का इकाईधनीले १५ प्रतिशत नगद लाभांश पाउने
काठमाडौँ । लक्ष्मी भ्यालु फण्ड–१ ले आव २०७५/०७६ को लागि योजनाको इकाईधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबद्र्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड सञ्चालक समितिको बुधबार बसेको बैठकले लक्ष्मी क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तरगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड–१ ले नगद लाभांश दिने निर्णय गरेको कम्पनी सचिव सन्दीप प्रधानले जनाएका छन् ।