बजेटदेखि बजेटसम्मः शेयर बजार ‘हाफ सेञ्चुरी’ कम

काठमाडौँ । सातै प्रदेश सरकारले आज नयाँ आर्थिक वर्षको लागि बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनपछि प्रदेशहरुले केन्द्रले दिएको अनुदानलाई समेत जोडेर नयाँ आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन् । संघीय र प्रदेश सरकारको बजेट सार्वजनिक हुने दिनको बीचमा खुलेको शेयर बजार करिब ‘हाफ सेञ्चुरी’ले घटेको छ । आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव पर्न नसक्दा बजारमा निराशा देखिएको हो । यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुला रह्यो । बजेटले केही नीतिगत व्यवस्था गरेपनि बजार भने निरन्तर ओरालो लागेको छ । गतसाता पनि बजारको मापक सूचक ओरालो लागेरै बन्द भएको छ । केही कम्पनीको शेयर भने निरन्तर वृद्धि भइरहेको छ । गत बिहीबार अर्थात् यही जेठ २३ गते एक हजार २८४.५९ अङ्कमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । अघिल्लो बिहिबारदेखि गतसाताको बिहिबारसम्म बजार १५.०४ बिन्दुले घटेको छ । आइतबार काठमाडौँ उपत्यकमा सार्वजनिक बिदा परेका कारण शेयर बजार बन्द रह्यो । सोमबार खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक ८.७८ अंकले घट्यो । उक्त दिन विकास बैंक, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष उपसमूहमा सामान्य सुधार आएपनि बाँकी सूचक ओरालो लागेका थिए । कूल १७३ वटा कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । यस्तै मंगलबार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामियो । सो दिन कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । बुधबार पुन कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुग्यो । कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर रु ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्रै शेयर बढ्यो । बिहिबार पनि बजारले ओरालोको यात्रा तय गर्यो । उक्त दिन नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरी बजार बन्द भयो । कूल १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर रु ४५ करोड ६५ लाख छ हजार ९४५ मूल्यमा खरीद बिक्री भए । गतसाता स्वाभिमान लघुवित्त वित्तीय संस्थाको छ लाख १८ हजार ६१० कित्ता साधारण शेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ५२ हजार ६४० कित्ता शेयर लाभांश र यूनियन हाइड्रो पावरको कूल ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएका छन् ।

ग्रामीण विकास लघुवित्तको हकप्रद आज बन्द हुँदै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आज बन्द हुँदैछ । चैत २८ गते कायम रहेका शेयरधनीका लागि खुलाइएको १ः०.५ अनुपातका ३२ लाख ७५ हजार कित्ता हकप्रदका लागि आज अन्तिम दिन रहेको उक्त लघुवित्तले जनाएको छ । आजसम्म पनि आवेदन नगर्ने हकप्रद लिलाम बढाबढमार्फत् बिक्री हुनेछ ।

गुराँस लाइफको सवा ३ लाख कित्ता सेयर लिलामीमा, न्युनतम मूल्य १०० रूपैयाँ

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५ सय ७६ कित्ता बिक्रीमा राखिएकाे छ । त्यसमा संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ न्युनतम  मूल्य राखि बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे । उक्त सेयर लिनकाे लागि असार ५ गतेदेखि १२ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ र लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालयहरुमा बोलपत्र आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म हकप्रद सेयर बिक्री खुला  गरेकाेमा माग नभएकाे सेयर बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे ।