कारोना रोकथामका लागि एनएमबि लघुवित्तले दियो १३ लाख ६२ हजार रुपैयाँ

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि १३ लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको सहयोग गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषमा २०७७ असार मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेको थियो । सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त रकम जम्मा गरिएको संस्थाले जनाएको छ । कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने लघुवित्तको विश्वास रहेको छ ।

प्रभु बैंकको ऋणपत्र बाँडफाँडः ४१७ जनाको आवेदन रद्द, बाँकीले मागे जति सबै पाए (सूचीसहित)

काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) बाँडफाँड भएको छ । उक्त ऋणपत्र आज (साउन २९ गते) निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्सालमा भएको हो । जसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेजति बैंकको डिबेन्चर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १ सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । उक्त ऋणपत्रमा निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३ सय ८ जना आवेदकहरुबाट कूल ७ लाख ३० हजार ३ सय ६५ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ४ सय १७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २ सय ३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । त्यसैले बाँकी रहेको रितपूर्वक आवेदन दिने १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । बैंकले गत साउन १९ गतेदेखि गत साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को एक हजार रुपैयाँ अङ्कित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । जसमा बैंकले माग गरेको भन्दा ३.०७ गुणा बढीले आवेदन परेको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड रुपैयाँ ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो । त्यसमा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८ सय ६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरेको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गले जनाएको छ । सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो । क-कसले पाए ? [pdf id=232263]

अब सिटी एक्सप्रेसको भुक्तानी एनआईसी एशिया लघुवित्तको जुनसुकै शाखाबाट हुने

काठमाडौं । अब सिटी एक्सप्रेस मनि ट्रान्सफरको भुक्तानी एनआईसी एशिया लघुवित्तका शाखाहरुबाट पनि हुने भएको छ । सो सम्बन्धी सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनआईसी एशिया लघुवित्तबीच सम्झौता भएको छ । सम्झौता अनुसार लघुवित्तको सबै शाखाहरु मार्फत सिटी एक्सप्रेसका आन्तरिक तथा अन्तराष्ट्रिय कारोबारको भुक्तानी हुनेछ । हाल एनआईसी एशिया लघुवित्तको १०५ वटा शाखाहरु रहेका छन् । उक्त सम्झौतामा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र एनआईसी एशिया लघुवित्तका प्रमुख कार्यकारी अधिकृत(सीईओ) लक्ष्मी प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया,अष्ट्रलिया, आदि थुप्रै देशहरु मार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।